‘हाम्रो नेपाली समाज’ वेष्ट मिडल्याण्डले बालबालिकाका लागि नेपाली भाषा कक्षा सञ्चालन गर्यो

युके। पछिल्लो समयमा बेलायतको धेरै ठाउहरुमा नेपाली कक्षा सञ्चालनमा आएका छन त्यस्तै बेलायतको वेष्ट मिडल्याण्डस्थित नेपाली समुदायमा पनि बालबालीकाहरुको लागी नेपाली भाषा कक्षा सञ्चालन गरिएको छ ।

नेपाली संस्था ‘हाम्रो नेपाली समाज’ वेष्ट मिडल्याण्डले त्यहाँस्थित नेपाली बालबालिकाहरुको लागि यहि मार्च १७ गते आइतबारदेखि नेपाली भाषा कक्षा सञ्चालन गरेको हो ।

३६ जना नेपाली विद्यार्थी रहेको सो कक्षा सञ्चालनको संयोजन आरसी भुषालले गरेका छन् ।

समाजका अध्यक्ष शिव खरेल र निवर्तमान अध्यक्ष मिलन सापकोटाले पानसमा बत्ती बालेर सुरुवात गरेको भाषा कक्षाको सफलताको लागि बेलायतका लागि नेपाली राजदूत डा राजदूत दुर्गा बहादुर सुवेदीले टेलिफोनबाटै शुभकामना मन्तव्य दिएका थिए ।

कक्षा संचालन सुरु गर्दै संस्थाका अध्यक्ष शिव खरेलले नेपाली भाषाको प्रवर्द्धनका लागि समाजको सक्रियतामा भाषा कक्षा सञ्चालन गरिएको जानकारी दिए । कार्यक्रमको संचालन डा कृष्ण सापकोटाले गरेका थिए ।

बालबालिकाहरुको लागि निशुल्क रुपमा सञ्चालित सो कक्षामा बिन्दु सापकोटा, लक्ष्मी खरेल, सम्झना न्यौपाने, गोमा पौडेल, आर्य शर्मा, गुरु भण्डारी, साबि पाण्डे, मनुक कंडेल, सरस्वती खत्री र सीता लामिछाने स्वयम्सेवक शिक्षिकाको रुपमा कार्यरत रहेको बताइएको छ।