नेपाल बन्द फागुन ३० गते, दमनको प्रतिरोध गर्न नेपाल कम्युनिस्ट पार्टीको आह्वान

काठमाडौं, २४ फागुन । नेपाल कम्युनिस्ट पार्टीले आफ्ना नेता/कार्यकर्ताको गिरफ्तारी, झूटा मुद्दा, कपिलवस्तुमा भएको गोलीकाण्ड, रोल्पा, र कालीकोटलगायत जिल्लामा भएको प्रहरी अप्रेसनका विरुद्ध यही फागुन ३० गते आमहडतालसहित नेपाल बन्द गर्ने घोषणा गरेको छ ।नेकपाका महासचिव विप्लवले फागुन २४ गते विज्ञप्ति जारी गर्दै चरणबद्ध आन्दोलनको र सङ्घर्षको कार्यक्रम घोषणा गरेका हुन ।

महासचिव विप्लवले बिग्याप्ति मार्फत सरकार परिवर्तनकामी जनतामाथि फासिष्ट स्तरको दमनमा उत्रिएको भन्दै डटेर त्यसको प्रतिरोध गर्न आह्वान गरेका छन् । सरकारले चलाएको ‘फासिष्ट दमन’ कसैगरी सहन गर्न नसक्ने पनि महासचिव विप्लवले स्पष्ट पारेका छन् ।

सरकारले देशैभर संकटकालको झल्को दिने गरी दमन र गिरफ्तार श्रृंखला मच्चाएको भन्दै उनले बिहीबार कपिलवस्तुको शिवगढीमा भएको सशस्त्र प्रहरीसहितको हतियारबन्द टोलीले छापा मारेको र स्थानीय युवक दुर्गाबहादुर रोकालाई बिनाकारण गोली हानेर घाइते बनाएको जनाउँदै घटनाको घोर भत्र्सना गरेका छन् । रोकालाई घरबाट नियन्त्रणमा लिई गाउँ घुमाएर सुन्दरी डाँडा जंगलमा लगेर पुर्याई गोली हानेको समेत विज्ञप्तिमा उल्लेख छ ।

सरकारकोे दमन, सेना परिचालन, गोलीकाण्ड र ज्यादाति रोक्न, देशभरबाट गिरफ्तार ने.क.पा.का नेता कार्यकर्तामाथि चलाएको अमानवीय यातना र झुठा मुद्दाविरुद्ध आउँदो फागुन ३० गते नेपाल बन्दको घोषणा समेत गरेका छन् ।

बन्द सफल बनाउन सबैसँग अपिल गरेका छन् । महासचिव विप्लवले शिवगढी जनताले गरेको सरकारको प्रतिरोधको प्रशंसा गर्दै प्रतिरोध देशैभरबाट अगाडि बढाउन अत्यावश्यक बनेको औल्याएका छन् । शिवगढी, राेल्पालगायत देशभर घटाइएका घटनाको निष्पक्ष अध्ययन, अनुगमन र सत्यतथ्य रिपोर्ट सम्प्रेषण गर्न संचारकर्मी, मानवअधिकारी, बुद्धिजीवि, नागरिक समाज, राजनीतिक दलहरुसँग आग्रह गरेका छन् । अखिल नेपाल महिला संज्ञ (क्रान्तिकारी) नेतृ बन्धु चन्द, अखिल नेपाल किसान संगठनका अध्यक्ष राजु कार्कीलगायत सयौं नेता कार्यकर्तालाई गिरफ्तार गरी यातना दिएको र झुठा मुद्दा चलाएको भन्दै तत्काल बन्द गर्न आग्रह गरेका छन् ।

‘गाउँगाउँमा सङ्कटकालको झल्को दिने गरी छापामार्ने, गिरफ्तार गर्ने, यातना दिने झूट्टा मुद्दा लगाउने कार्य गरिरहेको छ । हाम्रो पार्टी यो रक्तपिपाशु दमनको घोर भत्र्सना गर्दछ’ विज्ञप्तिमा भनिएको छ, ‘घाइते कमरेड दुर्गा रोकाको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछ । यी सम्पूर्ण राज्यआतंक, दमन, गोलीकाण्ड, गिरफ्तारी, झूट्टा मुद्दाप्रति सबै राजनीतिक शक्ति, मानवअधिकार, नागरिक समाज, बुद्धिजीविको ध्यान जाओस् भन्ने आग्रह गर्दछौँ ।’

देशभक्त र क्रान्तिकारीहरुलाई दृढ र निष्ठापूर्वक क्रान्तिलाई सफलतामा पुर्याउन प्रेरित गर्ने जिकिर विज्ञप्तिमा गरिएको छ । ने.क.पा. मुलुकमा चलिरहेको भ्रष्टचार, तस्करी, दलाली, अन्याय, बलात्कार, हिंसा र राष्ट्रघातका विरुद्ध शान्तिपूर्ण संघर्षमा जनताका साथमा अगाडि बढिरहेको स्पष्ट पार्दै महासचिव विप्लवले बरु सरकार त्यसको रक्षक बन्दै आएको बताएका छन् ।

सरकारले श्रमिक र मुक्तिकामी जनता र त्यसको नेतृत्व गरिरहेका पार्टीमाथि गर्ने दमन र गोली आतंकको प्रतिरोध गर्नु आपूहरुले कर्तव्य ठानेको पनि कुरा पनि उनले सगौरव उल्लेख गरेका छन् । दमनपछिको उत्पन्न परिणाम सरकारकै पराजय बन्ने पनि प्रष्ट्याएका छन् । ‘केपी–प्रचण्डले केही दिनदेखि धम्कीको भाषा बोल्न थालेको’ भन्दै उनले आपत्ति जनाएका छन् ।

घोषित कार्यक्रम अनुसार फागुन २५ र २६ मा प्रचार प्रसार, २७ गते देशभर कोण सभा, २८ गते र्याली, २९ गते साँझ मशाल जुलुस र ३० गते नेपाल बन्द रहेको छ । (न्युजअभियान बाट)