पुजारी झबिन्द्र पोख्रेल ‘बरु मर्न तयार छु तर दलितलाई छुन्न’

पाँच महिनाको बालकलाई समेत पन्डितले दलितलाई छुन हुन्न भन्दै टिका लगाइदिएन् ।

काठमाडौ ।
गुल्मीको वस्तु गाउँ जातिय विभेदको अखडा बन्दै आएको छ । आफुलाई शिक्षित र सभ्य समुदायको गाउँ भनेर चिनाउन चाहने धुर्कोट गाउँपालिका वडा नम्वर ५ साविक वस्तु गाविसमा दलित समुदायका जेष्ठ नागरिकहरुलाई जातिय विभेद गरेको समाचार सेलाउन नपाउँदै मंगलवार बिहान दलित समुदायका अबोध ५ महिनाको बालक माथी पनि जातिय विभेद गरिएको छ ।

धुर्कोट गाउँपलिकाका वडा सदस्य टिका बिश्वकर्माका नाति ५ महिनाको बालक ग्रेसन बिक माथी विभेद गरिएको हो । मंगलवार विहान नातिलाई सातो फुकाउन भन्दै बिश्वकर्माकी श्रीमती सिता बिश्वकर्माले लिएर त्यहाँको ऐतिहासिक कालिका मन्दिरमा लगेर गएकी थिईन ।

अन्य जातिका बालबालिकाहरु पनि त्यहाँ पुगेका थिए । पुजारी झबिन्द्र पोखरेलले अन्य जातिका बालबालिकाहरुलाई मन्दिर भित्रै लगेर टिका लगाई दिए । सिता बिश्वकर्माका पाँच महिनाको नातिलाई भित्र पस्न दिईएन । पुजारी पोखरेलले बाहिरै राख्न लगाए । भित्रबाट पातमा टिका लिएर पुजारी पोखरेलले लगाउन भनि दिए ।

सिता बिश्वकर्माले त्यसको बिरोध गरिन । पुजारी पोखरेलले बरु म पुजा गर्न छाड्छु र मर्न परे पनि मर्छु तर म आफुले टिका लगाई दिन्न भनेर अडान लिए । विवाद निकै बेर चल्यो , दलित समुदायका मानिसहरु दर्जनौ जुटे तर त्यहाँका आफुलाई शिक्षित सम्भ्य र समाज सुधार गर्ने ब्यक्ति भनेर औपचारिक कार्यक्रममा दावी गर्नेहरु एक जना पनि आएनन ।

बरु बालबालिकाहरु जुटेका थिए । जबकी जनप्रतिनिधी टिका बिश्वकर्माका छोरा संजिव बिश्वकर्माले क्षेत्री समुदायकी छोरी मनिषा केसीलाई बिबाह गरेका हुन । उनै केसीको कोखबाट जन्मिएका छोरा ग्रेशन त्यो पनि पाँच महिनाको बालक माथी त्यसरी जातिय विभेद गर्नु लज्जा स्पद मात्रै नभएर खेदजन्य भएको वडा सदस्य टिका बिश्वकर्माले बताए ।वडाका अधक्ष्य ढुण्डि भण्डारीलाई सम्पर्क गरि घटनाको बारेमा बुझ्दा आधिकारिक जानकारी नआएको र यो बारेमा दुई पक्षिय छलफल गर्ने जानकारी गराएका छन् ।

स्मरण रहोस जेठ १ गते देखि सञ्चालनमा आएको जेष्ठ नागरिक दिवा सेवा केन्द्रमा त्यहाँका दलित समुदायका बृद्धालाई विभेद गरेर केहि अनलाईन मिडियामा समाचार आए पछि त्यस सञ्चालक समितिले खण्डन गर्दै कुनै प्रकारको विभेद नगरेको दावी गरेको थियो ।

पछिल्लो यो घटनाले उनीहरुको दावी त्यहाँका दलित समुदायको शब्दमा ‘दलितलाई सक्दो दबाउने कुरा उठे स्याल भाका मिलाउने’ भने जस्तै भएको छ ।
सैघालीखबर बाट साभार