जसको रोदन सँगै कसको आशु थामिएला र ? बुवाले कान्छी ल्याएपछि १५ बर्षदेखि अध्याँरो कोठामा एक युवती। (भिडियो सहित)

बुटवल । घरभित्र एकातिर मासु पाकिरहेको छ, अर्कोतिर मासु पोलेर खाइँदैछ । चपाउन नसकेका हाडहरु संगैरहेको कुकुरलाई खुवाइँदै छ । तर, ढोका बाहिर बाख्राको खोर जस्तो देखिने कोठामा राखिएकी छोरीलाई भने भित्र पस्न मनाही छ । प्रत्यक्ष देखिने यो दृश्य हो –बाग्लुङ्गको ढोरपाटन नगरपालिका–८, साविक बोबाङ्ग गाविस नौघरटोलको । तिङ्कु साइला भनेर चिनिने रण विकले आफ्नी २६ वर्षीया छोरी झाँक्री विकलाई गर्ने व्यवहार हो यो । दुई छोरी जन्म दिएपछि झाँक्रीकी आमा उनी ५ वर्षकी र वहिनी ३ वर्षकी छँदै मृत्यु भयो । उनी र उनकी बहिनी सानै छँदा बाबुले अर्की श्रीमती विवाह गरी भारततिर हिँडे । दुवै छोरी बेलामा खान नपाएर कुपोषणको शिकार भए ।

कान्छी त जसोतसो गाउँवासीले हुर्काएर विवाह गरेर घर गर्ने भईन् । तर, झाँक्रीका भने हातखुट्टा सुक्दै गएर उनी अपाङ्ग बनिन् । झाँक्री १४ वर्षदेखि सडकको वास हुँदै अहिले स्थानीयको सहयोगमा उनै बाबुको घरबाहिर सानो कोठा बारेर बसेकी छन् । ‘सडक मै बस्ने गर्थिन्,’ स्थानीय युवा तथा नयाँपुस्ता नेपाल नामक संस्थाका अध्यक्ष कुशल विश्वकर्माले भने, ‘अरु भन्दा पनि जाडो मौसम र वर्षायामको पानीले रुझ्दा साह्रै दया जाग्यो र मैले नै उनको घरबाहिर सानो कोठा बारेर राखिदिएको हुँ ।’ विकका अनुसार बाबु भारतबाट फर्केको पनि धेरै वर्ष भयो । वर्षको एक सिजन तल नौघर टोल र अर्को सिजन माथि ढोरपाटनको नबी गाउँमा झाँक्रीका बाबु र कान्छी आमा र उनका छोरा छोरी बस्ने गर्दछन् । तर घरमा बस्दा पनि छोरीलाई ढोकाबाट चिहाउनसम्म दिइँदैन । कुकुर बरु भित्र–बाहिर गर्न पाउँछ तर छोरी झाँक्रीलाई भने त्यो कोठाबाट बाहिर दिशापिशाव गर्न बाहेक बाहिर निस्कँदा परिवारले गाली गर्छन् ।

बन्धक नभएपनि उनले बन्धकमा परेको जीवनभन्दा कम कष्ट र दमनको जीवन बिताएकी छैनन् । दिसापिसाब गर्न जानुपर्दा पनि घर्सेर जानुपर्ने बाध्यता थियो उनलाई । ‘उनलाई एउटा ह्विलचियरसम्म जुटाइएको छ । तर अरु केहि गर्न सकिएको छैन,’ अध्यक्ष विकले भने । हामी त्यहाँ पुग्दा उनका बाबु, कान्छी आमा र छोराछोरी नबीगाउँमा ६ महिना बसोवासका लागि गएको पाइयो । झाँक्री त्यही बारेको कोठामा थिइन् । यता, घरको ढोकामा ताल्चा ठोकिएको थियो । ‘बाबु आमा भए पनि के, नभए पनि के । वास्तै गर्दैनन् मलाई । घरभित्र मासु पाक्छ बास्ना सुँघेर अघाउनुपर्छ । एक टुक्रा ला’ छोरी खा’ भनेर दिन्नन्,’ गहभरी आँशु पार्दै उनले भनिन्, ‘भित्र पस्न पाउनु त परै जाओस् ढोकाबाट भित्र हेर्न पनि दिन्नन् ।’ उनी भन्छिन्, ‘बहिनी सग्ली थिई, बिहे गरेर गई । म यस्ती भएँ, कसले लगोस् र मलाई ।’ उनी बस्ने कोठा बढीमा तीन वटा बाख्रा मात्र अँट्ने खालको छ । त्यसैमा उनको चुलो, त्यसैमा राखन धरान र सुत्ने विस्तरा छ । सुत्ने क्रममा खुट्टा पसार्ने हो भने चुलोमा खुट्टा पुग्छ । त्यसैले उनी अगेनाको आगो निभएर सुत्ने गर्छिन् । दाउरा र बाँसीले बारेको त्यस कोठामा तिनतिरै प्यालैप्वाल छ ।

ढोरपाटनको काख उच्च पाहडीभुमी वोवाङ्गमा चिसो मौसममा उनी कहिलेकाहीँ कठ्याङ्ग्रीएर चिच्याउने गरेको स्थानियले बताए । ‘गुहार माग्न बेस्सरी रोएर चिच्चाउने गर्छिन्, सहयोग गर्न हामी पुग्छौँ,’ कुशलकी आमाले भनिन्, ‘यस्तो हालत देख्दा दया त जाग्छ, तर सधै गर्न नसकिने ।’ झाँक्रीको आवस्था बारेमा ढोरपाटनका मेयर देवकुमार नेपालीको ध्यानकृष्ट गराइयो । उनले भने– ‘उनको बारेमा मलाई कसैले पनि अवगत गराएको थिएन ।’ नेपालीले अब नगरपालिका र व्यक्तिगत तर्फबाट सक्दो सहयोग गर्ने आश्वासन दिए ।