सम्पूर्ण सहीद हरुमा समर्पित कविता युवा कवि धर्मानंद भट्ट (भिडियो सहित)

सहिदप्रति (कविता)
हामीले सुखसास फेर्न नसके आफ्नै धरामा बसी नेपाली हिमशैलबाट हिउँको बन्दै नबन्दा मसी ।
हिन्दू धर्म चमेलिया स्वर दिँदै बग्दै नबग्दा सदा गङ्गालाल र धर्मभक्त मनमा आउन्न कैले मजा ।।

कोसीको जलले जगत् मुसुमुसू हाँस्दै नहाँस्दा अनि डाँफे कालिजसाथ भ्याकुर सबै नाँच्दै ननाँच्दा पनि । सेता चन्दनले सफा शिखरले बेची गएमा परै आत्मा चन्द र शुक्रराज जहिल्यै के हाँस्न सक्लान् बरै ।।

सीमासाँधहरू ढली दसगजा ऐय्या बचाऊ भनी खोज्लान् आश्रय सुक्क सुक्क दिलले रक्ताम्य न्यास्रा बनी । राता फूल फुली सुगन्ध घरमै छर्नै नसक्ने भए पुर्खाको मन हाँस्न सक्छ र कहाँ जम्मै विदेशै गए ।।


आफ्नै गुन्द्रुक झोलमा सँगसँगै मस्केर पत्नीपति खान्छन् भात भने सबै सहिदले आनन्द मान्लान् कति ! आत्मामा तिनकै दियो दिनदिनै बाले ससम्मानले मिल्ला शान्ति बुझौँ दिए धुन तिनै यो राष्ट्रको गानले ।।


भ्रष्टाचार लुछाचुँडी गरिरहे निर्लज्ज स्वार्थी बने आफ्नै लागि बनेर भ्रष्ट जहिल्यै खाल्डा नि आफैँ खने । प्राणाेत्सर्ग दिने सबै मनहरू धिक्कार्न थाल्छ्न् बुझौँ माघैमा नपुजी सभक्ति जहिल्यै सत्भावनाले पुजौँ ।।

तारा भै नभका जुगौँजुग कडा चम्की दियौ रोशनी धर्तीवीर बनी सदा लडिरह्यौ छाती दिएरै पनि । गोली बन्दुक नालको रस बुझ्यौ आहा भनेरै पियौ राणाशासन अन्त्य लक्षण खुसी नेपाल आमा दियौ ।।

धर्मानन्द भट्ट ढाकारा, लेकम गाउँपालिका -०२, दार्चुला । वि.सं. २०७५/१०/१५ गते राति ०२:१५ बजे ।