कल्पना महर्जनलाई सगरमाथा चढ्न ३० लाख दिएको भन्दै मेयर चिरुबाबु प्रति समाजसेवी बस्नेतको आक्रोश

बेवारिसे शब अनि बेसाहाराप्रति चिरिबाबुले बेवास्ता गरेको समाजसेवी बस्नेतको आरोप

ललितपुर: बेवारिसे व्यवस्थापन तथा पुनर्जीवन केन्द्रका अध्यक्ष तथा समाजसेवी विनयजंग बस्नेतले ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले बेवारिसे लाश र बेसहाराहरुप्रति बेवास्ता गरेको आरोप लगाएका छन । सगरमाथा आरोहणको लागि पर्वतारोही कल्पना महर्जनलाई महानगरले ३० लाख आर्थिक सहयोग गरेको तर समाजसेवामा नौलो आयामअन्तर्गत बेवारिसे शबको ससम्मान दाहसंस्कार गर्दै आएको आफ्नो संस्थालाई आश्वासन दिएपनि बेवास्ता गरेको भन्दै अध्यक्ष बस्नेतले आक्रोश पोखेका हुन्।

ललितपुर जिल्लाकी कल्पना महर्जनको सगरमाथा आरोहणमा आर्थिक सहयोग गर्न ललितपुर महानगरपालिका र एक्स्पेरियन्स आउटडोर्स नेपाल प्रालिबीच सम्झौता पत्रमा हस्तक्षर भएको थियो। महानगरले ३० लाख आर्थिक सहयोग गर्ने सम्झौता पत्रमा लेखिएको छ। सन् २०१८ मा दक्षिणी मोहोडाबाट सगरमाथा आरोहण गरिसकेकी कल्पनाले यसपटक उत्तरी मोहोडाबाट सगरमाथा आरोहण गरि महानगरको झण्डा सगरमाथाको चुचुरोमा फहराएको फोटो महानगरलाई बुझाउनुपर्ने सम्झौता भएको छ।

आफु पटकपटक संस्थाको काम लिएर महानगर पुग्दा मेयरले भेट्ने समय समेत नदिएको गुनासो गर्दै केहि संचारकर्मीसँग कुरा गर्दै संस्थाका अध्यक्ष बस्नेतले सहयोग पाउनको लागि महर्जन नै थर जोडेर आउनुपर्ने हो कि भन्दै नातावाद र कृपावादमा जनप्रतिनिधि अल्झिन नहुने स्पष्ट पारे। ऋण गरेर भएपनि समाजसेवामा लागेका बस्नेत सगरमाथा आरोहण गर्नको लागि १० लाख खर्च भए पुग्नेमा महानगर प्रमुखले हुकुमी शैलीमा जनताबाट उठेको करको रकम दुरुपयोग गरेको समेत बताए । त्यति रकम समाजसेवाको क्षेत्रमा आफुले पाएमा ४ बर्षसम्म देशभरका बेवारिसेलाई व्यवस्थापन गर्ने दावी समेत उनले गरे।

बेवारिसे व्यस्थापन तथा पुनर्जीवन केन्द्रले हालसम्म देशभरका १७० भन्दा बढी बेवारिसे शबलाई दाहसंस्कार गरिसकेको छ। उपत्यकामा कोहि पनि बेवारिसे भएर सडकपेटीमा बस्न नपरोस भन्दै बेवारिसेहरुको लागि बा-आमा घर निर्माण प्रक्रिया अन्तिम चरणमा पुगेको समेत अध्यक्ष बस्नेतले जानकारी दिए। बा-आमा घरको शिलान्यास कार्यक्रममा बिशेष अतिथिको रुपमा आएका महानगर प्रमुख चिरिबाबु महर्जनले बेवारिसेको व्यवस्थापनको लागि सहयोग गर्ने आश्वासन दिएको र पटकपटक फोनसम्पर्कमा समेत आश्वासन दिदै आएकोमा सहयोगको लागि भेट्न जाँदा समय नभएको भन्दै टार्ने गरेको उनले बताए।

समाजसेवी विनयजंग बस्नेत जनप्रतिनिधिले बेवास्ता गरेतापनि आफ्नो अभियान कहिल्यै नथाक्ने बताउछन्। निकट भविष्यमा नै काठमाडौँ उपत्यकाको सडकपेटीमा कोहि पनि बेवारिसे सडकपेटीमा रात गुजार्ननपर्ने वातावारण बनाउन आफु अहोरात्र खटिएको उनले बताए । ७७ वटै जिल्लामा शाखा विस्तार गरि देशभरि कोहि पनि बेवारिसे हुन नपरोस भन्ने उधेश्यले बेवारिसेको व्यवस्थापनमा सदा अग्रसर भएर लाग्ने उनले बताए। बस्नेतले बनाउन लागेको बा-आमा घर आश्रम उनको पैत्रिक जग्गामा बन्न लागेको हो।