१६ करोडमा सेभेन लेक्स रिसोर्ट संचालनमा (फोटो फिचर)

पोखरा २२, फागुन – पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण तीव्र गतिमा अघि बढे संगै पोखराको पर्यटन क्षेत्रमा ठूलो लगानी थपिन थालेको छ । हालैमात्र पोखरा महानगरपालिका–२९ मा तीनतारे स्तरको सेवा सुविधा भएको सेभेन लेक्स रिसोर्ट सञ्चालनमा आएको छ ।

१६ करोड रुपैयाँभन्दा बढी लगानीमा रिसोर्ट सञ्चालनमा आएको संचालक विनोद गुरुङले जानकारी दिए । सञ्चालक गुरुङले नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी पोखरा क्षेत्रमा गुणस्तरीय पर्यटन प्रवर्द्धनका लागि रिसोर्ट सञ्चालनमा ल्याएका हुन् । ‘नेपाल भ्रमण वर्ष २०२० र अन्तर्राष्ट्रिय विमानस्थलका कारण रिसोर्टमा लगानी गर्न साहस जुटेको हो,’ उनले भने ।

रिसोर्टमा पारिवारिक डबल डिलक्स, सुपर डिलक्स, डिलक्स गरी हाल १९ रुम छन् भने ५० जना क्षमताको रेस्टुराँ, ५० जना क्षमताकै सभाहल, स्विमिङ पुल र स्वदेशी तथा विदेशी खानाका परिकार उपलब्ध हुनेछन् । लाइभ म्युजिक सहित वार बि क्यू समेत सञ्चालनका लागि खुला ठाउँ छ । २१ वर्षका लागि जग्गा भाडामा लिएर पर्यटन क्षेत्रमा ठूलो लगानी गरेका गुरुङलाई भाइहरुको पनि पूर्ण साथ छ ।

४२ रोपनी झाडी र खरबारी भाडामा लिएर रिसोर्ट खोलेका उनले हाल रिसोर्टका लागि ३० रोपनी मात्र जग्गा प्रयोगमा ल्याएका छन् । मकाउ, सिंगापुर, मलेसियालगायतका केही देशमा रोजगारीको शिलशिलामा पुगेका गुरुङले ‘आफ्नै क्षेत्रमा केही गर्नुपर्छ भन्ने भावनाबाट अभिप्रेरित भएर’ पोखरामा रिसोर्ट खोलेका हुन् ।

रियल स्टेट व्यवसायी गुरुङले होटलमा एकल लगानी गरेका छन् । जमिनको सतहभन्दा करिब ४ सय मिटर अग्लो डाँडामा धौलागिरि देखि अन्नपूर्ण हिमशृंखला हुँदै गणेश हिमालसम्म देख्न सकिने मनमोहक स्थानमा रिसोर्ट सञ्चालनमा ल्याएका छन् । रिसोर्ट स्थलबाट बेलुकाको समयमा प्रायः गरी साविक लेखनाथका अधिकांश ठाउँ झिलिमिलि देख्न सकिन्छ भने दिउँसो मौसम खुल्दा बेगनास, दिपाङ ताल सजिलै देख्न सकिन्छ ।

त्यस्तै, विश्व शान्ति स्तुपा, पुम्दीकोट, सराङकोट, काहुँ डाँडा, रुपाकोट, गगनगौडा र सेतीखोँचका केही भागको अवलोकन गर्न सकिन्छ । हेली प्याडसहितको सेवा दिएकाले गुणस्तरीय पर्यटक भित्र्याउने योजनामा होटल व्यवस्थापन देखिन्छ ।

रिसोर्टका व्यवस्थापक विनोद पौडेलका अनुसार रिसोर्टमा बस्ने नेपालीले एक रातको ७ हजारदेखि १२ हजारसम्म र विदेशीले ८५ देखि डेढ सय अमेरिकी डलरसम्म तिर्नुपर्छ । रिसोर्टको औपचारिक उद्घाटन भने चैत्रको अन्तिम सातामा हुनेछ । रिसोर्टमा हाल १५ जनाले प्रत्यक्ष रोजगार पाएका छन् ।

बेगनास तालबाट तीन किलोमिटर पश्चिम–दक्षिण या तालचोकबाट करिब डेढ किलोमिटर दक्षिण–पूर्वतर्फ यात्रा गरेपछि भण्डारढिक चोक वा शिशुवा चोक पुगिन्छ । त्यहाँबाट एक किलोमिटर दूरीमा सेभेन लेक्स रिसोर्ट पर्छ ।