मापदण्ड कायम गराउनेले नै मिचे फुटपाथ पौडेललाई कारवाही गर्न स्थानीयको माग

पोखरा संवाददाता
पोखरा, २३ जेठ ।
मापदण्ड कायम गराउन पोखरामा चर्को भाषण गर्ने र डोजर लगेर जताततै भत्काउँदै हिड्ने रामबहादुर पौडेल स्वयम्ले फुटपाथ मिचेर संरचना बनाए पछि विवादमा मुछिएका छन् । आफूलाई नागरिक समाजको अगुवा भनेर चिनाउने पौडेलले कानुन विपरित संरचनाहरु बनाएपछि स्थानीयवासीले कारवाहीको माग गर्दै उजुरी दिएका हुन् ।

पोखरा महानगरपालिका वडा नं. ७ का स्थायीवासिन्दा पौडेलले आफ्नो घर अगाडिको फुटपाथ मिचेर विभिन्न संरचनाहरु बनाएपछि स्थानीयवासीहरु आन्दोलित भएका हुन् । अन्यत्र १ इञ्ची पनि फुटपाथको ढलान अग्लो भयो भने डोजर लगेर भत्काउने रामबहादुर स्वयम्ले पैदल यात्रीलाई समेत हिड्न नमिल्ने गरी फुटपाथमा ती संरचनाहरु बनाएका छन् ।

आफूलाई नागरिक समाजको अगुवा भनेर चिनाउने रामबहादुर पौडेललाई कारवाही गर्न स्थानीयवासीले वडा कार्यालय ७ मा उजुरी दिएका छन् । वडा नं. ७ का अध्यक्ष रामचन्द्र बरालले रामबहादुर पौडेलले फुटपाथ मिचेर विभिन्न संरचनाहरु बनाएको भन्दै उजुरी परेको जानकारी दिए । उजुरीकै आधारमा वडाले आज बिहीबार पौडेललाई वडा कार्यालयमा उपस्थित गराएको बताए । अध्यक्ष बरालले भने–‘हामीले पौडेलसँग सोधपुछ ग्यौं । अब पोखरा महानगरपालिकाबाट प्राविधिकहरुको टोली पठाएर के कति फुटपाथ मिचिएको हो, नापजाँच गर्नेछौं र दोषी देखिए आवश्यक कारवाही गछौं ।’

स्थानीयवासी तथा नेपाल पत्रकार महासंघ कास्कीका निर्वतमान उपाध्यक्ष राजेन्द्र अधिकारीले मापदण्ड मिच्नेहरुलाई शक्ति र पहुँचका आधारमा छुट दिन नहुने बताएका छन् । उनले भने–‘सामान्य गरिबले बनाएको झुपडी भत्काउन महानगरपालिका डोजर लगी मिडियावाजी गर्छ तर खुलेआम यसरी कानुनको धज्जी उडाएर मापदण्ड मिच्ने ठुलाबडालाई केही गर्न सक्दैन ।’

पोखरा महानगरपालिकाले सञ्चालन गरेका अभियानहरुमा हातमा माईक बोकी उनले जबरजस्ती संरचनाहरु भत्काउन डोजर चालकलाई दवाव दिने गर्दथे । निकै आक्रामक शैलीमा प्रस्तुत हुने पौडेलको यही स्वभावका कारण उनी पटक–पटक विवादमा समेत पर्दै आईरहेका छन् ।
‘मापदण्ड कायम गराउने नाममा सर्वसाधारणमाथि आतंक मच्चाउने पौडेललाई कुन कानुनले छुट दिन्छ फुटपाथमा संरचना बनाउन’, स्थानीयवासीहरु भन्छन्–‘पैसा र पहुँच हुनेहरुले जे गरेपनि हुने भयो यो देशमा ।’

घरभाडामा लगाएर जिविकोपार्जन गर्ने पौडेलको कुनै पेशा र व्यवसाय भने छैन । यतिबेला हरेक हप्ता सरसफाई अभियानमा सक्रिय पौडेल मापदण्ड मिचेर बनाईएको संरचनाहरु जसरी पनि जोगाउने ध्याउन्नमा लागिरहेका छन् । तर स्थानीयवासीहरुले भने उक्त संरचनाहरु भत्काउनु पर्ने र कानुनी राज्यको प्रत्याभूति हुने गरी जनप्रतिनिधिहरुले काम गर्नुपर्ने माग राख्दै आईरहेका छन् ।

जर्मनमा धेरै वर्ष शरणार्थीको रुपमा बसेका पौडेलले झुटो विवरण पेश गरी सरकारलाई झुक्याएको भन्दै थुनामा समेत परेका थिए । जर्मन सरकारले झुटो विवरण पेश गरी शरणार्थीको रुपमा भत्ता लगायतका सुविधाहरु झुक्याएर लिएको भन्दै कारवाही गरेको थियो ।

विदेशमा रहँदा कारवाहीमा परेपछि नेपाल आएका पौडेलले शुरुमा मानवअधिकारवादीका रुपमा आफ्ना गतिविधिहरु अघि बढाएका थिए । पछि आफैंले नागरिक समाज भन्ने गैरसरकारी संस्था दर्ता गरी त्यसको वषौंसम्म अध्यक्षका रुपमा रही पोखरामा आतंक नै मच्चाएका थिए ।

सोही वडामा पौडेलकै छिमेकी हिमालय आँखा अस्पतालमा लेखा प्रमुखका रुपमा कार्यरत वामदेव सुवेदीले पनि सार्वजनिक बाटोमा अतिक्रमण गरेका छन् । सुवेदीले सार्वजनिक बाटो नै बन्द हुने गरेर गेट हालेपछि स्थानीयवासीले वडा कार्यालय ७ ले कारवाहीका लागि उजुरी दिएका थिए । वडा कार्यालयले पनि उक्त उजुरी उपर छानबिन गरी थप कारवाहीको प्रक्रिया अघि बढाएको वडाध्यक्ष रामचन्द्र बरालले जानकारी दिए । सार्वजनिक जमिन, बाटो र नहरमा अतिक्रमण बढेपछि स्थानीयवासीहरुले विरोध जनाउँदै जनप्रतिनिधिहरुलाई तत्कालै दोषीमाथि कार्वाही गर्न चौतर्फी दवाव दिईरहेका छन् ।