लोक गायक बद्री पंगेनी दुबई युएईमा आउने

लालबहादुर ढेंगा, दुबई, युएई

दुबई । राष्ट्रिय लोक दोहोरी प्रटिष्ठान नेपालका अध्यक्ष तथा चर्चित लोक गायक बद्री पंगेनी एउटा बिशेष सांगीतिक कार्यक्रमका लागि यहि २९ र ३० मार्चका दिन दुबईलाई संगीतमय बनाउन आउने भएका छन् । विगत ३ महिनादेखि बरदुबईको रेन्ट्री होटलको कम्पाउण्डभित्र संचालनमा आएको नशा लोक दोहोरी सांझको बिशेष निमन्त्रणामा आउने भएको हो ।

भर्खरै मात्र संचालनमा आएको उक्त दोहोरी सांझले प्रवासको भूमिमा पनि आफ्नो देशको कला, संस्कृति, भेष भूषा, खान र पानको स्वादलाई उजागर गर्दै संगीतका पारखीहरुलाई सांगीतिक माहौलमा रंगाउदै आएको पाईन्छ । सांगीतिक कार्यक्रममा अतिथि कलाकार बद्री पंगेनी, नारायण न्यौपाने, घमिन्द्र राना, चिज गुरुङ, लिलाराम सुस्लिम, निशान चौधरी, साधुराम रोका, अम्विका पुन, शुशिला गुरुङ, प्रतिभा सापकोटा, पूर्णिमा गुरुङ र रन्जिता लामाको वेजोड प्रस्तुतिहरु रहने छन् ।

खासगरी भन्ने हो भने गायक पंगेनीका लागि दुबई नौलो रहेन । उहांका लागि दुबई पानी पढेरो जस्तै भई सकेको छ । हेर्दामा गहुं गोरो आर्कषक चेहरा र सुरिलो स्वरले युएईका दर्शकहरुको मन जित्नमा सफल भएका छन् । सबैको लोकप्रिय गायक दुबई आउने खबरले शुभचिन्तक र पाहुनाहरुमा निकै उत्साह देखिन्छ । फेरि पनि एक पटक दुबईको सहरमा गायक पंगेनी छाउने भएका छन् ।

नशा लोक दोहोरी सांझका संचालक हरि खड्का र प्रविन लामाले यस्ता खालका कार्यक्रमले पाहुना र कलाकारहरुको बिचमा नयां आयाम थपिने बताएका छन् । कार्यक्रमलाई मनोरञ्जनात्मक बनाउनका लागि आयोजकहरु तमतयारीमा लागिपरेका देखिन्छ । पाहुनाहरुका लागि बिशेष रुपमा प्रवेश निःशुल्क गरिएको छ भने सोही दोहोरी सांझका मनैजर, कार्यक्रम प्रस्तोता र लोक गायक नारायण न्यौपानेले युएईस्थित कार्यरत सम्पूर्ण दाजुभाई तथा दिदीबहिनीहरुलाई यसै समाचारको आधारमा उपस्थितिका लागि आग्रह समेत गरेको छ ।