आमाको किरिया बसेका यी दुइ छोरीलाई सलाम छ

आफ्नै बाबुले आमाको शरीरमा दागबत्ती दिन नमानेपछि आमाको किरिया बसेका यी दुइ छोरीलाई सलाम छ (हेर्नुहोस भिडियो)

पिएनपिखबर, भक्तपुर : चाँगुनारायण नगरपालिका–९ ताथली सौडोलका अबिबाहित २३ वर्षीया प्रभा गिरी र १९ वर्षीया प्रमिता गिरी गत ७ गते बिहीबार राति आफ्नै आमाको शरीरमा दागबत्ती दिएर आमाको किरिया बसेका छन्।

विसं २०४८ मा चाँगुनारायण नगरपालिका–४ की पार्वती गिरिसँग मागी विवाह गरेका ताथली– ९ का हरिबहादुर गिरीले कान्छी श्रीमती भित्र्याएपछि भने पार्वतीको दुर्गती शुरु भएको उनका मामा गोपाल बताउछन्।

भक्तपुर क्यान्सर अस्पतालमा पाठेघर क्यान्सरको उपचारका क्रममा निधन भएपछि पार्वतीको शव भक्तपुर नगरपालिका हनुमानघाटस्थित दशनामी समुदायको समाधिस्थलमा दाहसंस्कारका लागि लगेर खबर गर्दा पनि नआएपछि गुठियारले गएर ल्याएका पति हरिबहादुरले मृतक श्रीमतीको पार्थिब शरीरमा दागबत्ति दिन्न शनिबार दक्षिणकाली जानु छ भन्दै छोरीहरुको अनुहार समेत नहेरी फर्किएको छोरीहरु बताउँछन् ।

“आमाको पार्थिव शरीरमा दागबत्ती दिएर एक मुठ्ठी माटो समेत नदिने निर्दयी बाबुले श्रीमतीको किरिया पनि बस्दिन, जूठो पनि बार्दिन भनेपछि दागबत्ती दिएर आमाको अन्तिम संस्कार गरी हामी दुई छोरी नै आमाको किरियामा बसेका हौ”, गहँभरी आँशु पार्दै जेठी छोरी प्रभाले भनिन् ।

सानो सौतेनी भाईहरुलाई चक्लेट खाने कुरा दिदा हामिलाई नि दिन्छ कि भन्ने आसमा बुबाको मुख हेरी बस्दा मेरो छोरी नै होइन भन्ने बस्थे तर बुबाले तिमिहरु मेरो कोहि पनि होइन भनेर जाने गरेको दुबैछोरी बताउँछन् । जेठी छोरी प्रभा भन्छिन्–“बुबाले कान्छी आमा ल्याउँदा म सानै थिए, मेरी बहिनी त आमाको गर्भ मै थिई, मरो आमालाई घरबाटै निकाल्न खोजेका थिए, आमालाई धेरै नै शारीरिक तथा मानसिक यातना भोग्नु प¥यो, आमाको बलजफ्तीले छिढीँमा एउटा कोठा बारेर बाससम्म पाइन, हामी दुई दिदीबहिनी भने मामाघर मै हुर्कियौ ।”

आफ्नो नागरिकता बनाउन बुबाको नागरिकता माग्न जाँदा पनि बुबाले छोरी त भकारो सोरेर बस्ने जात किन चाहियो नागरिकता भन्दै झगडा गर्न थालेपछि जेठी छोरी प्रभाले वडा कार्यालयमा गाउको ७ जना सर्जिमीन राखी दुवैको जन्म दर्ता र नागरिकता बनाएको जेठी छोरी प्रभा बताउछिन।

हेर्नुहोस भिडियो