द्वारिकलाल चौधरी इटहरीका मेयरले मागे माफी

सार्वजनिक कार्यक्रममा महिलाको आत्मसम्मानमा ठेस पुग्ने गरी बोलेको भन्दै आलोचित भएका इटहरीका मेयर द्वारिकलाल चौधरीले माफी मागेका छन्। मेयर चौधरीले शुक्रबार एक विज्ञप्ति जारी गर्दै आफुले बोलेको शब्दले महिलाको भावनामा चोट पुगेको भन्दै माफी मागेका हुन्।

उनले ‘सामाजिक विकृतिको विरुद्ध अभियान’ नामक सार्वजनिक कार्यक्रममा महिलालाई अपमान हुने गरी ‘र।।डी’ जिन्दावाद भन्दै अभिव्यक्ति दिएका थिए।

‘महिला दिदीबहिनीप्रति मेरो भावना र आशय गलत थिएन, छैन र रहने पनि छैन। म सदैव महिला दिदी बहिनीप्रति सम्मान गर्न चाहन्छु,’ उनले विज्ञप्तिमा लेखेका छन्, ‘कार्यक्रममा मैले बोलेका केही शब्दले देश विदेशमा रहेका तमाम नेपाली आमा दिदी बहिनीको भावनामा चोट पर्न गएकोमा दुःख व्यक्त गर्दै क्षमायाचना गर्दछु।’

यो पनि पढ्नु होला
मेयरसाबलाई कुनै माध्यमबाट मेरो यो अनुरोध पुराइदिनु होला जो कसैले : सरु सुनार

पछिल्लो केही समय अगाडी पत्रकारमाथि आक्रामक रुपमा अभिव्यक्ति दिएका इटहरीका मेयर द्वारिकलाल चौधरी पुनः विवादमा मुछिएका छन्।

चौधरीले एक सार्वजनिक कार्यक्रममा महिलाहरूको प्रतिष्ठामाथि ठोस पुग्ने शब्द प्रयोग गरेको लगतै उक्त विषयलाई उठाएर महिला अधिकारकर्मी तथा संचारकर्मी सरू सुनारले मेयर चौधरीलाई लाइ खुल्लापत्र लेखेकी छन्।

आदरणीय मेयर साब नमस्कार …

तपाईंले असार ४ गते इटहरीको एउटा सार्वजनिक कार्यक्रममा छाती फुलाएर बोलेको एउटा शब्दले मलाई यसरी घोचिरहेको छ कि, तपाईं त पत्याउनु हुन्न होला । तर म भने त्यो शब्दले निदाउनसमेत सकिनँ ।

मेयर जस्तो गरिमामय पदमा बसेको मानिस, त्यसमा पनि आफूलाई कम्युनिष्ट पार्टीको असल एवं सच्चा कार्यकर्ता भन्ने मानिसले बोलेका शब्द भएर होला मेरो मानसपटलमा एउटा आँधीहुरी नै ल्याइदियो ।

म यति गहिराईमा डुबेँ कि केही कुरा नलेखी बस्नै सकिनँ । मैले इटहरीको मेयर तपाईं (द्वारिकलाल चौधरी) लाई एकदम सही मानेकी थिएँ । तर, जसरी सबै महिलाहरूको आत्मसम्मानमा ठोस पुग्नेगरी जुन शब्द बोल्नुभयो, यो अति नै भयो । ‘रण्डी’ ले गर्दा बियर बिक्यो रे, होटेल चले रे ? के—के बिक्यो रे ? तपाईंले बोलेका सबै कुरा यहाँ उल्लेख गर्न त मेरो नैतिकताले नै दिएन ।

म तपाईंलाई एउटा प्रश्न सोध्न चाहन्छु । पुरुषबिना महिला कसरी ‘रण्डी’ हुन्छ ? मेयर सा’ब ! अब इटहरीमा वेश्यावृत्ति बढ्यो रे ? हैन तपाईंकै गाउँ, टोल इटहरीमा कति धेरै वेश्या पुरुषहरू जन्मेका हुन् ? अब कारबाही र न्यूनीकरणका लागि जो त्यो पेशामा संलग्न छन् ति महिलालाई मात्र कारबाही र गाली गर्ने कि, हजारौं लाखौँ खर्च गरेर दुई चारसय पुरुषमाथि पनि कारबाही गर्ने ? तपाईं जत्तिको व्यक्तिलाई यतिसम्म थाहा रहेनछ, ‘रण्डी, वेश्याजस्ता शब्दहरू पुलिङ्गी र स्त्रीलिङ्गी होइनन्, यी त स्तरहीन र तल्लो स्तरका घृणित शब्द हुन् ।

तपाईं रण्डी भन्दै कुर्लने ? अब जिम्मेवारी लिनुस् र कारबाही गर्नुस् । लाखौँ खर्च गरेर रण्डीहरूसित रात बिताउन श्रीमती, प्रेमिका भुल्ने पुरुषहरूलाई नाङ्गेझार पार्नुहोस् । कति रहेछन् त बियर खाने र कण्डम किन्ने पुरुषहरू ? हिम्मत छ मेयर सा’ ब ?

छ भन्ने भन्नुहोस् मेरो पनि तपाईंलाई साथ छ । होइन भने एकोहोरो महिलामाथि गाली गर्न तपाईंको पदीय जिम्मेवारीले दिन्छ त ? मेरो एउटा प्रश्न मेयर साब, खुला रूपमा महिलालाई रण्डी जिन्दावाद भन्नेले रण्डो जिन्दावाद भन्न किन नसकेको ? अर्थात हामी पुरुष एउटी महिलालाई रण्डी बन्न बाध्य पार्ने अपराधी हौं भन्न किन सक्नु हुन्न ? तर यसो भन्दै गर्दा पुरुष अपराधी नै हुन् भन्न मलाई अपराध गरेजस्तो लाग्छ ।

यौनधन्दा गर्ने महिला मात्र गलत हो कि सबै लाखौँ खर्च गरेर वेश्यावृत्ति गर्न जाने पुरुषहरू पनि उत्तिकै भागिदार छन् ? तपाईंलाई यति पनि हेक्का छैन ? यति पनि ज्ञान छैन ? कोठा बिक्नु, बियर बिक्नु, कण्डम बिक्नुमा ‘इटहरी त वेश्या पुरुषहरूको अखडा बनेछ’ भन्ने ।

म मान्छु अरु देशमा रेडलाइट एरिया र यौनधन्दालाई व्यवसाय भनी लाइसेन्स दिन्छन् । तर, हाम्रो देश सीता जन्मेको देश हो । भृकुटी जन्मेको देश । हाम्रो देशका नारीलाई देवी, महालक्ष्मी, काली देवीको रूपमा मानिन्छ र पुजिन्छ । एउटा संस्कार र इज्जत बोकेको देशको नारी हौँ हामी । त्यसैले अवैधानिक यस्ता कार्य बञ्चित छ र बन्देज गर्नुपर्छ ।

शरीर बेचेर खाने महिलालाई सबैभन्दा बढी घृणा गर्छु म–जसले कुटो कुदालो चलाउन डर मान्छन् र गिटी कुट्न लाज मानी आफ्नो शरीर बेचेर पैंसा कमाउँछन् । तिनीहरूलाई छुट छैन, दिनु हुँदैन मेरो मान्यता हो । तपाईंले यो विषयमा कत्तिको रिसर्च गर्नु भा’छ ? आफ्नो लोग्नेले अर्को विवाह गरेपछि आफ्नो बच्चाको अप्रेशन गर्न पैसा नभएर शरीर बेच्ने महिला पनि तपाईंकै वरिपरी छन् । के तपाईं त्यस्ता श्रीमान र बाउलाई श्रीमती र छोराछोरीका लागि निभाउनु पर्ने कर्तव्य पुरा गर्न बाध्य पार्न सक्नुहुन्छ ? बहादुरी त त्यसैमा पो छ त ।

मेयर सा’ब ! बाध्यतामा शरीर बेच्ने महिलालाई वैकल्पिक बाटो देखाउनुस् र उद्धार गर्नुस् । अनि उन्मुक्त भएर समाजमा बिकृती फैलाउन आइफोन र स्कुटर किन्नका लागि भौतिक सुख खोजी शरीरलाई व्यवसायको रूपमा प्रयोग गर्नेलाई कारवाही गर्नुहोस् । तर, यसरी बोल्न मिल्दैन । मेयर सा’बले कुनै ति पेशामा लागेको र प्रमाण भएको भए प्रमाणित गरी सम्बन्धित र संलग्न महिलालाई भन्नु भएको भए आपत्ति थिएन । तर, तपाईंले त सबै महिलालाई नै पो मुछ्नुभयो ?

एउटा गरिमामय पद सम्हालेको मेयरले यसरी एकपटक होइन दस पटक (रन्डी जिन्दावाद) भन्दै कुर्लनु कतिको ठिक छ ? सम्पूर्ण नेपाली महिला दिदिबहिनीहरूले या तपाईंको आफ्नो आमा, दिदिबहिनीले यो शब्द सुन्दा पचाउन सक्नुहुन्छ ?

उल्टा एउटा पत्रकारले तपाईंलाई प्रश्न गर्दा रन्डीलाई रन्डी नभनेर के भन्ने ? भनी ठाडो जवाफ दिनुहुन्छ । यहाँलाई यति त थाहा होला नि, कि अहिले पछिल्लो समय कुनै पेशा, व्यवसाय या कसैको आत्मसम्मानमा ठोस् पुग्ने शब्द र सम्बोधन गर्न कानूनविपरित छ भन्ने ।

यही पेशा गर्नेलाई पनि कुनै शब्दबाट गाली गरेको भए तपाईं वाह वाह नै हुनुहुन्थ्यो । तर, तपाईंले जसरी महिलाहरू नै सुन्न नसक्ने गरी यस्ता शब्द बोल्नु भो, यो पाच्य भएन । चौतर्फी तपाईंमाथि गाली बर्सिएका छन् । म सिधा बोल्छु जे नि बोल्छु भनी यसरी बोल्न छुट छैन । तपाईंले रन्डी भन्दै गाली गर्दा तिनीहरुसित लाग्ने पुरुषहरुलाइ पनि सचेत र ध्यानाकर्षण गराएको भए पनि एउटा कुरा थियोे ।

अन्त्यमा तपाईंको भ्रष्टाचार विरुद्धको अभियान र इमानदार मेयर बन्नु भएको छ । त्यो मानेमा साथ छ । तर, तपाईंले यसरी नै महिलाहरूलाई शिर झुक्ने शब्द र यसरी बोल्नुभयो भने एक दिन तपाईंको विरुद्धमा ठूलो मासले स्पष्टीकरण माग्नेछन् ।

यो विषयमा महिलाहरूको ध्यानाकर्षण भएको जानकारी गराउँदछु । आज तपाईंले दर्जनौंपटक मच्चिदै बोलेको (रण्डी) शब्द लेख्नको लागि मेरो हात धेरै बेर काँपे, हातका औला थरथराए । तर कति सामान्य छ है तपाईंलाई यस्तो शब्द बोल्न ?

गल्ती महिला र पुरुषको भए पनि बेइज्जती र कारबाही अनि यस्ता शब्दको उपमा र उपनाम महिलाले नै पाउनु पर्ने ? महिलाहरूलाई यस्ता गाली र शब्द बोल्न र भन्नको लागि केही हुँदो रहेनछ भन्ने बल्ल बुझेँ मैले ।

मेयर सा’ब, सबै पुरुष पनि रण्डा हुँदैनन् । श्रीमती छोडेर परस्त्रीसँग जाँदैनन् । यहाँ सबै पुरुष र सबै महिलाको इज्जतको सवाल हो । यो बुझ्नु होला अब बोल्दा तपाईंले केही सच्चिनु पर्छ । गल्ति मान्छेबाटै हुन्छ । मैले यति लेखिसकेपछि पक्कै पनि आम महिलाहरुसँग माफी माग्नु हुनेछ । तपाईंकी आफ्नै आमा, श्रीमती र छोरीसँगसमेत । यदि साच्चिकै महान हुनुहुन्छ भने !

तपाईंको शुभ चिन्तक, सरु सुनार, काठमाडौं ।