पूर्वराजाको मर्यादाक्रम के, जवाफ देऊ ओली सरकार ?

काठमाडौं, १५ चैत । नेपाल कम्युनिष्ट पार्टी नेतृत्वको केपी ओली सरकारले विखण्डनवादी स्वतन्त्र मधेश गठबन्धनका संयोजक सिके राउतसँग फागुन २४ गते ११ बुँदे सहमति गर्नु र फागुन २८ गते नेत्रविक्रम चन्दले नेतृत्वगरेको नेपाल कम्युनिष्ट पार्टीका गतिविधिलाई प्रतिबन्ध लगाएपछि राजनीतिक क्षेत्रमा एक प्रकारको तरङ्ग उत्पन्न भएको छ ।

सत्ताधारी दल नेपाल कम्युनिष्ट पार्टीका केही नेताहरु र प्रधानमन्त्री केपी ओलीको सेनामेनाहरुले चन्द समूहसँग पूर्व राजालाई जोडेर अनेक प्रकारका हल्लाहरु फैल्याउन थालेका छन् । पूर्वराजा अहिले मात्र होइन पहिला पनि जिल्ला भ्रमणमा निस्कने गरेका थिए । जिल्ला भ्रमणमा जाँदा पूर्व राजाले विभिन्न देवी देउताको दर्शन समेत गर्ने गरेका छन् ।

संविधानत पूर्वराजा साधारण नागरिक भइसकेको अवस्थामा सत्ताधारी दलका केही नेताहरु र प्रधानमन्त्री ओलीका सेनामेनाहरुले पूर्वराजा र नेत्रविक्रम चन्दको साँगाँठ रहेको झुठा आरोप फैलाइरहेका छन् । संविधानले राष्ट्रियता, राष्ट्रिय अखण्डता र सार्वभौमसत्ता बाहेकका अन्य सबै कुरालाई परिवर्तनीय मानेको छ ।

यी तीन कुरा बाहेक अन्य सबै कुरा जनताले चाहेको खण्डमा परिवर्तन गर्न सकिने अधिकार संविधानले नै दिएको हुनाले शान्तिपूर्ण रुपमा पूर्वराजाले देश भ्रमण गर्न उनको अधिकार हो ।

पूर्वराजालाई सरकार र राजनीतिक दलहरुले अहिलेसम्म पूर्व राष्ट्राध्यक्षको हैसियतसम्म प्रदान गर्न सकेका छैनन् । सरकारले हालै सार्वजनिक गरेको मर्यादा क्रममा पूर्व राजाको हैसियत कहिँकतै उल्लेख गरिएको छैन ।

पूर्वराष्ट्रपति, पूर्व उपराष्ट्रपति, पूर्व प्रधानमन्त्री सहितको मर्यादाक्रम तोकिएको भएपनि सरकारले पूर्वराजाप्रति पूर्वाग्रह राखेर मर्यादा क्रम नतोकि पूर्वराजाप्रति प्रतिरोध साँधिनु बाहेक अन्य केही हुन सक्दैन ।

सत्ताधारी दलका नेताहरु र प्रधानमन्त्री ओलीका वरिपरि घुम्ने सेनामेनाहरुले पूर्वराजा र नेत्रविक्रम चन्द समूहको साँठगाँठ रहेको छ भन्नु आफैँमा आपत्तिजनक रहेको छ ।

तत्कालिन संविधानसभाले जनताको राय वेगरै राजतन्त्रलाई हटाएपछि त्यसलाई स्वीकार गर्दै तत्कालिन राजाले राजदरबार त्यागेको इतिहास साक्षी रहेको छ । २४० वर्षको इतिहासलाई त्याग्न सक्ने पुर्वराजाले जनताको इच्छा विपरितका कार्य गर्ने कुरामा कसैले विश्वास गर्न सक्दैनन् ।

तत्कालिन गृहमन्त्री रामचन्द्र पौडेलले समेत हालै नेत्रविक्रम चन्द र पूर्वराजाबीच साँठगाँठ भएको आरोप लगाएका छन् । तिनै पौडेलले एक समयमा प्रचण्ड भनेकै तत्कालिन राजा ज्ञानेन्द्र हुन् प्रचण्ड भन्ने मान्छे नै छैनन् भन्ने अभिव्यक्ति गृहमन्त्री हुँदै दिएका थिए । तिनै पौडेलले अहिले चन्द र पूर्वराजाबीच साँठगाँठ रहेको आरोप लगाउनु स्यालको हुइँयाबाहेक अन्य केही हुन सक्दैन ।

केपी ओली नेतृत्वको सरकारले आफ्नो असफलता र अकर्मण्यता लुकाउनका लागि अनेक प्रकारका अफवाह फैलाउँदै आएको छ । स्वयम् प्रधानमन्त्री ओलीले भन्न थालेका छन् अब राजतन्त्रका बारेमा कुरा नगर्नुहोस् भनेर ।

संविधानले राजतन्त्रका बारेमा बोल्न नपाइने भनेर कहिँकतै भनेको छैन जनताले चाहेको खण्डमा मुलुकमा राजतन्त्रको स्थापना हुन सक्छ त्यसलाई कसैले रोक्न सक्ने अवस्था रहँदैन, संविधानले व्यवस्था नै नगरेका विषयहरुमा समेत छलफल र बहस भएर निर्णय गरिने गरेका हाम्रै धेरै उदाहरणहरु रहेका छन् भने संविधानले अपरिवर्तनीय भनेका विषयहरुबाहेकका विषयमा किन बोल्न, लेख्न र आफ्ना पक्षमा जनमत सिर्जना गर्न नपाइने रु

आफ्नो असफलता र अकर्मण्यतालाई लुकाउनको लागि अर्कालाई गाली गर्नुको कुनै अर्थ रहँदैन । जनताले चाहेको खण्डमा संविधान संशोधन हुन सक्छ । संविधानमा लेखिएका अक्षर ढुँगाका होइनन् भन्ने हेक्का सत्ताधारी दल र प्रधानमन्त्रीका सेनामेनालाई होस् ।

सरकारले नेत्रविक्रम चन्दलाई प्रतिबन्ध लगाउने निर्णय मन्त्रिपरिषद्को बैठकबाट गर्नुपर्ने आवश्यकता नै थिएन । फौजदारी ऐन कानुन र विद्यमान कानुनबाटै विध्वसात्मक कार्य गर्नेहरुलाई कारबाही गर्न सकिने अवस्था हुँदाहुँदा मन्त्रिपरिषद्को बैठकबाटै निर्णय गर्नु प्रचलनमा रहेका ऐन कानुनहलाइृ सरकारले स्वीकार गर्नु नसक्नु नै हो ।

हिंसात्मक कार्यले कसैको भलो हुँन सक्दैन, जनताले विकास निर्माणका कार्यहरु खोजेका छन् । तीव्र रुपमा विकासको आवश्यकता भएका बेला कसैलाई निषेध गरेर पार्टीगत स्वार्थमात्र पूरा गर्न खोजिएको खण्डमा त्यो क्षणिक हुन सक्छ त्यसैले पूर्वराजालाई गाली गर्नु र धम्क्याउने प्रयास गर्नुभन्दा उनलाई पूर्व राष्ट्राध्यक्षको मर्यादाक्रममा राखेर उनको समेत विश्वास लिएर सरकार अघि बढेको खण्डमा नेपाली जनताको हित हुन सक्छ ।

पछिल्लो समयमा प्रधानमन्त्री ओलीले राष्ट्रिय प्रजातन्त्र पार्टीलाई समेत धक्याउन थालेका छन् । हालै राप्रपाले मेची महाकाली यात्रा गरेर राजतन्त्रसहितको लोकतान्त्रिक व्यवस्थासहितको हिन्दुराष्ट्रको पक्षमा जनमत बनाउँदै गएपछि सत्ताधारी दल र नेपाली कांग्रेसका केही ढटुवा नेताहरु आक्रोशित हुँदै झुठा अफवाह फैलाउन लागेका छन् ।

तर अफवाह फैलाउनेहरु जनताले नै चुनावमा हराईदिएका हुनाले उनीहरु अहिले पानी बेगरको माछाजस्ता भएकाले छटपटाउन थालेका छन् । त्यहीमध्येका एक हुन् रामचन्द्र पौडेल । अभियान साप्ताहिकका साथमा ।