शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘समर लभ’को ब्यापारमा बर्षात भिलेन बन्यो

शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘समर लभ’को ब्यापारमा बर्षात भिलेन बन्यो । रिलिजको अघिल्लो दिनदेखि निरन्तर परेको झरीले रिलिज पुर्वको शनिबार पनि छोडेन । तर फिल्मको प्रतिक्षामा बसेका दर्शक भने रुझ्दै र भिज्दै हलसम्म पुगे ।

शुक्रबारको तुलमाना फिल्मप्रति शनिबार दर्शकको साथ उच्च देखियो । बर्षातका कारण बिहानी शोजहरु प्रभावित हुँदा दिवा शोमा भने दर्शकको चाप बढ्यो । शनिबारको ‘दिवा शो’मा राजधानीको मुख्य केन्द्र मानिने गोपीकृष्णको १ हजार बढि क्षमताको ‘गोपी’ पर्दा हाउसफुल बन्दा अष्टनारायण हलमा पनि सोहि प्रकारको उपस्थिती दर्शकको देखिएको थियो ।
मल्टिप्लेक्स तर्फ सिभिल मल, लाबिङ मल लगायतका शोजहरुमा पनि दर्शकको चाप राम्रो पाइयो’, प्रफुल्लित मुद्रामा निर्देशक मुस्कान ढकालले भने, ‘बर्षातका बाबजुत दर्शकले दिनुभएको माया र साथले खुशी बनाएको छ, वर्ड अफ माउथ राम्रो छ, फिल्म हेर्ने दर्शकले मुख खुम्च्याएको भेटेको छैन ।’

त्यसो त ढकाल फिल्मको अबको लक्ष्य भ्यालेन्टाइन भएको बताउँछन् । माया गर्नेहरुको लागी प्रणय दिवस आइसकेको छ, हाम्रो फिल्मको मुख्य कन्टेन्ट नै प्रेम हो, त्यो दिन दर्शकको लागी राम्रो खुराक र कोशेली ‘समर लभ’ बन्नेमा शंका छैन ।’ फिल्मले राजधानी बाहिर नारायणगढ, दाङ, धरान र पोखरामा पनि दर्शकको साथ राम्रो पाएको वितरकहरुबाट प्राप्त विवरण बोल्छ ।

कलाकार सहितको फिल्म टिमलाई पछ्याउँदै राजधानीका केहि हलमा पुग्दा हल सञ्चालकले ‘समर लभ’को रिलिज आफुहरुको लागी दशैँ आए बराबर भएको बताउँदै थिए । त्यसो त पछिल्लो रिलिज ‘प्रसाद’ र ‘चङ्गाचेट’पछि कुनै पनि नेपाली फिल्मले दर्शक पाएको रेकर्ड छैन । हलमा खडेरी लागिरहेको समयमा ‘समर लभ’ मल्हम बनेर आएको हल सञ्चालकहरुको भनाइ थियो ।

मौसम अनुकुल भएको भए दर्शकको चाप थप बढ्न सक्थ्यो, तरपनि बर्षातका बीच शुक्रबार र शनिबार दर्शकले फिल्मप्रति देखाएको चासो र यो प्रकारको साथले साँच्ची नै खुशी हुने ठाउँ निस्केको छ, एक हल सञ्चालकले भने ।

सुबिन भट्टराईको प्रेमिल उपन्यासमा आधारिक यो फिल्ममा आशिष पिया, रेवती क्षेत्री, सुरजसिंह ठकुरी, नम्रता सापकोटा, सरोज खनाल, ओमप्रतिक, कविता रेग्मी, शिशिर भण्डारी लगायत लिड अभिनयमा छन् । फिल्मको पटकथा सुबिन र सामिप्यराज तिमिल्सेनाले लेखेका छन् ।

सञ्जय लामाको छायाँकन रहेको फिल्ममा कार्यकारी निर्माता बिनोद अधिकारी छन् भने इन्दु भण्डारी र खगेन्द्र श्रेष्ठ निर्मातामा छन् । पुष्पन प्रधानको संगीत रहेको फिल्मले सांगितिक रुपमा पनि आफुलाई अब्बल प्रमाणित गरेको छ ।