नया गित ‘लुट्न सके लुट्’ कान्छा युट्युबबाट हट्यो ! पशुपति शर्माले लेखे यस्तो म्यासेज

चर्चित लोक गायक पशुपति शर्माको ‘लुट्न सके लुट् कान्छा’ गित युट्युबबाट हटाइएको छ । सर्वाधिक मन पराइएको गित हटाउनुपरेको कारण उनले आफ्नो फेसबुक मार्फत सार्वजनिक गरेका छन् ।यो गित शनिबारसम्म नेपालको युट्युब ट्रेन्डिङमा १० औं नम्बरमा परेको थियो ।

उक्त गित युटुब बाट हटाउन साथ शर्माले फेसबुकमा एउटा स्टाटस सार्बजनिक गरेका छन् तल हेर्नुहोला ।

आदरणीय श्रोता एवं दर्शकवृन्द साथै मेरा प्यारा शुभचिन्तक ज्यु हरुमा सादर नमस्कार !

हिजो रिलीज भएको मेरो “लुट्न सके लुट कान्छा” भन्ने गीतमा यहाँ हरुले देखाउनु भएको सहभागीताको लागी हार्दिक आभार ब्यक्त गर्न चाहन्छु । तर सोही गीतमा प्रयोग भएका केही शब्दहरुलाई लिएर विरोध सृजना गर्न खोजिएकाले म आफ्नो कुरा यहाँहरु समक्ष राख्न गईरहेको छु ।

सर्वप्रथम त म यहाँ हरुलाई जानकारी गराउन चाहान्छु की म राजनिती लाई त्यती गहिराई बाट बुझ्दिन । तर शुशासन कायम हुनुपर्छ र देशमा विसंगती ब्याप्त हुनु हुदैन भन्ने कुरामा म सचेत छु । मेरो गीतले बिसंगती लाई ब्यंग्य गरोस भन्ने मेरो एकमात्र ध्यय थियो।

मैले कुनै राजनैतीक आग्रह या पुर्वाग्रह पालेर त्यो गीत बनाएको पनि हैन र कुनै राजनैतिक दल या संस्था संग मेरो कुनैकिसीमको पुर्वाग्रह पनि छैन । तर गीतमा समावेश केही शब्दहरुमा मेरा केही शुभचिन्तकहरुको असंतुष्टी रहन गएकोले जुन जुन शब्दमा असंतुष्टी देखीयो म ति शब्दहरु लाई परिमार्जन गर्न गईरहेको छु । केही समय लाग्ला जुन शब्दमा असंतुष्टी देखीयो ति शब्दहरुलाई फेर्नु मेरो पनि दायित्व हो भन्ने संझीएको छु।

सुझाव दिनुहुने राजनैतिक ब्यक्तित्व हरु, मेरा अग्रज एवं समकालीन साथीहरुलाई म धन्यवाद दिन चाहन्छु साथै कुनै शब्दले कुनै संस्था विशेष या कुनै दल अथवा समुदाय विशेषलाई अफ्ट्यारो पारेको खण्डमा म अन्तर हृदय देखी माफी चाहान्छु । मेरो नियत कसैको चित्त दुखाउने नभई केवल विसंगती माथी प्रहार गर्नु र विकृतीको उजागर गर्नु मात्र थियो यसमा म पुन: प्रष्ट पार्न चाहन्छु । अहिले डिजीटल प्लेटफर्म युट्युबमा रहेको गीतलाई परिमार्जन सहीत पुन: लिएर आउने बाचा गर्दै अहिले बजिरहेको गीत युट्युब बाट मैले हटाउने निर्णय गरेको छु ।

र अन्त्यमा म पनि यही देशको एक सचेत नागरीक साथै कलाकार भएको नाताले देशमा बिद्यमान भ्रष्टाचार, घुसखोरी र जिम्मेवार हरुको अकर्मण्यता बिरुद्द आवाज उठाउन पाउने मेरो नैसर्गीक अधिकार हो भन्ने कुरामा म दृढ रहेको कुरा पनि दोहोर्याउन चाहन्छु ।

धन्यवाद ।
पशुपती शर्मा

ब्याङ्ग्यात्मक एवम् चेतना मुलक गीत गाउँदै आएका पछिल्लो समयका चर्चित गायक पशुपति शर्माले नयाँ गीत बजारमा ल्याएका थिए। शर्मा ले नेपालको राजनीति प्रति आक्रोसित हुँदै व्यग्यात्मक शैलीमा राजनीतिक दललाई खबदारी गरेका थिए। गायक शर्माले लुट्न सके लुट कान्छ, अरु देशमा पाइँदैन नेपालमै हो छुट’ बोलको गीत बजारमा सार्बजनिक भएको थियो।

उक्त गीतको म्युजिक भिडियो शर्माले बिहीबार आफ्नै युट्युब च्यानलमार्फत सार्वजनिक गरेका थिए भने गीत मार्फत शर्माले देशमा ब्याप्त भ्रष्टाचार, हत्या, हिंसा, बलात्कारलगायतका विषलाई ब्याङ्ग्यात्मक रुपमा प्रस्तुत गरेका छन्। गीतमा शब्द, संगीत पनि गायक शर्माकै रहेको छ। गीतको म्युजिक भिडियोमा पशुपती शर्मा, मञ्जु विक र प्रज्योल भण्डारी लगायतका कलाकारको अभिनय देख्न सकिन्छ। भिडियोलाई निर्देशन दुर्गा पौडेलले गरेका हुन भने छायांकन पनि दुर्गा पौडेलले नै गरेका छन्। यसको सम्पादन नबिन घर्ती मगरले गरेका हुन्।