प्रेम गीत ३ को ६ कलाकारको अडिसन सम्पन्न-नायिका देखि मोडल सम्म

हिट रोमान्टिक सिरिज “प्रेमगीत”को निर्माण पक्षले आफ्नो तेश्रो संस्करणमा अडिसन मार्फत चलचित्रको कथा अनुसार सुहाउदो “गीत”को पात्र छान्ने घोषणा गरेदेखि चलचित्र क्षेत्रमा “को बन्ला गीत” र चलचित्रप्रेमीहरुमा “यो बन्नुपर्छ गीत” भनेर अनुमान र अड्कलबाजी सुरु भएको छ। यहि आइतवारबाट भने २७१४ भन्दा बढी सपनाहरुको उत्साहजनक सहभागिताबाट छनौट भएका २५ प्रतिभाशाली र सुन्दर दावेदारको दोश्रो चरणको अडिसन शुरु भएको छ।

आशुसेन फिल्मस् का क्रिएटिभ टिमको अगाडी हिजो “गलबन्दी” र “बोल माया” फेम अन्जली अधिकारी, “सय कडा दस” कि करुणा श्रेष्ठ लगायत दिभ्यानी ओली, कविता नेपाली, क्रिष्टिना गुरुङ्ग र तमन्ना केसीले आफ्नो प्रतिभा देखाईसकेका छन्। यस अडिसनको सबै भन्दा आकर्षक पक्ष त के थियो भने, चलचित्रमा सुहाउदो गीत खोज्न कुनै हेल्चेकराइ नहोस् भनेर निर्माण पक्षले अडिसनमै चलचित्रमा रहने सेट डिजाइन गराएका थिए। सायद कलाकार छनौट गर्न चलचित्रकै जस्तो सेट डिजाइन गरेर अडिसन लिने यो अन्दाज यसअघि पहिला नेपाली चलचित्र क्षेत्रमा भएको थिएन।

निर्देशकद्वे छेतन गुरुङ्ग र सन्तोष सेनले अडिसनको एक दिनअघि नै विदेशमा रहेका सहभागीहरुको हौशला बढाउन र उनीहरुलाई अडिसन दिने माध्यम र तरिका बताउन निर्माता सेनको फेसबुक पेजमा लाइभ भिडियो राखेका छन्। सो भिडियोमा निर्माता सेनले नेपालमा चलचित्र थुप्रै बन्ने तर चलचित्रमा “गीत” जस्तो पात्र सित्ति मित्ति नआउने जानकारी दिएका थिए। विशेष पुरुषको कथा र पात्रमै केन्द्रित रहने नेपाली चलचित्र क्षेत्रमा “प्रेमगीत”को पहिलो शृंखला देखि नै “गीत”को पात्र सशक्त रहिरहेको त सबैलाई जानकारी छ नै। यस्तोमा तेश्रो संस्करणमा “गीत”को पात्र पहिलो भन्दा अझ ३ गुणा नै मजबुत भएको विभिन्न श्रोतहरुबाट बुझ्दै आइएको छ।

यो भव्य अडिसनमा अझ आफ्नो प्रतिभा देखाउन बाकि भएका सबै सहभागीहरुलाई शुभ कामना।