नोटाम उल्लंघन गर्दै फ्लाई दुवई उडाउने पाईलट र उड्न दिनेलाई अन्तर्राष्ट्रिय कारबाही हुन्छ : ई. कंडेल

काठमाडौं, २९ चैत । नागरिक उड्ययनसम्बन्धी खोज तथा अनुसन्धान गरिरहेका “पब्लिक इनोभेटर” ईन्जिनियर दिपेन्द्र कंडेलले राति १० बजेपछि उडान भर्न नमिल्ने सूचना ‘नोटिस टु एयर म्यान’ (नोटाम) जारी भइसकेपछि विमानस्थल व्यवस्थापनले मंगलबार राति फ्लाई दुबईको बोइङ–७३७ विमानलाई उड्ने अनुमति दिनु र उडाउन खोज्नु नागरिक उड्ययनसम्बन्धी कानूनको उल्लंघन भएकोले दुवै पक्षलाई अन्तर्राष्ट्रियस्तरको कारबाही हुने बताएका छन् ।

कंडेलले बिहीवार नयाँ दिल्लीस्थित पत्रकारहरुसँग कुरा गर्दै यस्तो बताएका हुन् । उनले भनेका छन्, “एक साताअघि यस्तै अवस्थामा नेपाल वायुसेवाको विमानलाई भने उड्न दिइएको थिएन र त्यो घटनामा एटिसीले जानेर हो या नजानेर हो जुन निर्णय लिएको थियो, त्यो निर्णयलाई मैले सम्मान गरेको थिए । तर, अहिलेको यो घट्नामा पाईलट र एटिसी दुवैले कानून बिपरित र सुरक्षा लाई प्राथमिकता दिनु पर्ने अन्तराष्ट्रिय मान्यता बिपरित काम गरेको हुँदा अविलम्ब कारबाही गरिनेछ ।”

पछिल्लो दुई हप्तामा भएका दुई घट्नालाई राजनीतिक रुपबाट नबुझी प्राविधिक तरिकबाट हेर्नु नै आफ्नो जिम्मेवारी भएको उनको तर्क छ । उनले भनेका छन्, “यसमा गलत गर्ने पाईलट र कर्मचारी दुवै कारबाहीको भागेदार हुनुपर्ने हुन्छ ।”

उनले थप भनेका छन्, “नेपालमा यदि एउटा नागरिकले कसरी गर्छ भन्ने भ्रम छ भने म पब्लिक इनोभेटर हो र म लगायत सबैले अन्तर्राष्ट्रिय उड्ययन क्षेत्रमा काम गर्नेले मान्ने कानून भनेको सिकागो सम्मेलन अमेरिकाले पारित गरेको संबिधान हो, कुनै देशको अर्थात नेपालको संबिधान होइन । तसर्थ, नेपाल सरकारले यो घट्नालाई जसरी लिएपनि अन्तर्राष्ट्रिय नागरिक उड्ययन क्षेत्रको कानूनअनुसार सम्बन्धित पाईलट र (एटिसि) कर्मचारीलाई कारबाही हुने कुरा प्रष्ट पार्न चाहन्छु ।” नेपालको एक नागरिकको हैसियतले आफूले नेपालको संविधान मान्ने तर नागरिक उड्ययनसम्बन्धी ईनोभेटर भएकोले सिकागो कन्भेन्सनले पारीत गरेको संबिधान मान्ने पनि उनले स्पष्ट पारेका छन् । त्यस्तै, नेपालको नागरिक उड्ययन मन्त्रालयले समेत यही कन्भेन्सन शिरोधार्य गर्नुपर्ने उनको तर्क छ । कँडेलले संस्कृति, नागरिक उड्ययन तथा पर्यटन मन्त्रालयबाट अलग्याएर नागरिक उड्ययन मन्त्रालय छुट्टै गठन गर्नुपर्नेमा पनि जोड दिएका छन् ।

यदि कोही पनि अन्तर्राष्ट्रिय उड्ययन क्षेत्रमा काम गर्दा आफ्नो इमानदारी र सिकागो सम्मेलन अमेरिकाको कानुनबिपरित राजनीतिक रुपमा अभिव्यक्ति दिन्छ भने उसलाई पनि कारबाही गरिने कंडेलले खुल्ला चेतावनी दिएका छन् । नेपाल एयरलाईन्सलाई उड्न नदिने तर अरुलाई दिने घटनालाई राजनीतिक रुपमा नभएर प्राविधिक रुपमा लिनुपर्ने पनि कंडेलको जोड छ ।

नेपालको समग्र उड्ययन क्षेत्र सुधार गर्नुपर्छ भनेर नै आफू लागिपरिरहेको उनको तर्क छ । उनले पछिल्लो समय नेपालमा भएका वाइडबडी खरिद प्रकरण, हवाई दुर्घट्ना अनुसन्धानसम्बन्धी अन्तर्राष्ट्रिय पहल, नेपाल एयरलाईन्सलाई रोक्नु, फ्लाई दुबइले कानुनविपरित उडान गर्नुजस्ता घटनाले नेपालको उड्ययन क्षेत्र सुधारको क्रममा देखिएको विश्वास दिलाएका छन् । उनले भनेका छन्, “नेपालका एटिसी कर्मचारीको काममा प्रश्न चिन्ह उठ्छ तर त्यो भन्दैमा सबैलाई नराम्रो भन्न मिल्दैन । र, जसले गलत काम गर्छ, उनीहरुलाई कारबाही हुन्छ र राम्रो काम गर्नेलाई सम्मान हुन्छ ।”

विभिन्न घटनाको बावजुद राति १० बजेबाट विमानस्थल बन्द र काम सुरु भन्नु नै अन्तर्राष्ट्रिय कानून विपरित भएको उनको दाबी छ । उनले यसरी प्रष्टाए, “कानूनअनुसार यदि १० बजेबाट काम सुरु गर्नुपर्छ भने बढिमा ९ः३० सम्म उडान सञ्चालन गर्नुपर्छ । १० बजेसम्म गर्ने निर्णय नै गलत हो । यदि जहाज उडिसकेपछि फर्किनुपर्ने अवस्था भयो भने ३० मिनेटसम्म नेपाल भित्रबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आउन सक्नेगरि “कुशन टाईम“ भनेर राख्नुपर्ने थियो । त्यसकारण म यसै प्रेस वक्तव्यमार्फत अविलम्ब विमानस्थल बन्द गर्ने समय ९ः३० बनाउन सम्बन्धित निकायलाई अनुरोध गर्छु । यदि त्यो भएन भने फेरि अन्तर्राष्ट्रिय कानुनको सामना गर्नुपर्ने हुन सक्छ । त्यसतर्फपनि म सम्बन्धित सबै सरोकारवाला निकायको यथेष्ट ध्यानाकर्षण गराउन चाहन्छु ।”