जनकपुरको जानकी मन्दिर एक पौराणिक थलो (भिडियो)

नेपालको जनकपुरमा अवस्थित जानकी मन्दिर धार्मिक पर्यटनको एक महत्वपूर्ण स्थल हो । हिन्दु धर्मावलम्बीहरुको पवित्र र प्रख्यात तिर्थस्थल जानकी यो मन्दिर अहिले विश्व सम्पदा सूचीमा सूचीकृत हुनका लागि प्रतिक्षारत छ ।

निकै महत्वपूर्ण मानिएको जानकी मन्दिर विश्व सम्पदा सूचीमा अहिलेसम्म नपर्नु आश्चर्यको विषय छ तापनि यस मन्दिरलाई नेपाल सरकारले विश्व सम्पदा क्षेत्रमा सुचिकृत गर्न प्रयास जारि राखेको छ ।

मुगल शैलीमा बनाइएको मन्दिरलाई कलाको उत्कृष्ट नमुना मानिन्छ । हिन्दु धर्ममा लोकप्रिय रहेको रामायणकी सीताको जन्मस्थलमा निर्मित यो मन्दिर सन् १८९४ मा शिलान्यास भई सन् १९११ मा निर्माण पूरा भएको थियो ।

जानकी मन्दिरको वर्तमान अवस्था मन्दिर निर्माणको सवा सय वर्ष जति मात्र भए पनि यसमा स्थापित राम-जानकीका प्रतिमा झन्डै सात सय वर्ष पुराना भएको संस्कृतिविद्को भनाइ छ ।

विसं १४१७ मा भारतको राजधानस्थित लोहागढबाट जनकपुर आएका आदि महन्थ सुरकिशोरदास वैष्णवले राम जानकीको प्रतिमा फेलापारेको बताइन्छ । १७८४ मा मकवानपुरका राजा मानिक सेनले जानकी मन्दिरको नाउँमा १४ सय बिघा दान दिएको लिखत अझै छ ।
जानकी मन्दिर भारत मध्य प्रदेशस्थित टिकमगढकी राजकुमारी वृषभानु कुँवरीले ९ लाख चाँदीका असर्फी खर्चेर निर्माण गराएकाले यसलाई नौलखा मन्दिर पनि भनिन्छ ।

यहाँ हरेक वर्ष चैत्रमा रामनवमी, वैशाखमा जानकी नवमी, मंसिरमा रामजानकी विवाह महोत्सव, असोज पूणिर्मामा कोजाग्रत, फागुनमा झुला परिक्रमा लगायतका पर्व मनाइन्छ । यी पर्वहरुमा नेपाल र भारतबाट लाखौं भक्तजन जनकपुर आउने गर्दछन् ।

भिडियो