‘राष्ट्र बेचेर खाने मन्त्री र उनीहरुका मतियारलाई लगाइनेछ प्रतिबन्ध’ हामीलाई होइन, : विप्लव भन्छन

काठमाडौँ। सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी नेकपालाई प्रतिबन्ध लगाएपछि विप्लव समूहले कडा शब्दमा प्रतिरोध गरेको छ ।

सरकारको प्रतिबन्धपछि एक विज्ञप्ति जारी गर्दै विप्लव समूहले प्रतिबन्ध आफूहरूलाई नभएर राष्ट्र बेचेर खाने, विदेशको दलाली गर्ने, भ्रष्ट, तस्करहरूसँग मिलेर जनताविरुद्ध जघन्य अपराध गर्ने अपराधी, राज्यका मन्त्री र उनीहरूका मतियारहरुलाई प्रतिबन्ध लगाउने जनाएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री राम बहादुर थापा ‘बादल’ले पनि अपराधीक षड्यन्त्र गरिरहेको विज्ञप्ति मार्फत आरोप लगाइएको छ । यसप्रति सबै देश भक्त, लोकतान्त्रिक, वामपन्थी, कम्युनिस्ट राजनीतिक शक्तिहरू, मानवअधिकारवादी, बुद्धिजीवी, पत्रकार, प्रहरी र सेनाले समेत ध्यान दिन आग्रह गरेको छ ।

विप्लव समूहले राष्ट्र र जनताका लागि लडेकाले चन्दा उठाउनुलाई आफ्नो नैसर्गिक अधिकार भएको समेत बताएको छ ।

जारी विज्ञप्तिमा भनिएकोछ, ‘हामीमाथिको कारबाहीलाई प्रधानमन्त्री केपी ओलीले चन्दामा लगेर जोड्नु भनेको आफ्नो भ्रष्ट अनुहारलाई छोप्ने तुच्छ तर उदाङ्गो खेल हो । हामीले कुनै विदेशी केन्द्रबाट पैसा हसुरेका छैनौं । कसैको दलाली गरेर कमिसन खाएका छैनौं । हामी आफ्नै बलबुतामा क्रान्ति गर्दैछौं । अरु कसैका लागि नभएर जनता र राष्ट्रको भविष्यका लागि लड्दैछौं भने चन्दा उठाउनु हाम्रो नैसर्गिक अधिकार हो ।’

अरुण तेस्रो र एनसेललाई आफूहरूले कारबाही मात्रै गरेको पनि विज्ञाप्तीमा जनाइएको छ । अरुण तेस्रो राष्ट्रघाति सम्झैता गरेर प्रधानमन्त्री ओली र गृहमन्त्री बादलले अर्बौ कमिसन खाएको गम्भीर आरोप समेत विज्ञाप्तीमा मार्फत लगाइएको छ।

संविधान अस्वीकार गरेदेखि नै सरकारले आफूलाई अघोषित रूपमा प्रतिबन्ध लगाएको विज्ञाप्तीमा उल्लेख छ । उसले राज्य दमनका क्रममा आफ्ना ३ कार्यकर्ता हत्या भएको र दर्जनबछि घाइते भएको समेत जनाएको छ। (न्युज२४नेपालको सहयोगमा)