कलाकारको जीवन त्यागी समाजसेवामा लाग्दा नाम पछाडी मगन्ते थपियो : रिता सिवाकोटी (भिडियोसहित)

भक्तपुर। २०६८ सालमा सडक नाटकको सिलसिलामा सिन्धुपाल्चोकको मेलम्ची पुगेकी रिता सिवाकोटीलाई त्यसदिन जीवनको नाटक खेल्न पुगेजस्तै भइदियो ।
उनलाई राम्ररी याद छ, नाटक सकिएपछि चिया पसलमा बसेर सहकर्मीहरूसँग मस्त गफ गरिरहेकै बेला एक्कासि मोबाइलमा अपरिचित नम्बरबाट फोन आयो । फोनबाट चिन्दै नचिनेको पाँच वर्षको सानो बच्चाको आवाज रिताको कानमा आएर ठोक्कियो, ‘रिता आन्टी, मलाई लिन कहिले आउनुहुन्छ ?’

उनी झसङ्ग भइन् । मनमा ठूलो झट्का लाग्यो । फिल्मी शैलीमा आकस्मिक आएको प्रश्न आफैमा अपत्यारिलो थियो । ठीक एकछिनअघि आफैले मञ्चन गरेको सडक नाटकजस्तै । एकछिन त उनी अक्क न बक्क भइन् । यो प्रश्नले उनको संसार साँघुरो बनाइदियो ।

काभ्रेबाट आएको त्यो सानो बच्चाको आवाजले उनलाई कता मात्रै पुर्याएन । हजुर को हो, के भयो भनेर उनले ती बालकलाई फोनबाटै प्रतिप्रश्न गरिन् । तर जवाफ थप अनौठो आइदियो । बालकले भने, ‘मलाई हजुरसँग बस्न मन लाग्यो के । हजुर मलाई लिन छिट्टै आउनु न ।’

त्यति सुनिसकेपछि नाट्य समूहसँगै काठमाण्डौ फर्किए पनि रिताको मन उतै अल्झिइरह्यो । के हो, को हो, कसो हो भन्ने हुट्हुटी चलिरह्यो । त्यसपछि उनी ती सानू बाबुलाई भेट्न भोलिपल्टै काभ्रे पुगिन् । अभिभावकविहीन उनको जटिल परिवेश थाहा पाएपछि रितालाई धेरै जिम्मेवारी महसुस भयो र उनले ती बालकको पुकारलाई स्वीकार गरिन् ।

कताकताबाट रिताको सामाजिक कामबारे सुनेकै आधारमा ती बालकको संरक्षण गरिरहेकी एक महिलाले रितालाई फोन गरेकी रहिछन्, जसमा बालक आफैले रितालाई गुहारे । त्यो थाहा पाएपछि रिताले आवश्यक कानुनी प्रक्रिया पुर्याएर ती बालकलाई काठमाण्डौ ल्याइन् । त्यतिखेर उनी भक्तपुरस्थित काडाँघारीमा एउटा सानो कोठामा बहिनीसँग बस्ने गर्थिन् ।

फाटफुट्ट सामाजिक काम गरेकी रितालाई त्यसदिन आएको फोनको घण्टी नै जीवनको दिशा त्यतैतिर बदल्ने घण्टी बन्ला भन्ने उनले सोचेकी पनि थिइनन् ।

ती सानू बालकलाई रिताले आफ्नै काखमा राखेर हुर्काउन थालिन् । उनीसँग एउटा बच्चा छ भन्ने थाहा पाएपछि रामेछापकी एक महिलाले पनि बाबुआमा नभएका दुईटा बच्चा ल्याएर छोडिदिइन् । मान्छेलाई मुन्छे भन्ने, ठूलाठूला घर दिनभरि हेरीहेरीकन बिताइदिने अनि चार पाँचपटक नुहाइदिँदा पनि सफा नहुने ती साना निर्दोष बच्चाहरूलाई पनि उनी आफैँसँग सुताउँथिन् ।

अलि समयपछि काभ्रेबाट नै अर्को एउटा बच्चा आइपुगेपछि उनीकहाँ बच्चाहरूको संख्या चार पुग्यो । उनीसँग ती बच्चाहरूलाई खुवाउने कुरा त थियो तर सुत्नका लागि पर्याप्त ओढ्नेओछ्याउने थिएन । तर समयले सुम्पिएको जिम्मेवारीलाई उनी लत्याउन पनि सक्दिनथिन् ।

बच्चा पाल्छु भनेर बटुल्न उनी कहिल्यै हिँडिनन् बरु बच्चा आफै अभिभावक खोज्दै उनीकहाँ आइपुग्थे । रितालाई लाग्छ, उनको नाममा यो जिम्मेवारी उनको जन्मसँगै लेखिएको थियो । हाल उनीसँग २१ जना बच्चाहरू रहँदै आएका छन् ।

रिता सम्झन्छिन्, सुरुमा सबै बच्चाहरूले उनलाई ‘आन्टी’ भनेर बोलाउँथे । त्यसपछि बिस्तारै उनीहरूले ‘दिदी’ भन्न थाले । सबैभन्दा पहिले ल्याइएका तिनै सानू बाबुले उनलाई बोलाउँदा कहिलेकाहीँ झुक्किएर ‘रिता मामू’ भन्ने गर्थे । ममीको याद आएर होला भन्ने रितालाई लाग्थ्यो ।

हुँदाहुँदा अहिले सबैले उनलाई ‘रिता मामू’ नै भनेर बोलाउँछन् । ‘मामू’ भनेर बोलाइदिँदा आफूमाथि जिम्मेवारी थपिएको उनलाई महसुस भयो । उनलाई लाग्छ, आमाबुबा भन्ने नाता यही धर्तीमा आएर बनेको नाता न हो ।

लालनपालन गर्दै जाँदा आफ्ना बच्चाहरू अरू बच्चाभन्दा केहीमा पनि कम नभइदिऊन् भन्ने उनलाई लाग्थ्यो । फलस्वरुप उनलाई आफ्ना बच्चाहरूलाई स्कुल पढाउनुपर्छ भन्ने लाग्यो । तर बाबुआमा नभएका बच्चाहरूलाई पढाउँछु भन्दै विद्यालय चहार्दा उनले अनौठा बोली र व्यवहार झेल्नुपर्यो ।

आफ्ना बच्चाहरूलाई अनाथ भनेको उनलाई त्यत्ति मन पर्दैन । कोही पनि अनाथ हुन्छ जस्तो लाग्दैन, उनलाई । उनी निर्धक्क भन्छिन्, ‘यो संसारमा सबै नाथ छन् । बाबुआमा नहुने सबै अनाथ हुने भए एक न एक दिन सबै अनाथ हुन्छौँ हामी ।’

उनलाई लाग्थ्यो अलिकति अविवेकी, अबुझ मान्छेहरूले उनका बच्चालाई अनाथ भने पनि शिक्षकहरूले भने ती कलिला बालबच्चाको निश्चलतालाई पक्कै बुझ्नेछन् । तर तिनै बच्चाहरूलाई पढाउने पाठशालाको खोजीमा जब उनी स्कूलस्कूल चाहार्न थालिन् तब उनले समाजको ठूलो रोग पत्ता लगाइन् ।

विभिन्न विद्यालयका शिक्षकशिक्षिका र प्राचार्यहरूले दिने उत्तरले उनीमा अझ कहालीलाग्दा प्रश्नहरू पैदा गर्ने गर्थे । बच्चाहरू भर्ना गरिदिने आग्रह लिएर पुगेका विद्यालयका प्राचार्यहरू ती अनाथ बच्चा राखेमा आफ्नो विद्यालयको प्रतिष्ठा बिग्रने जवाफ दिँदै रितालाई फर्काउँथे । धेरै पढेका विद्धान भनिनेहरूको बिरामी मानसिकता देख्दा साँच्चै चकित परेकी थिइन् उनी ।

त्यो समयमा आश्रमका बच्चाहरू हरेक दिन भोलि त स्कूल जान पाइन्छ भन्दै रितालाई कुर्दै बसेका हुन्थे तर रिता सधैँ अनपेक्षित निराशा पोतिएको अनुहार लिएर फर्कन्थिन् । दिक्क लागेर कहिलेकाहीँ त उनी बच्चाहरूकै सामु क्वाँक्वाँ रुने गर्थिन् ।

तर उनको त्यो संघर्षको पनि अन्त्य भएरै छाड्यो । एकदिनको कुरा हो । सधैँ निराश अनुहार लिएर एक्लै भौँतारिइनुभन्दा बच्चाहरूलाई पनि सँगै लिएर जान्छु भन्ने उनलाई लाग्यो । त्यसपछि उनी सबै बच्चाहरू लिएर भृकुटीमण्डप पुगिन्, जहाँ उनको साथीको कपडा पसल थियो ।

पसलमा लामो समयदेखि स्टकमा रहेका कपडाहरूमध्ये आफ्ना बच्चाहरूलाई मिल्ने कपडा लगाइदिन् । पसलवाला साथीले वरपरका अन्य पसलबाट समेत कपडा संकलन गरेर बच्चाहरूको पहिरन बदल्न सघाइन् । नयाँ लुगा लगाएका तिनै बच्चाहरू लिएर काडाँघारीमै रहेको निर्मलज्योति स्कूलमा उनी पुगिन् । धुलोमैलो भएको कपडा लगाएर विद्यालयको फूलबारीमा काम गर्दै गरेका एक व्यक्तिलाई बोलाएर उनले सोधिन्, ‘रिसेप्सन कता छ होला ?’

जवाफमा ती व्यक्तिले सोधे, ‘कसलाई खोज्नु भयो र रु’ रिताले आफूलाई प्रिन्सिपलसँग कुरा गर्नुपरेको बताइन् । त्यति सुनिसकेपछि ती व्यक्ति हातमा लागेको माटो टक्टक्याउँदै सरासर ‘प्रिन्सिपल’ लेखेको कोठामा पसे र कुर्सीमा बसे । माटोमा काम गरिरहेको मान्छे प्रिन्सिपलको कुर्सीमा गएर बसेको देखेपछि रितालाई आश्चर्य लाग्यो । ती व्यक्तिले नरम हुँदै भने,‘भन्नुस् के काम थियो, म नै हुँ यहाँको प्रिन्सिपल ।’

रिता झन् बढी आश्चर्यचकित भइन् । ती प्रिन्सिपल उनलाई निकै महान लाग्यो । कामको आधारमा मान्छेको मूल्याङ्कन गर्ने बानी त्यसै दिनदेखि त्यागिन् उनले । त्यस्ता कर्मयोगी प्रिन्सिपलले रिताका बच्चाहरूलाई नपढाइदिने त कुरै थिएन । उनले रिताका बच्चाहरूलाई न्यून शुल्कमा भर्ना गराइदिए र बच्चाहरूको स्तर जाँचेर उनीहरूको कक्षा पनि उति नै खेर निर्धारण गरिदिए ।

प्रत्येक विद्यालयमा रिताले भर्नाको कुरा गर्नुअघि एउटा सर्त राखेकी हुन्थिन्– ‘मेरो बच्चा र अरूमा भेदभाव नगर्नुहोला । बरु मलाई शुल्कमा छुट दिइराख्नुपर्दैन ।’ तर निर्मलज्योति स्कूलमा उनले यो सर्त राखिरहनै परेन ।

पैसाको अभावमा कैयौँ दिनदेखि जुत्ता बदल्न नसकेका बच्चाहरूलाई त्यस स्कुलका प्रिन्सिपल छिरिङ तोपे लामाले आफ्नै खर्चमा एकरएक जोर नयाँ जुत्ता किनेर लगाईवरी घर पठाएको दिन उनको महानता सम्झेर आँशु खसेको रिता कहिल्यै बिर्सन्नन् ।

उनलाई सबैभन्दा खुसी त्यतिखेर लाग्छ जतिखेर उनका बच्चाहरू अरू बालबालिका सरह स्टेजमा उभिएर अवार्ड लिने गर्छन्, प्रतियोगितामा भाग लिने गर्छन् र मेडलहरू जितेर ल्याउँछन् । जब ती बच्चाहरू हाँस्छन्, त्यतिखेर औधी खुसी हुने रिताको संसार हाँस्छ।

सत्रअठार जना साना बच्चालाई सँगै राखेर स्याहारसुसार र शिक्षादीक्षाको बन्दोबस्त मिलाउँदा गर्नुपरेका कैयौँ संघर्षहरूको श्रृंखलाले आफूलाई झन् बलियो बनाएको उनी बताउँछिन् । बालआश्रमको बहानामा भित्रभित्र अनुचित धन्दा गरेको लाञ्छना लगाउनेहरूको पनि कमी थिएन । तर उनलाई त्यस्ता सबै प्रश्न र परिवेशहरू परीक्षा जस्तै लाग्थे ।

अविवाहित छँदै १८ बालबालिकाकी आमा बनेकी रिता विवाहपछि आफ्नै सन्तानकी आमा समेत भइसकेपछि पनि सबै बच्चाहरूलाई उनले दिने माया बराबर छ । मानवीय सेवाको संस्कार उनले आफू बच्चै छँदादेखि बाबुआमाबाट सिकेकी थिइन् ।

आमाले बाटामा भेटिएका बेवारिसे पशुलाई घरमा ल्याएर स्याहारसुसार गरेको उनले देखेकी थिइन् । मानवीयताका खानी उनका बाबुको कारण रिताको घरमा पूरै आध्यात्मिक वातावरण थियो । सत्संग, प्रवचन र जीवन जगतको व्याख्याविश्लेषण भइरहने गर्थ्यो ।

सानै उमेरदेखि अध्यात्म र परोपकारको माहोलमा हुर्केकी हुनाले पनि रितामा सेवाभावको कमी थिएन । त्यसैको जगमा टेकेर उनले काठमाण्डौको काँडाघारीमा सृष्टि गरेको ‘फ्युचर होप नेपाल’ नामको संसार माया नै मायाको बगैँचा बनेको छ, जसलाई विभिन्न कोखमा जन्मिएर उनको काखमा जम्मा हुन आएका २१ बालबालिकाले रङ्गीचङ्गी फूल बनेर सजाइरहेका छन् ।

Leave a Reply

Your email address will not be published.

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.