गीतबाटै जसितालाई फकाए प्रदीपले, लभ स्टेशनको मेरो आँगनी रिलिज

काठमाडौं, ४ चैत
नयाँ वर्षको अबसर पारेर २२ चैतबाट देशव्यापी सिनेमा हलमा प्रदर्शन हुने चलचित्र ‘लभ स्टेशन’को नयाँ गीत मेरो आँगनीमा आज जुन उदायो…को भिडियो सोमबार रिलिज गरिएको छ । बुढासुब्बा मुभिज युट्युव च्यानलबाट सोमबारसाँझ यो गीतको भिडियो रिलिज गरिएको हो ।
चलचित्र लिली बिलीका लोकप्रिय जोडी अभिनेता प्रदीप खड्का र अभिनेत्री चलचित्र जसिता गुरुङ अभिनित चलचित्र ‘लभ स्टेशन’को यो गीतमा यिनै दुई जोडीको सम्बन्धलाई देखाईएको छ।

अभिनेता प्रदीपका अनुसार उनी यो चलचित्रमा एउटा लोक व्याण्डका भोकलिस्ट (गायक) हुन्छन् । यो गीतबारे उनले भने,‘लभ स्टेशन क्याफेमा म आफ्नो ब्यान्ड सहित गायनको तयारीमा हुन्छु । सोही क्याफेमा जसिताको आगमनपछि मैले उनको प्रसँसा यो गीत गाउँछु ।’ यो चलचित्रमा आफु कुनै स्टार कलाकार नभएर क्षेत्रीय तहको एउटा गायकको भूमिकामा रहेको पनि अभिनेता प्रदीपले जानकारी गराएका छन् ।

बरिष्ट संगीतकार शम्भुजीत बासकोटाको संगीत रहेको यो गीतमा युवा गायक सुरेश लामाको स्वररहेको छ । गीतलाई लभ स्टेशनका निर्देशक उज्ज्वल घिमिरेले लेखेका हुन् । ‘सफ्ट फ्लेबर’को यो गीतले अहिले दर्शकको राम्रो प्रतिक्रिया पाएको छ ।

चलचित्रमा यो गीत मार्फत अभिनेता प्रदीपलाई गायकको रुपमा स्थापित गराईको यसका प्रस्तुतकर्ता गोविन्द शाहीले जानकारी गराए । चलचित्रको रिलिज मिति नजिकिँदै गर्दा आफुहरु प्रचार प्रसारमा व्यस्त रहेको पनि प्रस्तुतकर्ता शाहीले जानकारी गराए । उनका अनुसार लभ स्टशन टिमले मँगलबारदेखि मोफसलको यात्रा पोखराबाट सुरु गर्दैछ ।

यो चलचित्रमा प्रदीप र जसितासँगै रमेश बुढाथोकी, प्रकाश शाह, रेशु भट्टराई, बिनोद कुमार पौड्याल, प्रिया रिजाल, सरु बिष्ट, रवी डंगोल, दिनेश काफ्ले, कालु रानासहितको अभिनय छ । लभ स्टेशनलाई काफिया फिल्मस्को व्यानरमा काफिया शाही (क्रिसु) र कविरबिक्रम शाहीले निर्माण गरेका हुन् ।

आलोक शुक्लाको छायाँकन रहेको लभ स्टेशनमा शम्भुजीत बासकोटा, दीपक शर्मा, राजनराज शिवाकोटी र एलिश कार्कीको संगीत छ । जसमा अर्जुन जिसी र लोकेश बज्राचार्यको सम्पादन, शिशिर खातीको कोरियोग्राफी रहेको छ । यो चलचित्रको निर्माण नियन्त्रकमा राजेन्द्र रावल छन् ।