तेस्रो बयरघारी रमाइलो मेला तथा पुरुष भलिबल प्रतियोगिता हुने।

फाल्गुन ३, स्याङ्गजा
-मन गुरुङ्ग
आँधिखोला पिस यूथ क्लबको आयोजनामा आगामी फाल्गुन १७ गते बाट २७ गते सम्म तेस्रो बयरघारी रमाइलो मेला तथा पुरुष भलिबल प्रतियोगिता हुने भएको छ। बयरघारिको खुला चौरमा हुने उक्त महोत्सवको तयारि तिव्र पारिएको मुल आयोजक समितिका अध्यक्ष राजकुमार गुरुङ्गले शुक्रबार भीरकोट नगरपालिकाको सभाहलमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए।

महोत्सवमा विभिन्न जाति, जनजातिका कला, संस्कृति प्रदर्शनी, सुचना प्रविधि, अटोमोबाइल, औधोगिक उत्पादन, स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय उपभोग्य वस्तुहरुको प्रदर्शनीका साथै उचित मुल्यमा विक्री वितरण गरिनेछ। त्यस्तै स्याङ्गजा जिल्लाका विभिन्न पर्यटकिय स्थलका होटलहरुका बारे पुर्ण जानकारी दिनुका साथै पर्यटकिय गन्तव्य स्वरेक मैदान, गडहरे गुफा, खिलुङ्ग कालिका, भीरकोट कालिका मन्दिर लगायतका स्थलहरु बारे जानकारी दिइने प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ।

महोत्सव अवधिभर स्थानिय तथा राष्ट्रिय स्तरका कलाकारहरु द्वारा गायन, नृत्य एवं हाँस्य व्यंग्य प्रस्तुति रहने छ भने युवा वर्गहरुलाई लक्षित गर्दै नेपालका ख्याति प्राप्त व्याण्ड तथा कलाकारहरुको पनि विशेष लाइभ प्रस्तुति रहने छ।

छोटो समय मै विभिन्न क्षेत्रमा उल्लेखनिय कार्य सम्पन्न गर्दै आएको आँधिखोला पिस यूथ क्लबले शिक्षा, स्वास्थ्य र खेलकुदमा विशेष भूमिका निभाई सम्पन्न समाज तथा राष्ट्र निर्माणमा टेवा पुर्याउने उदेश्यका साथ आँधिखोला पिस यूथ क्लबले शिक्षा, स्वास्थ्य, खेलकुद र पर्यटन प्रवर्दन लागि महोत्सव भन्ने मुल नाराका साथ उक्त मेलाको आयोजना गरिएको हो।

८० लाखको अनुमानित लागतमा हुन गइ रहेको उक्त महोत्सवको अनुमानित आम्दानि १ करोड गरिएको छ। रमाइलो मेला बाट संकलित नाफा रकम बाट भीरकोट नगरपालिका भित्र रहेका निम्न स्तरका परिवारहरुलाई शिक्षा, स्वास्थ्य, कृषि तथा पर्यटन क्षेत्रमा अगाडि बढाउन आर्थिक सहयोग गर्ने विज्ञप्तिमा उल्लेख गरेको छ। विज्ञप्तिमा रमाइलो मेलामा समावेश भएका विभिन्न कार्यक्रमहरु मध्ये आफुलाई अनुकुल हुने कार्यक्रमको प्रायोजन गरि आफ्नो व्यवासय प्रवर्दन गर्दै क्लवको उदेश्य पुरा गर्न आ-आफ्नो क्षेत्र बाट सक्दो सहयोग गरिदिनु हुन समेत अनुरोध गरेको छ।

कार्यक्रममा पुरुष भलिबल प्रतियोगिता, विभिन्न मनोरन्जनात्मक कार्यक्रमहरुका साथै पशु पंछी प्रदर्शनी समेत गरिनेछ।