वरिष्ठ गायक प्रकाश श्रेष्ठलाई गोपाल योञ्जन स्मृति सम्मान पुरस्कार

काठमाडौँ- यस वर्षको गोपाल योञ्जन स्मृति सम्मान पुरस्कार वरिष्ठ गायक प्रकाश श्रेष्ठलाई प्रदान गरिएको छ । संगीतकार, गीतकार तथा गायक गोपाल योञ्जनको ७६ औँ जन्मजयन्तीको अवसर पारेर बिहीबार गायक श्रेष्ठलाई उक्त पुरस्कार प्रदान गरिएको हो ।

शुभारम्भ द म्युजिकल जर्नीले गएको वर्षदेखि गोपाल योञ्जनको नाममा स्थापना गरेको पुरस्कार यसपटक नेपाली संगीतमा दिएको योगदानका लागि श्रेष्ठलाई प्रदान गरिएको जानकारी कार्यक्रमको अध्यक्षता गरेका गीतकार सुवासचन्द्र ढुंगेलले दिए । ललितपुरमा आयोजिक विशेष सांगीतिक श्रद्धाञ्जली कार्यक्रममा प्रमुख अतिथि संस्कृतिकर्मी चेतन कार्की तथा विशेष अतिथि वरिष्ठ गीतकार नगेन्द्र थापाले नगद तथा सम्मान ताम्रपत्र सहितले गायक श्रेष्ठलाई सम्मान गरेका हुन् ।

सम्मानित श्रस्टाले गोपाल योञ्जनको नाममा स्थापना भएको पुरस्कार पाउनु आफ्नो संगीत कर्मका लागि ठूलो हौसला भएको बताए ।

गत वर्ष गायक एबं संगीतकार दुर्गा खरेलले यो सम्मान पाएका थिए ।

कार्यक्रममा गोपाल योञ्जनको सांगीतक योगदानको चर्चा गर्दै गीतकार नगेन्द्र थापाले उनीमा संगीत, गायन र गीत लेखनलाई पारख मिलाएर प्रस्तुत गर्ने शिल्प रहेको र यसले गर्दा उनी सदैव सजीव रहेको बताए ।

संस्कृतिकर्मी चेतन कार्कीले गोपाल योञ्जनमा संगीतको जस्तो ज्ञान र शिल्प थियो, त्यस्तै ज्ञान र शिल्प जीवन दर्शनको पनि रहेको बताए । कार्कीले कला, गला र कलमको संयोजन बिरलै ब्यक्तिमा पाइने र त्यस्तो ब्यक्तिमा गोपाल योञ्जन पर्ने बताए ।

गायक शैलेश सिंहले गोपाल योञ्जनका गीतहरुमा जीवन्त भएर आत्म बस्ने गरेकाले यस्ता गीत सुन्दा र गाउन पाउनु सौभाग्यशाली लाग्ने बताए । कार्यक्रममा गायक सिंह बदलिँदो आकाश सहितका गीत गाए । यस्तै प्राश्ना शाक्य, अधिश्री कशपाल, देवेन्द्रमान सिंह, आयुष्मान विष्टसहितका कलाकारले गोपाल योञ्जनका गीत प्रस्तुत गरेका थिए ।

सम्मानित श्रस्टा वरिष्ठ गायक प्रकाश श्रेष्ठ नेपाली टोपीमा

यस्तै सारंगीवादक मीनु वाइवाले सारंगी बजाएर कार्यक्रममा गायनको यात्रा शुरुवाती गरेका थिए ।

गोपाल योञ्जनको जन्म विसं २००० को जनैपूर्णिमा (भदौ १०) का दिन भएको थियो । उनको स्मृति दिवस हरेक वर्ष जनै पूर्णिमाका दिन मनाउने गरिएको छ ।

कार्यक्रममा थुप्रै वरिष्ठ कलाकारहरुको साथमा लुम्बिनी-कपिलवस्तु विस्व अभियानअका विस्व संयोजक रामकुमार श्रेष्ठको पनि उपस्थिति थियो ।

कार्यक्रममा उद्घोषण गरेका साहित्यकार प्रकाश सायमीले गोपाल योञ्जनलाई राष्ट्रले सम्मान गर्न कुनै चासो नदिएकाले आफूहरुले उनको स्मृतिमा सम्झनाको क्रम जारी राखेको बताए ।

प्रमुख अतिथि चेतन कार्की