यसरी भयो नेपालकै अग्लो बौद्ध स्तुपाको शिलान्यास कार्यक्रम सम्पन्न

बैसाख ६ गते मङ्गलवार २०७६, गैंडाटार, रौतहट — रौतहटको गैंडाटारस्थित १३२ फिट उचाइको नेपालकै अग्लो बौद्ध स्तुपा निर्माणका लागी यही ६ गते आयोजित शिलान्यास कार्यक्रम भव्यतापूर्वक सम्पन्न भएको छ । प्रमुख अतिथि प्रदेश नं २ रौतहट क्षेत्र नं ४ का सङ्घीय संसद श्री देवप्रसाद तिमिल्सिनाद्धारा शिलान्यास गरिएको उक्त ऐतिहासिक कार्यक्रममा प्रमुख अतिथिको रूपमा बोल्दै सङ्घीय संसद श्री देवप्रसाद तिमिल्सिनाले मागी गुम्बा समितिद्धारा अभियानको रूपमा थालिएको बौद्ध स्तुपा परियोजना गैंडाटार बासिलाई मात्र नभई सिङ्गो रौतहट बासीहरूको लागि एक हिराको टुक्रा भएको दाबी गर्नुभयो ।

बौद्ध स्तुपा निर्माणबाट र गैंडाटारलाई पर्यटकीय क्षेत्र बनाउन एवं विकास निर्माण,उध्योग कलकारखाना तथा अन्य सम्भावनाको ढोकाहरु प्रशस्त खुलेको उहाँले बताउनुभयो । स्तुपा निर्माण अभियानमा उहाँले आफ्नो व्यक्तिगत क्षेत्रबाट साथै आफ्नो कार्यकालभित्र सरकारी क्षेत्रबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

संस्थाका वरिष्ठ उपाध्यक्ष श्री गजलाल बास्कोटाले धर्म भनेको कसैको पेवा होइन । मानिसको आस्थाको कुरा हो । स्वेच्छ्याले जुनसुकै धर्म मान्न पाउनु जो कोहिको नैसर्गिक अधिकार हो । तसर्थ बौद्ध स्तुपा निर्माण अभियानमा कुनै पनि जात जाती भाषा भाषी नभनी सबैले ऐक्यवद्धता जाहेर गरी स्तुपा निर्माण अभियान प्रक्रियालाई अगाडि बढाउने कुरामा विशेष जोड दिनुभएको थियो ।

कार्यक्रममा बोल्दै संस्थाका सचिव तथा स्तुपा निर्माण अभियानका संयोजक श्री ज्ञानबहादुर लामाले १३२ फिट अग्लो बौद्ध स्तुपा निर्माण अभियान सबैको लागि विशेष अवसर र चुनौती भएकोले यस स्तुपा निर्माण अभियानमा प्रदेश नं २ रौतहट क्षेत्र नं ४ का सङ्घीय संसद, स्थानीय ईकाईका पदाधिकारी,विभिन्न धर्मालम्बी,समाजसेवी,भद्रभलाद्मी,सामाजिक अभियन्ता,पत्रकार एवं बुद्धिजीवी वर्ग,देश विदेशमा रहेका नेपालीहरू सबैको हात एवं एक अर्काको सहायता अपरिहार्य रहेको प्रस्ट पार्नुभयो ।

सम्पूर्ण आवश्यक चरणहरू पूरा गरी निर्माण प्रक्रियामा अगाडि बढेको रहेको स्तूपाको बारेमा जानकारी दिँदै संयोजक श्री ज्ञानबहादुर लामाले बौद्ध धर्मालम्बीहरुको आस्थाको धरोहर बौद्ध स्तूपा निर्माण अभियानमा सहभागी भई स्तूपा निर्माणको सहयोगार्थ आर्थिक सहयोगको लागि सबैलाई आव्हाहन गर्नुभएको छ ।

निर्माणाधिन बौद्ध स्तुपा स्थलको कुल क्षेत्रफल १० बिघा ६.६० हेक्टर रहेको छ भने स्तुपाले मात्र ओगट्ने क्षेत्रफल २.३३ हेक्टर रहेको छ । बौद्ध स्तुपा निर्माणको लागिमात्र लाग्ने लागत खर्च २ अर्ब ५० करोड रहेको छ । अन्य पूर्वाधारहरू निर्माणका लागि लाग्ने लागत खर्च रु २ अरब ५० करोड रहेको छ । कुल लागत ५ अरब रहेको उक्त आयोजनाको अवधि ५ वर्षको हुनेछ ।

बौद्ध स्तुपा परिसरमा स्तूपा सम्बन्धी अन्य पूर्वाधारहरू पनि यसै आयोजना अन्तर्गत सम्पन्न गरिनेछ । यी लगायत बौद्ध गुम्बा,आधुनिक बगैँचाको निर्माण,स्तुपा तथा गुम्बा वरिपरिको क्षेत्रमा रुद्राक्ष,चन्दन,बोधिचित्त,लगायत अन्य खालका बोटबिरुवाहरुपनि रोपिनेछन् । स्तुपा क्षेत्रमा खानेपानी तथा शौचालय उपलब्ध गराई स्तुपा क्षेत्रमा फराकिलो सडक पनि बिस्तार गरिने आयोजनाको उध्येश्य रहेको छ । स्तुपा निर्माणको सम्पूर्ण कार्य पुरा गरिसकेपछि स्तुपा परिसरमा बौद्ध धर्म सम्बन्धी पाठशाला,पुस्तकालय तथा सङ्ग्रहालयको निर्माण र सञ्चालन गरिने संस्थाका अध्यक्ष श्री छोईसाङ लामाले बताउनुभयो।

उक्त समारोहमा संस्थाका अध्यक्ष श्री छोईसाङ लामा,वरिष्ठ उपाध्यक्ष श्री गजलाल बाँस्कोटा,लाल बहादुर डोङ ,सचिव श्री ज्ञान बहादुर तामाङ,सह—सचिव कमल मोक्तान,संस्थाका कोषाध्यक्ष श्री माया रानी तामाङ, दीपशिखा शर्मा,राजेश्वरी श्रेष्ठ,श्याम तामाङ,शुक बहादुर तामाङ, श्याम गोले लगायत अन्य पदाधिकारीहरू, स्थानीय बासीहरू,पत्रकार एवं बुद्धिजीवी वर्ग एवं सामाजिक अभियन्ताहरूको बाक्लो उपस्थिति रहेको थियो ।
dastawejnews@gmail.com