मेलबर्नको क्रेगिबर्नमा श्रीपञ्चमीको अवसरमा सरस्वती पूजा

श्रीपञ्चमीको अवसरमा क्रेगिबर्न नेपाली समाज र क्रेगिबर्न नेपाली भाषा कक्षाको आयोजनामा सरस्वती पूजाको आयोजना गरिएको छ । बिदेशमा बसोबास गर्नेहरुका बीच श्रीपञ्चमी मनाएको खासै सुन्नमा नआएकोले क्रेगिबर्न नेपाली समाजले हाम्रो यो संस्कार र संस्कृतिलाई पनि बिदेशमा बस्ने नेपालीका बीच जीवन्त राख्न यस्लाई मनाउन शुरु गर्ने निर्णय गरेको हो ।

बहुभाषी र बहुसास्कृतिक देश अस्ट्रेलियामा हाम्रो भाषा तथा संस्कृति केटाकेटीहरुलाई पनि सिकाउनु हाम्रो दायित्व हो भन्दै आयोजकले पुजामा सहभागी सबै बालबालिका तथा अबिभावकहरुप्रति हार्दिक धन्यवाद ब्यक्त गरेको छ । कार्यक्रममा सरस्वती बन्दना सहित पूजा पन्डित मित्रलाल अधिकारीले गराउनु भएको थियो भने एनआरएन अस्ट्रेलिया एनसीसी सदस्य निराजन गौली र साहित्यकार बियोगी बुढाथोकीले मन्तब्य ब्यक्त गर्नु भएको थियो ।

कार्यक्रममा करीब ५० बालबालिकालाई क्रेगिबर्न नेपाली समाजका तर्फबाट उपहार प्रदान गरिएको थियो ।

कार्यक्रममा स्वागत मन्तब्य समाजका अध्यक्ष माधव पौडेलले राख्नु भएको थियो भने कार्यसमिती सदस्य माधुरी मास्के शर्माले यही १६ फेब्रुअरीमा हुन लागेको आर्ट वर्कसप तथा छिट्टै शुरु हुन लागेको नेपाली भाषा कक्षाबारे जानकारी दिनुभएको थियो ।