मानिस ठुलो दिलले हुन्छ जातले हुदैन

‘ठूलो र सानो यो भेदभाव ठालुले चलाए
गरिबको श्रम लुटेर खाने चलन चलाए
काम गर्ने सानो, काम ठग्ने ठूलो म भन्दै भन्दिनँ
जाती र पाती छुट्याउने रीतलाई म मान्दै मान्दिनँ।’

– माथिका शब्दहरूको माध्यमबाट नै शम्भु राई बोलिरहेका छन । उनले ब्यक्तिगत रूपमा आबेग, इस्या र प्रतिशोधले प्रकाश सपूतमाथी जाईलागे भन्नू किमार्थ साँचो हुन सक्दैन । सायद उनी लो प्रोफाईलमा बसेर संघर्ष गरेका सालिन सस्ट्रा हुन । उनी के कति कारणले आफ्नो लय/भाका कपि गरिएर अपमान महसुस गर्दै कानुनी बाटो लिए त्यो उनैले जान्ने कुरा भो । त्यस्तै प्रकाश सपूत पनि गरिबीले उत्पन्न गरेको कारुणिक पिडा र संघर्षको मैदानबाट उदाएका राम्रा सस्ट्रा हुन भलै प्रकाश सपूत केही बजारिया मसला मन पराउछँन।

शालिनताका धनी शम्भु राईले किन मन ठुलो बनाएर माफी दिएनन् र प्रकाश सपुतले पनि किन आफ्नो केही गल्ती (चाहे अन्जान होस वा संयोग) स्वीकार गर्दै आत्माआलोचना गरेनन् भन्ने विषय आफैमा अचम्म छ । किन आपसी समझदारीमा विवादलाई बिट मारिएन ? के यो क्षमा दिन सक्ने वा माफी माग्न नहुने खालको अपराध थियो त ??

तर आज हामी त्यही बिबादलाई पक्ष/विपक्षमा किन अर्को विवादको सिर्जना गर्दैछौ ? सबै जातजातीको आ आफ्नो मौलिकता र पहिचान हुदाहुदै किन ठूलो जात र सानो जातको अराजक कुस्ती खेलिरहेका छौ ?? कानुनले बन्देश र कुनै बैज्ञानिक अर्थ नबोक्ने यो जातको भिन्नतामा किन आज सामाजिक संजाल यति दुर्घन्दित हुदैछ ??

शम्भु सर / प्रकाश जि तपाईंहरु फुट्दा सिङ्गो समाज फुट्दैछ । यो बिबाद केबल तपाईंको मात्रै बिबाद र समस्या भएन यसले समग्र समाजलाई टुटाउदैछ । आपसी भाईचारा र सद्भाव भड्काउदैछ । तपाईंहरुको मन बाझिदा यहाँ कयौ भड्काउहरुका नाङ्ले पसल चल्न थालेका छन । गालीगलौज , अपशब्द , तेरो , मेरो गर्दै थालिएका अनावश्यक हानथापले तपाईंहरु मात्र बिबादित हुनु भएको छैन यहाँ कयौं मानिसहरुले यहि मेसोमा अरुको उछितो काढिरहेका छन ।एक आपसमा लडिरहेका छन ।

कहिल्यै नटुङ्गिने र अर्थहिन उपल्लो जात र तल्लो जातको पगरीमा मानिसले आफ्नो परिचय बिर्सिएका छन ।अरुको संमान र अस्तित्वलाई होच्याएर आफुलाई महान देखाउने खेल केबल राजनीतिमा देखिदै आएको थियो त्यो डरलाग्दो पैठोजोरी क्रमशः समाज र सामाजिक संजालमा पनि देखिन थालेको छ । जातको आधारमा अरुप्रती अपशब्द बोल्ने , होच्याउने र छेडछाड गर्ने आचरणले के साच्चिकै हामीलाई चेतनशिल प्राणी वा पृथ्वीको उन्नत प्राणी भन्न दिन्छ ?? कुन स्वाभिमान र अहंकारले आफुले आफुलाई सर्बश्रेस्ठ प्राणी ठान्छौ जब कि हाम्रो सोच नै कुण्ठाग्रस्त छ । बदनियत छ । तसर्थ शम्भु राई सर मन ठूलो बनाएर प्रकाश भाईलाई आफ्नो अङ्गालोमा बाधेर माफी दिनुहोला र खबरदारी गरिदिनुस – मानिस ठूलो दिलले हुन्छ जातले हुदैन ।

#जातिय भेदभाव होइन सद्भाव बाढौ ।

एक नारायण पौडेल
भमनपा वाड न १३
चितवन