टुडिखेलमा ७ दिने निःशुल्क योग तथा प्रवचन हुदैँ

काठमाडौं फागुन, — काठमाडौंको टुडिखेलमा सात दिने निःशुल्क योग तथा प्रवचन शिविर संचालन हुने भएको छ । मनोक्रान्ती केन्द्र नेपालले आफ्नो ३२ औं स्थापना दिवसको अवसर पारेर यहि फागुन २६ गतेदेखि चैत २ गते सम्म हरेक दिन विहान ६ः३० देखि ८ः३० बजे टुडिखेलमा नि शुल्क योग तथा प्रवचन शिविर गर्ने आज पत्रकार सम्मेलन मार्फत जानकारी गराएको हो ।
पत्रकार सम्मेलनमा योग गुरु तथा प्रवचक डाक्टर योगी विकाशानन्दले, आम नागरिकको परिर्वतित दैनिकी र व्यस्तताका कारण बढ्दो समस्याहरुबारे जानकारी गराउने एवं योग तथा प्राणायम मार्फत त्यसको निकाराकरण गर्ने उपाय खोज्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको जानकारी दिनुभयो। नयाँ खोज र विज्ञानको लागि समेत चुनौति बनिरहेका नसर्ने खालका क्रोनिक रोगहरूलाई योग तथा प्राणायामको माध्यमबाट निकारण गर्न सकिने भएकाले आम नागरिकलाई यसबारे सचेत गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको उहाँको भनाई छ ।
वातावरण र मानिस बीचको प्राकृतिक सम्बन्धलाई पुर्ववतरुपमा स्थापीत गर्न सके अझै पनि मानिसले मानसिक तथा शारीरिक रुपमा भोग्दै आएका समस्या समाधान हुने भन्दै मानिसलाई प्रकृतिको शक्तिसंग साक्षात्कार गराउन कार्यक्रम आयोजना गरिएको केन्द्रका महासचिव डाक्टर सुवाश घिमिरेले जानकारी दिनुभयो । एक हप्ते योग तथा प्रवचन शिविरमा हरेक दिन कम्तिमा एक हजार मानिस प्रत्यक्ष सहभागि हुने र टेलिभिजन तथा सामाजिक संजाल मार्फत दैनिक हजारौं मानिसले फाइदा लिने अपेक्षा गरिएको मनोक्रान्त्री केन्द्रका सचिव सुमन गिरीले जानकारी दिनुभयो ।
काठमाडौं बाहिरबाट योग ध्यान तथा प्रवचन शिविरमा सहभागि हुनेका लागि आवासको ब्यवस्था समेत मिलाइएको उहाँको भनाई छ । वि स २०४३ सालमा स्थापना भएको मनोक्रान्ति अभियान नेपाली मौलिक दर्शनको रुपमा योग ध्यान र प्रवचन मार्फत समाज परिर्वतनका लागि सक्रिय रहेको बताइएको छ ।