‘यात्रा’ युनिटको होली हंगामा, बुधबार दर्शकका साथ

काठमाडौं, ५ चैत्र । यो हप्ता रङहरुको पर्व होली । पूर्णिमाको दिन पर्ने पर्व भएकोले यसलाई फागू पूर्णिमा पनि भनिन्छ । होली बुधबार पहाडमा र बिहीबार तराईमा मनाइँदैछ ।

तर, नेपाल चलचित्र ‘यात्रा’ युनिटले मंगलबार नै होली मनाएको छ । चैत्रको अन्तिम साता अर्थात् २९ गते रिलिज हुने फिल्म ‘यात्राः अ म्युजिकल भ्लग’ युनिटले बुधबार दर्शकसँग होली मनाउने भन्दै मंगलबार नै युनिटका सदस्यसँग होली खेलेको हो ।

चलचित्र युनिटले मंगलबार सार्वजनिक गरेको भिडियोमा चलचित्र युनिट रङहरुसँग रमाइरहेको देखिन्छ । राइजिङ स्टार सलिन मान बनियाँसँगै रङहरुसँग रमाइरहेका डेब्यू गर्ल मलिका महत, जान्हवी बस्नेत, प्रेक्षा बज्राचार्य, रेयर राई पनि भिडियोमा देखिएका छन् । साथमा विशाल सापकोटा, निर्देशक सम्राट शाक्य, प्रस्तुतकर्ता चिजकुमार श्रेष्ठ, निर्माता सुशील पोखरेल, प्रोडक्सन म्यानेजर मनोज जोशी, द्वन्द निर्देशक हिमाल केसी लगायतले होली मनाएका छन् ।

चलचित्र युनिटले बुधबार काठमाडौंका विभिन्न स्थानमा पुगेर दर्शकसँग होली खेल्ने योजना बनाएको बताइएको छ ।

यसअघि आफ्नै सर्कलमा मात्र होलीमा रमाउने नायक सलिनमान बनियाँ यसपटक मिडिया र दर्शकसँग होली खेल्न उत्साहित देखिएका छन् ।

बुधाबार गैरीधाराको रोयल एम्पायर होटेल, सिटी फ्ल्याश स्विमिङ पुल भक्तपुरसँगै नयाँ बानेश्वरमा आयोजना हुने रेडियो अडियो होली कार्यक्रममा सलिनसँगै सिंगो चलचित्र युनिट उपस्थित हुनेछ ।

साथै, उपत्यकाका विभिन्न मिडियाको आयोजना रहने होली कार्यक्रममा सहभागी भएर होली खेल्ने निर्देशक सम्राट शाक्यले जानकारी दिए ।

भिडियो