जति दुख गरेपनि दिनमा एकप्लेट मम खान तिनचोटी सोचेर चारचोटी गोजी छाम्नु पर्ने पीडा महसुस गर्ने मान्छे मैं हुँ !

ज्वाला संग्रौला, जापान

आज बैशाख १ , मेरो जन्मदिन!
हिँड्दा हिँड्दै अचानक फेरि आयुको अर्को डिलमा पुगेर उभिँएकी छु। यहाँसम्मको यात्रामा कतिपटक अभाबको भिरमा ठोक्किएर पीडाको खोंचमा खसें, नाङ्गा पैतालाका चक्रहरुले गरिबिको दोबाटोमा थुप्रैपटक कठिनाईका बुट्टाहरु कोरें,दशैंका राता अक्षताहरु कैयौ सालसम्म एउटै फाटेको भोटोमा झारिरहेँ, बिहान झिसमिसेमा आमाले जाँतोबाट निकालेको संगितसँगै ब्युँझिएका कलिला सपनाहरु कतिपटक घाम नउदाउँदै त्यहि जातोसँगै पिसिरहें !!

सपना एकजोर नयाँ लुगा लगाएर साथीहरुलाई देखाउने , सपना एकजोर नयाँ जुत्ताले सिंगो गाउँ नै उफ़्रि उफ्रि हिँड्ने, सपना अर्को साल नयाँ कक्षामा चढ्दा नयाँ किताब नयाँ झोलामा हालेर स्कुल जाने (अक्सर पुरानै किताबले धेरै कक्षाहरु पार गरियो), यस्तै यस्तै थुप्रै थुप्रै रहरका सपनाहरु देखें र टुटाएँ। हो, अभाबको डोरीमा झुण्ड्याएर कैयौ कलिला इच्छाहरुको हत्या गरें र मनलाई मसानघाट बनाएर जलाईरहेँ रहरका चिताहरु! जब हुर्कँदै गैयो, समाजमा छोरीहरुलाई गरिने बिभेदको बृतचित्र आँखा भरि भरि घुम्न लागे, धनीले गरिबलाई माया गरी गरी शोषण गरेका सामन्ती ब्यबहारहरुले मेरो मगज पिट्न थाले, गरिब, दलित र दमितहरुलाई जनावर भन्दा पनि तल्लो स्तरमा ब्यबहार गर्ने मेरो समाज अनि परिवर्तनका नाममा नागरिकलाई दास बनाएर आफू मालिक बन्दै सिँहदरबार छिरेर जनताको आवाज कुल्चने पुँजिपति नोकरशाहहरु देखेर मनभित्र बिद्रोहका ज्वारभाटा उठ्न थाले।

SLC पछि घरको दुख बुझेर पढ्दै आफैं कमाउने निर्णय गरियो। प्राईभेट स्कुलमा काम गरें, रेडियोमा बोलें (पाथीभरा एफ एम दमक), एयर होस्टेजको तालीम पनि सिकें, तर जतापनि नाताबाद कृपाबाद र राजनीतिको अमिलो गन्ध भेटिँदो रहेछ ! त्यति बेलैदेखि अब यसरी चल्दैन, देशको सिस्टम परिवर्तन हुनुपर्छ जस्तो लाग्न थाल्यो। जति दुख गरेपनि दिनमा एकप्लेट मम खान तिनचोटी सोचेर चारचोटी गोजी छाम्नु पर्ने पीडा महसुस गर्ने मान्छे मैं हुँ, पैसा नभएर काठमाण्डौका गल्लीमा भोकभोकै हिँडने पनि मै हुँ, क्षमता भएर र हातमा सर्टिफ़िकेट बोकेर पनि अवसर नपाएको मै हुँ । परिक्षामा बल्ल बल्ल पास भएको साथी सोर्स फोर्सकै भरमा हाकिम हुँदा बिशिष्ट श्रेणीमा पास भएर नोकर हुन पनि लायक नभएको मै हुँ ! तसर्थ नाताबादी कृपाबादी, सोर्सफोर्सवाला लाई Boycott गरेर संभावना भएका पढेलेखेका युवाहरु मिलेर देश चलाउनु पर्छ भन्ने पनि मै हुँ र अन्त्यमा केहि सीप नलागेपछि देशै छोडेर हिँडेको पनि मैं हुँ।

यतिबेला सगरमाथाको अग्लो देशबाट उच्छिटिएर युद्दले ध्वस्त बनाएको हिरोशिमा नजिकैको खडेरीमा मेरो उमेर, क्षमता र सपनाहरु पत्रपत्र चोईटिएर खसिरहेछन् अनि स्वाभिमान र समृदिको ब्यानर बोकेर निधारमा ठिँग उँभिएको छ मेरो देशको निकम्मा सरकार ! हिरोशिमा र नागासाकी मलाई गिज्याउँछ बेपरवाह ,लोपार्छ सगरमाथाको नाक अनि हाँसो ठोक्छ बुद्दको तिलौराकोटतिर फर्केर..! तब आफ्नो देशको स्थितिको बारेमा ठूलो स्वरले चिच्याएर बोल्न मन लाग्छ, देश चुस्ने सबका सब जुकाहरुलाई गालि दिन मन लाग्छ । उता सगरमाथाको नाकमा टेकेर लुम्बिनीको काखमा पिसाब फेर्ने परिवर्तनका नायकहरु, मेरो आवाज सुनेर रन्थनिएका नेताका भरियाहरु र केहि थान भ्रस्टका दुईनम्बरी भक्तहरु मलाई भगौडा भन्छन्, मैदानमा आईज बिदेशबाट नभुक भन्छन् , मेरो फोटो दुरुपयोग गरेर मनपरी बोल्छन्,मैले दुईछाक भात खाको हेर्न नसकेर मलाई जापानबाट डिपोर्ट गर्न Conspiracy Theory डिजाईन गर्छन् केहि अप्रमाणित तर स्वघोषित बुद्दिजिबी झोलेहरु। यिनीहरुलाई के थाहा हिँजो म को थिएँ भनेर ..!

यहाँसम्म आईपुग्न मेरो जीवनप्रति एकथोपो योगदान नभएकाहरु ,मलाई नजिकबाट नबुझेका हरु, मलाई बुझेर पनि बुझ पचाएकाहरु , नेतालाई भोट दिने बेला बाख्रो खाएर अहिलेसम्म भुँडी नघटेकाहरु , सत्य बोलेकै भरमा मेरो मासु काटकुट पारेर कुकुरलाई खुवाउँने योजना बुन्ने केहि लठैतहरु आजभोलि लुकिलुकि मलाई भन्छन्_ तँ अराजक होस्, तँ फटाही होस्, तँ पागल होस्, तँ उग्रबादी होस्, तँ देश छोडेको भगौडा होस्, तँ गफमात्र गर्ने तर काम केहि नगर्ने होस् , तँ ह्यान् होस् तँ त्यान् होस्, यस्तै यस्तै भन्छन्।

– अनि मेरो अनुहार हेरेर मेरो दिलको उतारचढाब र धड्कनको गर्मी छाम्म सक्ने एउटै मात्र ब्यक्ति मेरी आमालाई सोध्छु, “आमा केहि मानिसहरु मलाई यस्तो भन्छन्। यिनीहरुको के खाईदेको छ मैले? “ आमाले भन्नुहुन्छ, “ हो,तिमी अराजक हौ,फटाही हौ, पागल हौ, छाडा हौ, तिमी उग्रबादी हौ, तिमी ह्यान् हौ तिमी त्यान् हौ त्यसकारण तिमी सिँगो मान्छे हौ। म सिँगो मान्छेलाई औधी प्रेम गर्छ“