सिताराम कट्टेल धुर्मुस भाई, आस्था र विस्वास नढले पुग्छ

[हालै गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणस्थलमा केही अराजक व्यक्तिहरुको नेतृत्वमा भएको डोजर लगाउने र तोडफोड गरी सार्वजनिक सम्पत्ति क्षति पुर्याउने कामले उत्पन्न परिस्थितिले गर्दा यो बिषय भाईरल भैराखेको बेलामा लुम्बिनी-कपिलवस्तु विस्व अभियानका विस्व संयोजक रामकुमार श्रेष्ठले सामाजिक सन्जालमा लेख्नु भएको यो सामग्री अत्यन्तै सान्दर्भिक देखिएकोले पाठकहरुको जानकारीको लागि प्रकाशित गरिदिएका छौं – सं]

  • रामकुमार श्रेष्ठ

जबसम्म आस्था र विस्वास ढल्दैन तबसम्म हरेस खानु र आत्तिनु आबस्यक छैन सिताराम कट्टेल धुर्मुस भाई । बेलाबखतमा साना ठूला झारपात आइराख्छन – यो अस्वाभाबिक होइन, सामान्य कुरा हुन ।

४,००० सेना सहितको गणको सुरक्षा घेराबन्दीमा रहेको राज परिवारकै हत्या हुन्छ, सुत्ने बेलासम्म मन्त्री र प्रधानमन्त्री भएका ब्यक्तिहरु उठ्दा नजरबन्दमा हुन्छन, बहालवाला प्रधानमन्त्री घाइते अवस्थामा भेटिन्छन् र अस्पताल नलैजाँदै मृत हुन्छन र मृत्‍यु भएको घोषणा गरिन्छ तर पोस्टमार्टम गर्ने प्रकृया नै अगाडि बढाइन्न, अत्यन्तै प्रभाबशाली नेताको रहस्यमय दुर्घटना हुन्छ र त्यही पार्टीका नेताहरु थुप्रै पटक प्रधानमन्त्री हुन्छन र त्यही पार्टीका नेताहरु एक्कै पटक सरकार प्रमुख र राष्ट्र प्रमुख हुन्छन र पनि हत्याको बिषयमा अनुसन्धानलाई गम्भीर रुपमा लिने छनक समेत पाइन्न – हामी यस्तो देशमा छौं ।

देशको गरिमा र प्रतिष्ठासंग जोडिएको एउटा महत्वपूर्ण समितिको नेतृत्व गरिराख्नु भएको गणतन्त्रपछिका प्रधानमन्त्री भएका प्रभाबशाली नेतासंग एकदिन मैले “त्यो समितिको कामलाई अगाडि बढ्न नदिने काम तपाईंंको त्यही समितिका सदस्यहरुबाट भैराखेको छ” भनेर भन्दा उन्ले केही नबोली केही समयसम्म मेरो मुखमा हेरिराखे । उन्को लागि मेरो भनाइ एकदमै अनपेक्षित थियो र मेरो भनाइको अर्थको गहिराइ उन्ले र मैले जति बुझ्छौं त्यत्ति थोरैले मात्रै बुझ्लान ।

विस्वब्यापी सामरिक महत्वयुक्त यस्तो संबेदनशिल भू-राजनैतिक देशमा साँच्चै नै देशको लागि काम गर्ने कुनै पनि ब्यक्ति कुनै पनि बेला जमिम शाह बन्न सक्छ, पूर्व राजा बीरेन्द्रको परिवारको सदस्य बन्न सक्छ । उनीहरुको सुनियोजित चरित्रहत्याको षडयन्त्र र भौतिक आक्रमणको संभावना त झन सामान्य बन्ने नै भयो । यो स्पस्ट हुने बित्तिक्कै यस्तो स्वाभाबिक कुरालाई लिएर हरेस खानु र आत्तिनुभन्दा आत्मबल झन मजबुत बन्न पुग्छ, हरेक ब्यबधान र अबरोधलाई हाँसी हाँसी स्वीकार्ने आदत बस्छ । अत: धुर्मुस भाई, गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणस्थलमा केही अराजक व्यक्तिहरुको नेतृत्वमा भएको डोजर लगाउने र तोडफोड गरी सार्वजनिक सम्पत्ति क्षति पुर्याउने कामले दु:खित त तुल्याउँछ नै तर त्यस्ले आत्मबललाई अरु मजबूत बनाउनु पनि पर्छ ।