चौथो ‘लैबरी सिङगिङ स्टार’ को अडिसन सुरु भयो

‘नेपाल आइडल’ को सुरुवात भएसँगै नेपालमा गायन रियालिटी शो च्याउझैँ उम्रिएका छन् । तर, एकाधबाहेक कसैले लोकप्रियता हासिल गर्न सकेका छैनन् । ‘नेपाल आइडल’ पछि दर्शकमा राम्रो क्रेज बनाउन सफल रियालिटी शोमा पर्दछ- ‘द भ्वाइस’ । यो भीडमा आफूलाई अलग रुपमा स्थापित गरेको एक अर्को गायन रियालिटी शो हो- ‘लैबरी सिङगिङ स्टार’ ।

यसको तीन सिजनले राम्रै लोकप्रियता हासिल गर्‍यो । ‘लैबरी सिङगिङ स्टार’ को स्टेज सजावटले धेरैलाई आकर्षित गरेको थियो । चाँडै एनटिभी प्लसबाट यसको चौथो सिजन प्रशारण हुँदैछ । अहिले अडिसन चलिरहेको छ । विद्यार्थी लक्षित यस गायन प्रतियोगिताको पहिलो अडिसन जेष्ठ १८ गते काठमाडौंमा भएको छ । भने, नुवाकोट र धादिङमा पनि अडिसन सम्पन्न भइसकेको छ ।

चितवनमा असार २८ र सोलुखुम्बुमा असार १४ गते अडिसन हुने मिति तय भएको आयोजक टिमबाट जानकारी प्राप्त छ । सनसाइन प्रोडक्शन हाउसको आयोजनामा हुन लागेको यस प्रतियोगिताका लागि विभिन्न दश शहरमा अडिसन हुनेछ । बाँकी शहरमा अडिसन हुने मिति केही दिनमा सार्वजनिक गरिने प्रोडक्शन हाउसकी अध्यक्ष प्रमिला तामाङले जानकारी दिइन् ।

बालबालिकाको गायन प्रतिभामा निखार ल्याउन र आत्मविश्वास बिकासका लागि ‘लैबरी सिङगिङ स्टार’ को सुरुवात गरिएको प्रोडक्शन हाउसकी अध्यक्ष प्रमिला बताउँछिन् । बाल–बालिका केन्द्रीत रियालिटी शो खासै नहुने देखेर यस प्रतियोगिता सुरु गरेको गायिका समेत रहेकी तामाङको भनाई छ । अघिल्लो सिजनभन्दा चौथो सिजन अझ स्तरिय र उत्कृष्ट बनाउने उनको दाबी छ ।

‘लैबरी सिङगिङ स्टार’ सिजन ४ मा गायक नारायण लामा, लोकप्रिय गायक राज सिग्देल र गायिका प्रमिला तामाङ प्रमुख निर्णायकको रुपमा रहेका छन् । अघिल्लो सिजनमा गायक सिग्देल निर्णायकमा थिएनन् । उनले ‘लैबरी सिङगिङ स्टार’ को उद्येश्यबाट प्रभावित भएका कारण आबद्ध भएको बताए । यस प्रतियोगितामा विजेता हुनेले नगद २ लाख प्राप्त गर्नेछन् ।