नराम्रोसँग फसे प्रधानमन्त्री ओली सीके राउतलाई काँधमा बोकेर !

दिलनिशानी मगर,

लामो कपाल पालेका, शरीरको उचाइ पनि अग्लै भएका र फिल्मी शैलीमा जस्तो अदालत र प्रहरीसँग लुकामारी गरिरहेका सीके राउतको दैनिकी अनौठो रूपले अगाडि बढिरहेको थियो । शुरूआती दिनमा त्यस्ता किसिमका अनौठोपन जनताले निकै चासोका साथ हेरेका थिए । आखिर जिनिस हो चाहिँ को त भन्ने कुरामा बुद्धिजीवीका पगरी गुथेकाहरू समेत अन्योलमा परेका थिए । डेमोक्राटिक मिडियाहरूले त सीके राउतलाई चिनेका पनि थिएनन् ।

अभियन्ताका नाममा मधेशमा सीके राउतको आफ्नै किसिमको रजगज थियो । राउतले तयार पारेका मधेश स्वराजका अडियो, भिडियो, पर्चा र भाषणका अनेकौं प्रमाण हुदाँहुदै पनि उनलाई कारवाही गर्न अदालतले पर्याप्त प्रमाण भेटेको थिएन । उनलाई प्रहरीले कतिपटक पक्राउ गर्‍यो, कतिपटक छाड्यो त्यसको कुनै लेखाजोखा थिएन । अद्भुत पक्ष त यो थियो : ‘फ्रीडम अफ एक्स्प्रेसन’ को नाममा मानवअधिकारवादीहरूले पनि उनलाई काखी च्याप्न थालेका थिए । मधेश स्वराजका निम्ति फौजी कवाज खेलिरहेका राउतका विद्रोही युवकहरूको भिडियो सार्वजनिक भयो । स्वतन्त्रता संग्रामका चुनावी अभ्यासहरू हुन थाले । अनि बल्ल कुरा स्पष्ट भयो ।

आखिर किन यस्तो भयो त ?
प्रहरीले बारम्बार पक्राउ गर्ने र अदालतले बारम्बार छाड्ने सिलसिलाका समाचारहरू आउन थालेपछि सीके राउत को हुन् भन्ने जिज्ञासा सबैमा जाग्यो । त्यसभन्दा अगाडि उनी गुमनाम थिए । प्रोफेसनका हिसाबले उनी जो भए पनि उनलाई पब्लिकले चिन्दैनथ्यो । उनी नेपालका नेताहरूको नजरमा परिसकेका थिएनन् । मिडियाले चिनिसकेका थिएनन् । उनलाई नेपाल फर्काउने र स्वराज मधेशको राजनीतिमा होम्नुअघि ‘पब्लिक स्ट्याटस’ बनाइदिने ग्य्रान्ड डिजाइनअनुरूप नेपालको प्रहरी र अदालत नराम्रोसँग प्रयोग भए । र यसको मुख्य नेतृत्व ‘पश्चिमा शक्ति’ ले गरेका थिए ।

पश्चिमा शक्ति को हुन् त भन्दै गर्दा सोलोडोलोमा युरोप भन्ने बुझिन्छ । तर सीधा अर्थमा युरोपेली संघ भनेर बुझ्नुपर्दछ । मधेश स्वराजसँग पश्चिमाको के सरोकार थियो ? यसको कनेक्सन नेपालको राजनीतिक पद्धतिलाई नै चुनौती दिने योजनासँग जोडिन सक्छ तर तत्कालका लागि मधेशको उत्पीडनलाई नजिकबाट चिनेका, भोगेका, बुझेका र सबैभन्दा महत्त्वपूर्ण कुरा पढेलेखेका सीके राउत नै ‘मधेश स्वराज मिसन’का निम्ति उपयुक्त पात्र थिए ।

सीके राउत न वैज्ञाानिक थिए न नासाको पेशेवर जागिरे नै । साइन्समा अब्बल विद्यार्थीले थप अनुभव हासिल गर्नका लागि नासाको कुनै एक विभागमा भोलन्टीयर गर्ने अवसर पाउँछ । उनले केवल भोलन्टीयरको रूपमा तीन महिना काम गरेका थिए । तर राजनीतिक चेतले भरिपूर्ण राउतका लागि नासाको भोलन्टीयर काम चित्त बुझ्ने कुरै भएन । मधेशमा जनताले भोग्नुपरेका समस्या राज्यले पैदा गरेको हो र यो मधेशमाथि थोपरिएको दासत्व हो भन्ने उनको विचार थियो । मधेश स्वराजको मागबाहेक मधेशको उत्पीडनका विरुद्धको विद्रोह एक हदसम्म राजनीतिक थियो ।

राजनीतिक युद्धमैदानमा राउतलाई पूर्वप्रधानमन्त्री एवं त्यतिखेर नयाँ शक्ति पार्टीका अभियन्ता भनेर लोकवासीका नजरमा कहलिएका डा. बाबुराम भट्टराईले भरपूर सहयोग गरे । आफू पनि डाक्टर र सीके राउत पनि डाक्टर भएका कारण राउतलाई धरपकड नगर्न सरकारका नाममा वक्तव्यबाजी गरिरहेका थिए बाबुराम । अचानक बाबुरामले काखी च्याप्न थालेपछि सीके राउतसम्बन्धी झन् धेरै जिज्ञासा बढ्यो । त्यसबीचमा एक निजी टेलिभिजनमा स्वयं राउतलाई डाकेर मधेश स्वराजको बहस चलाउने काम भयो ।

सीके राउतलाई काँधमा बोकेर प्रधानमन्त्री ओलीले नेपाली सेनाको मोरल डाउन गरिदिएका छन् । र हजारौं सीके राउतहरूमा महत्त्वाकांक्षाको भूत चढाइदिएका छन् । राउतसँग सीधै वार्ता गरेर ओलीले आफ्नो मर्यादा भुलेका छन् । र विखण्डनको प्रयासलाई महत्त्व दिएका छन् ।
त्यस टेलिभिजन बहसमा सीके राउतले खुलेरै मधेश नेपालको हिस्सा कहिल्यै थिएन र लोकतान्त्रिक विधिमार्फत मधेश स्वराज ल्याएरै छाड्ने धारणा राखे । त्यसका निम्ति उनले योजनाहरू सुनाए । र ती योजनाहरूलाई विश्व समुदायले साथ दिने विश्वास व्यक्त गरे । उनको त्यो विवादास्पद एवं अलोकप्रिय धारणा टेलिभिजनमा पुनः प्रसारण समेत गरियो । यसो गर्नका निम्ति उनीहरूलाई पत्रकारिताको कुनै आचारसंहिताले छेकेन ।

मधेश स्वराजको विषयलाई लिएर विश्व परिघटनाको नजीरका चर्चाहरू पनि गरियो । जनताले चाहेमा मतदानमार्फत देशबाट अलग हुन सक्ने नयाँ भाष्यलाई स्थापित गर्न युरोपेली संघ लागिपरेको छ । यसको असर बेलायतमा पनि देखापर्‍यो । बेलायतको शासन रहेको उत्तरी आयरल्यान्ड पनि आइरिश रिपब्लिकमा नै गाभिनुपर्छ भन्ने मागसहित आईरिश रिपब्लिकन आर्मी (आईआरए) ले हिंसात्मक आन्दोलन चलाएको थियो । सीके राउतले पनि आईरिश रिपब्लिकन आर्मीको झल्को दिनेगरी आफ्ना गतिविधि अघि बढाए ।

यिनै यावत् कारणका बीच बेलायतले सन् २०१९ को मार्च २९ मा बेलायत ईयूबाट अधिकारिक रूपले बहिर्गमन हुने मितिको घोषणा गरेको थियो । लामो समयदेखि बेलायतले राज्य गर्दै आएको आयरल्यान्डमा सन् १९२० मा जनमतसंग्रह घोषणा भएको थियो । बहुमत क्याथोलिक रहेको दक्षिण आयरल्यान्ड बेलायतबाट अलग हुने जनमतसंग्रहपछि सन् १९२३ देखि स्वतन्त्र देश रहँदै आएको छ भने बहुसंख्यक प्रोटेस्टेन्ट क्रिस्चियन रहेको उत्तरी आयरल्यान्ड बेलायतको अधीनमा छ । यसका कैयौं आयामहरू छन् तर ‘मधेश स्वराज’ को मोडल लगभग यस्तै यस्तै थियो ।

प्रधानमन्त्री ओली फस्न पनि सक्छन्

सरकारको बढ्दो अलोकप्रियतासँगै केपी ओलीको साख पनि खुम्चिएको छ । जनताले मलाई राम्रो भनिरहेका छैनन् भन्ने कुरा उनलाई थाहा छ । यसबीचमा राष्ट्रवादी छवि खुम्चिएको हो कि भन्ने भान समेत उनलाई परेको छ । मधेशमा ओलीको नराम्रोसँग आलोचना हुने गर्छ । र कतिपयले त सीके राउत र केपी ओली उस्तै विचारधाराका मानिस हुन् भन्ने पनि गर्छन् । मधेश आन्दोलनका बेलामा मधेशी जनतालाई आँप झरेकोसँग तुलना गर्दै गर्दा साम्प्रदायिक दंगा मच्चाउन ओलीको बोली नै काफी थियो ।

विश्व राजनीतिमा केही फेरबदल आएपश्चात् खासगरी ट्रम्पको अहंकारी राष्ट्रवादको उदय भएपश्चात् विश्व राजनीतिमा फेरबदल आएको छ । वर्षौं लडेर पनि नजितेको अफगानिस्तानको जिम्मा कसलाई लगाउने भन्नेमा खासगरी ट्रम्प नेतृत्वको अमेरिका चिन्तित छ । असफल नै किन नहोस्, उत्तर कोरियाका शासक किम जोङ–उन र ट्रम्पको वार्ता देखेर युरोपेली संघ पनि दंग छ । साउदी अरबलाई अर्बौं डलरको हतियार बेच्दै गरेको अमेरिकाले भारतलाई समेत दिँदै आएको व्यापारिक छुट कटौती गरेको छ । जम्मु कश्मीरका मामिलामा भारतको प्रोक्सी वार मात्र हैन दैनिक सीजफायरहरू भइरहेका छन् ।

नेपालमा वितण्डा उत्पात गर्छु भनेर मुन्टो उचालेको युरोपेली संघ यो वा त्यो बहानामा ‘सेफ ल्यान्डिङ’ गर्नुथियो । अर्थात् सीके राउतलाई मूलधारको राजनीतिमा ल्याउनु थियो । यसका निम्ति मधेशवादी दलहरू विश्वासिला पात्र हुन सकेनन् । र अन्ततः केपी ओलीमार्फत प्रचण्डको समेत साख गिराउने गरी अत्यन्तै घिनलाग्दो हर्कत भयो । यसको मतलब यो हैन, सीके राउतसँग वार्ता गर्नै हुँदैनथियो वा उनलाई मूलधारमा ल्याउनै हुँदैनथ्यो । यसको मतलब यो हो, विदेशीको रणनीतिमा सरकार फस्ने हैन कि बरू सामना गर्नुपर्दथ्यो ।

यो कुरा सत्य हो – देशी, विदेशी योजनाका बावजूद केपी शर्मा ओलीले मधेश स्वराजको सपनालाई झन् बल थपिदिएका छन् किनभने राउतले जनमतबाट हुने फैसला अर्थात् स्वतन्त्रता संग्रामका लागि सरकार तयार भएको धारणा सामाजिक सञ्जालमा राखिरहेका छन् ।
सीके राउतसँग एउटै मञ्चमा बसेर प्रधानमन्त्री केपी शर्मा ओलीले राउतलाई मूलधारमा ल्याइदिएका छन् । र अनेकौं उपमा दिएर राउतको विखण्डनकारी अभियानलाई वैधानिकता दिएका छन् । ओलीले आफूसँगै अन्य नेताहरूलाई पनि फसाएका छन् । गृह मन्त्रालयको एउटा सचिवले गरे हुने काममा किन यति धेरै झकिझकाउका साथ शीर्ष नेताहरूको सहभागिताका बीचमा राउतलाई स्पेस दिइयो ? यसमा पनि धेरै रणनीति र कार्यनीतिहरू लुकेका छन् ।

खासगरी नेपालको गुप्चतचर विभागलाई भंग गरे पनि हुन्छ । गुप्तचरसँग सूचना छ र साहस छैन । त्यस किसिमको आँट छैन । हो, सीके राउतलाई राजनीति गर्न र मूलधारको राजनीतिमा आउन, आफ्नो समुदाय र वर्गका निम्ति आवाज उठाउन पूर्ण अधिकार छ । तर राउतका शंकास्पद क्रियालकाप र गतिविधिको हल नगरेसम्म वा उनलाई कानून अनुसारको उपचार नगरेसम्म उनीसँगको साँठगाँठले ओली कालान्तरमा फसन सक्छन् ।

सीके राउत प्रकरणले नेपाल कम्युनिस्ट पार्टीमा पक्कै पनि बहसको जन्म गराइदिएको छ । भीम रावल र जनार्दन शर्मा प्रभाकरहरू बोलिरहेका छन् । कति बोल्न मन भएर पनि गुटका कारण, लोभलालचका नबोलेका हुन सक्छन् । सबैभन्दा रहस्यमय कुरा त यो छ, शान्ति र अमनचयनको भाषण गर्ने ओलीले राजनीतिक शक्तिको रूपमा रहेको विप्लव, प्रकाण्डलाई लुटेरा भनेका छन् । प्रचण्डलाई सीके राउतसँग तुलना गरेका छन् । राउतका बारेमा अदालतलाई नचाउन सक्ने तर चुनाव जितेका रेशम चौधरीका बारेमा असाधारण मौन बसेका छन् ।

यो कुरा सत्य हो – देशी, विदेशी योजनाका बावजूद केपी शर्मा ओलीले मधेश स्वराजको सपनालाई झन् बल थपिदिएका छन् किनभने राउतले जनमतबाट हुने फैसला अर्थात् स्वतन्त्रता संग्रामका लागि सरकार तयार भएको धारणा सामाजिक सञ्जालमा राखिरहेका छन् । तत्कालका लागि यो छलकपटपूर्ण बहस गरेर टार्न सक्ने विषय भएपनि कालान्तरमा मधेश स्वराज मिसनका निम्ति इँटामाथि अर्को इँटा थप्ने काम भएको छ । अनुकूलता अनुसार यो मुद्दा चर्किरहनेछ ।

अर्को कुरा, मूलधारमा रहेका मधेशी दलहरूलाई किनारा लगाएर मधेशमा सिके राउतमार्फत राजनीति गर्छु भन्ने सपना कम्युनिस्ट पार्टीका नेताहरूले नदेखे पनि हुन्छ किनभने सीके राउतको दिमागमा अन्ततोगत्वा विखण्डनबाहेक अरू केही छँदैछैन । यो कुनै दिवास्वप्नको कुरा हैन । पार्टीभित्र विदेशीहरूले कसरी घुसपैठ गर्छन् र देशमा विखण्डन ल्याउँछन् भन्ने उदाहरण धेरै छन् । लिबियामा र इराकमा जे नहुनु थियो त्यो भयो । विदेशीकै चलखेलमा गद्दाफीको हत्या भयो, सद्दाम हुसेनलाई फाँसी चढाइयो । हतियारसहित सडकमा नाच्ने युवायुवतीले अहिले लिबियामा भोकमरी खेप्नुपर्दा बल्ल गद्दाफीको स्मरण गर्ने गरेका छन् । इराकी जनताले पनि सद्दाम हुसेनलाई धेरै मिस गरेका छन् ।

अन्तिममा, सीके राउतलाई काँधमा बोकेर प्रधानमन्त्री ओलीले नेपाली सेनाको मोरल डाउन गरिदिएका छन् । र हजारौं सीके राउतहरूमा महत्त्वाकांक्षाको भूत चढाइदिएका छन् । राउतसँग सीधै वार्ता गरेर ओलीले आफ्नो मर्यादा भुलेका छन् । र विखण्डनको प्रयासलाई महत्त्व दिएका छन् । एक हदसम्म भन्ने हो भने हालसम्म सीके राउतले गरेका सबै कुकर्महरूले वैधानिकता पाएको छ ।

(लेखकका यी निजी विचार हुन् ।)

(लोकान्तर बाट साभार)