कुलमान घिसिङ निरन्तर माफियातन्त्रको घेराबन्दीमा किन?

[हाम्रा राष्ट्रिय हिरो कुलमान घिसिङका बिरुद्ध पुन: षडयन्त्र गर्नेहरुले टाउको उठाउन लागिराखेको बेलामा लुम्बिनी-कपिलवस्तु विस्व आभियानका विस्व संयोजक इ रामकुमार श्रेष्ठले आफ्नो पेजमा पोस्टिङ् गर्नु भएको यो सामग्री अत्यन्तै समसामयिक भएकोले सबैको जानकारीको लागि प्रकाशित गरिएको छ – संपादक]

रामकुमार श्रेष्ठ

नेपाल विद्युत प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङले १८ घण्टासम्म भएको लोशेडिङ हटाएर त्यस्को ९ महिनामा ९ अर्ब घाटामा रहेको प्राधिकरणलाई नाफामा ल्याउन सफल भए । जे भयो यस्का कारण अधिकांश नेपाली उन्लाई भगवानको रुपमा मान्छन जबकि यस्तो जादूमय परिवर्तनको कारण अरु केही नभएर उन्ले आफ्नो पदीय दायित्वलाई गम्भिरतापूर्बक यथोचित ब्यबस्थापकीय क्षमता मार्फत निर्बाह गर्नुको परिणति मात्रै हो ।

यस्ले अत्यन्तै महत्वपूर्ण दुई कुरालाई स्पस्ट पार्छ: सही ठाउँमा सही ब्यक्ति हुँदा केही हुन नसकेको नेपाल जस्तो देशको लागि यसरी चमत्कार हुन्छ, त्यसो नहुँदा भ्रस्टाचारमा चामात्कारिक विकास हुन्छ पहिलो, र दोश्रो नेपालमा आफ्नो पदीय दायित्वलाई गम्भिरतापूर्बक निर्बाह गर्नेको संख्या औंलामा गन्न पनि पुग्दैन । यही दोश्रो वास्तबिकताको कारण देशका हरेक संस्था दुब्लाउने तर ब्यक्ति मोटाउने र अन्तत्वगत्वा देशलाई सुकेनासको रोगले आक्रान्त बनाउने काम भैराखेको छ । पहिलो यथार्थताले के स्पस्ट पार्छ भने एक दर्जन जति कुलमान देशमा जन्मिदिने हो भने देश स्वर्ग बन्न समय लाग्ने थिएन – भाषणमा होइन यथार्थतामा । तर हामी भाषणी काल्पनिक स्वर्गको रस स्वादन गर्न बिबस र वाध्य छौं लामो समयदेखि ।

देशमा लोडशेडिङ हटनुले जनताले एउटा वाक्क लाग्दो समस्याबाट राहत पाएको महसूस गरे तापनि लोडशेडिङका कारण देश र जनतालाई समस्यामा परेर अथाह सम्पत्ति आर्जन गर्न सफल माफिया भने आहत भैराखेका छन । कुलमानले पैसा कमाउनका लागि भएको लोडशिडिङलाई २-४ घण्टा मात्रै घटाएर पनि करोडौं कमाउन सक्थे । कमाउनकै लागि मान्छेले थाहा पनि नपाउने, प्रसंशा पनि पाउने र सजिलो त्यो उपाय नअपनाएर अन्य उपाय अपनाउन उन्लाई के आबस्यक थियो र?

कुलमानका कारण आफ्नो अकूत धन कमाउने बाटो बन्द हुने भएकोले उन्को चरित्रहत्या गर्न र उन्लाई असफल बनाउन केही घुनमानहरु शुरुदेखि नै अनबरत रुपमा बिभिन्न रुपमा लागिराखेका छन । एउटै एनसेलबाट देशले अरबौं पाउन पर्ने रकम प्राप्त गर्न सकेको छैन र यस्ता उदाहरण देशमा धेरै छन । यदि साँच्चिकै उनीहरु न्यायप्रेमी नै हुन र देशप्रति बफादार नै हुन भने साँच्चि नै यसरी काम गर्नेको अनबरत रुपमा बिभिन्न किसिमबाट बिभिन्न रुपमा चरित्रहत्या गर्न लागिपर्ने यस्तो समूह साँच्चिकै देशलाई खोक्रो बनाउन लागिपर्नेहरुको बिरोधमा भने मौन बस्ने वा अझै उनीहरुको चाकडीमा जाने वा घाँटी मिलाउने किन गर्छन् ? यही स्वभावका कारण नांगा बादशाह बनिरहेका छन उनीहरु । र यस्ता किसिमका नेपाली घुनमानहरुका कारण बिभिन्न देशमा समेत आजित हुन परेका गुनासाहरु प्रसस्त सुन्नमा आउँछन जो बिभिन्न कार्यक्रममा खादाका साथमा ड्यासमा देखिने भएकोले कार्यक्रममा मानिसहरु जान अनकनाउने गर्छन् ।

अत: कुलमानको भ्रस्टाचारी प्रसंग र दरवार हत्याकाण्ड र मदन भण्डारीको हत्याराको रुपको प्रकृति उस्तै उस्तै हो – स्वार्थ मिल्ने सानो स्वार्थी जमातको लागि सही अरुको लागि हाती आयो हात्ती आयो फुस्सा । नाँगा बादशाह र स-साना स्वार्थका लागि त्यस्ताका चाकडीमा तल्लिन सुतुरमूर्ग जुँगामा ताउ लगाउन ब्यस्त छन भदौ नै नलागी सदाबहार गाइजात्रा देखाउन – नेपाल र नेपालीको लागि ठूलो बिडम्बना ।