भारतीय गाडी नाकामै जलाउँने चेतावनी

नेपालको मौलीक राज्य व्यवस्था नेपालतन्त्र र नेपालवादको माग राख्दै आएको हाम्रो पार्टी नेपालले आफ्नो आधिकारीक निति तथा कार्यक्रम र सरकार सँगको माग पत्र सार्वजनिक गरेको छ । करिब भुमिगत शैलिमा आफ्नो राजनितिक गतिविधी संचालन गर्दै आएको उक्त पार्टीले पत्रकार सम्मेलन गर्दै आफ्नो पार्टीको आधिकारीक धारणा सार्वजनिक गरेको हो ।

शनिवार राजधानीको संवाद चौतारीमा पत्रकार सम्मेलनको आयोजना गर्दै हाम्रो पार्टी नेपालले आफ्नो आधिकारीक निति तथा कार्यक्रम सार्वजनिक गरको हो । प्रत्यक्ष निर्वाचित राष्टपतिय निर्वाचन प्रणाली सहित हिन्दु राज्यको पक्षमा उक्त पार्टीले आफुलाई उभ्याएको छ । पश्चिमा देश प्रति गरम निति लिएको उक्त पार्टीले चिन र भारत दुवैको नेपाल माथि थिचोमिचो रहेकाले दुवै देशसँग आवश्यकता र समानताका आधारमा सम्बन्ध कायम गर्नुपर्ने निति लिएको छ । वैधानिक विद्रोहको कार्यदिशा लिएको उक्त पार्टीले देश हितका लागी आवश्यक परे हतियार उठाउँन पनि तयार रहेको स्पष्ट पारेको छ ।

पार्टी निति कार्यक्रम तथा सरकार सँगको माग पत्र सार्वजनिक गर्दै हाम्रो पार्टी नेपालका अध्यक्ष गोविन्द बोहोरा ब्रम्हाण्डले आफ्नो पार्टीको निति नेपालमा एनजिओ आइएइजीओ बन्द गराउँने रहेको बताए । उनले वैधानिक विद्रोहको कार्यदिशामा नेपालका देशभक्त सेनाप्रहरीले पनि साथ दिने र उनिहरु समेतको सहयोगमा अहिलको सत्ता ढाल्ने चेतावनी पनि दिए । नेपालमा पनि फिजीको मोडेलको क्रान्ति गर्ने उद्घोष गर्दै ब्रम्हाण्डले अब एनसेल र चौधरी गु्रप जस्ता कम्पनीमा मजदुरका लागी पचास प्रतिशत सेयरका लागी आफ्नो पार्टीले आन्दोलन अगाडी बढाउँने बताए । नेपाललाई विभिन्न देशको खुपीया एजेन्सीहरुको मैदान बनाउँन खोजिएको भन्दै उनले त्यसलाई हाम्रो पार्टी नेपालले परास्त गरेरै छोड्ने बताए । कार्यक्रममा ब्रम्हाण्डले विषादीयुक्त भारतीय गाडी चेकजाँच नगरी नेपाल भित्राउँने काम बन्द नगरे नाकामै भारतीय गाडी जलाउँने उद्घोष समेत गरे ।

यस अघि विभिन्न पार्टीले पहिला भन्ने एउटा र पछि पार्टीमा पुगेपछि गर्ने अर्कै गर्दै आएकाले उक्त पार्टीले आफ्नो निति तथा कार्यक्रम घोषणा कार्यक्रममै पत्रकारलाई साक्षी राखेर नेपाली जनतालाई पासो समेत दिएको छ । साँकेतिक रुपमा प्रदान गरिएको पासो को अर्थ उक्त पार्टीले निति कार्यक्रम भन्दा बाहिर गएर गतिविधि गरे र नेपाली जनतालाई धोका दिए जुनसुकै समय सार्वजनिक रुपमा मृत्युदण्ड दिन पनि नेपाली जनतालाई अपिल गरेको छ । उक्त कार्यक्रममा अध्यक्ष ब्रम्हाण्डले निति कार्यक्रम भन्दा बाहिर गएर जनतालाई धोका दिए आफुहरुलाई बाँच्ने अधिकार नभएको भन्दै जनताले फासीँ दिए पनि आफुहरुलाई स्विकार्य रहेको बताए ।