उजेली र जुनेली एकसाथ मिडियामा, आफ्नो गाउँको लागि उजेलीको यस्तो योजना (हेर्नुहोस् भिडियो)

भक्तपुर। साझा सवालले तयार पारेको ‘बाँचेका मान्छेहरू’बारे एक कार्यक्रममा उजेली नाम गरेकी बालिकाले नायक राजेश हमाल र पत्रकार विद्या चापागाईंसँग भनेकी थिइन्, ‘हाम्रो गाउँको मान्छेले त पढ्न पनि पाउँदैन। दु:ख गरेर खान्छ। सानैमा बिहे गरेर अर्कोको घरमा जान्छ। तेत्तिकै जीवन बित्छ। हाम्रो गाउँको मान्छेले चैँ कहिले पनि सुख पाउँदैन कि के हो?’
त्यसबेला उनको आँखामा आँसु थियो। आँसु एक बालिकाको थियो, जो पढ्न चाहन्थिन्। ह्रृदयविदारक उक्त बोली सुनेर ढुंगो पनि आफ्नो धर्म भुलेर रसाउन सक्थ्यो। उनले आँसु झार्दै भनेकी थिइन्, ‘मेरो बिहेका लागि मान्छेहरू माग्न आएका छन् तर मलाई पढ्न मन छ। पढेर यो गाउँको मुहार फेर्ने रहर छ।’ लगभग तीन वर्ष अगाडि लोकप्रिय नायक राजेश हमाल भूकम्पले तहसनहस पारेको सिन्धुपाल्चोक पुगेका थिए। भूकम्पले कतिको मृत्यु भयो, कति घरबार विहीन भए। घरबार विहीन भएका परिवारमध्ये एक थियो- सेलाङ गाउँको उजेलीको परिवार।

त्यसबेला उनका लागि काठमाडौं एउटा अन्जान शहर थियो। उनले चौताराभन्दा यता नआएको बताएकी थिइन्। यो भनाइ उनले बाँचेको त्यस बेलाको समयको हो। उनी भाग्यले अहिले काठमाडौंमा पढ्छिन्। उजेलीले भाग्यले पढ्न पाइन् तर उनी जस्ता कयौं बालबालिकाहरूले अझै पनि विद्यालयको आँगन अझै देख्न पाएका छैनन्। उनी जस्ता कयौं बालबालिकाहरूले हाम्रो जस्तो चेतनाविहीन समाजसँग लड्न बाँकी छ।

मेलापात र घरदैलोको दैनिकीबाट पर रहेर उनी दिनभर पढ्छिन् र बिहान-बेलुका संगीतको धूनमा रमाउँछिन्। कम्मर भाँचेर नाच्छिन्। तेक्वान्दो सिक्छिन्। तेक्वान्दोमा उनले अहिले रेड बेल्ट पाइसकेकी छन्। दिदिबैनी उजेली र जुनेली तेक्वान्दोले आत्मरक्षाका लागि ठूलो भूमिका खेल्ने उनी बताउँछिन्। उनले नाच सिकेकी छन्। संगीतमा पनि उनले राम्रो प्रगति गरेकी छन्। गितार बजाउन पनि उनले जानिसकेकी छन्।

उनका लागि सामाजिक शिक्षा एकदमै सजिलो र मनपर्ने विषय हो। अंग्रेजी उनलाई अलिक असजिलो लाग्छ। यद्यपि, अंग्रेजी सुधारका लागि मिहिनेत गरिरहेको उनले बताइन्। अहिले उनको फेरिएको दैनिकी देख्दा उनी स्वयंलाई सपना लाग्छ। केही दिनअघि बौद्धस्थित उनी पढ्ने जेनेसिस एकेडेमी पुग्दा उनी नाच सिक्नमा व्यस्त देखिन्थिन।

उनी काठमाडौंको दैनिकीसँग घुलमिल हुँदै छन्। असल र खराब व्यक्ति पनि काठमाडौंमै रहेको सुनेको तर आफू सधैँ असल मान्छेहरूको नजिक हुन पाएको उनले बताइन्। उनलाई नजानेको कुरा जान्न मन छ। नसिकेको कुरा सिक्न मन छ। आफू जन्मेको समाजमा आफ्नो अस्तित्व कायम गर्न मन छ। सुरुसुरुमा आफूलाई नेपाली बोल्न पनि मुस्किल परेको बताउने उनी अहिले स्पष्ट नेपाली बोल्छिन्। उनले आफ्ना गाउँको मान्छे र यहाँको मान्छे धेरै फरक रहेको बताइन्।

‘गाउँको मान्छेहरूले चाहेर पनि पढ्न पाएका छैनन्। पढ्न पाए पनि राम्रो भौतिक सुविधा छैन। शहरमा ती सबै भौतिक सुविधा छन्, जुन एक विद्यार्थीलाई आवश्यक पर्छन्’, उनले भनिन्। उजेली थेल्मा एण्ड लुइज नेपाल नामक संस्था र स्कुलका पदाधिकारीसँग उनलाई पढेर शिक्षिका बन्ने रहर छ। यो उनको मनबाट निस्किएको पहिलो र अन्तिम लक्ष्य हो। उनी आफूले सिकेको ज्ञान आफ्नो गाउँलाई दिन चाहन्छिन्।

गाउँमा छोरी मान्छेले केही गर्न सक्दैनन् भनेर आफ्ना छिमेकी र अभिभावकले भनेको उनले सुनेकी छन्। यो इख पनि उनमा छ। समय आएपछि छोरीले गर्न सक्छन् कि सक्दैनन् भनेर देखाउने रहर पनि छ। उनी भन्छिन्, ‘हाम्रो गाउँमा विद्यालय छ। म त्यही स्कुलमा पढाउने हो। मैले जे सिकेँ, त्यो सबै ज्ञान मेरो गाउँलाई दिन्छु।’ शिक्षिका नै बन्ने लक्ष्य किन राख्नुभयो? भन्ने प्रश्नमा उनी भन्छिन्, ‘गाउँमा चेतनाको अभाव छ। चेतनाको अभावले मेरा साथीहरू सानैमा बिहे भयो। मान्छे अकालमा मर्छन्। अस्पतालमा भन्दा धामीझाँक्रीमा विश्वास गर्छन्। यी यस्ता समस्याहरूको एक मात्र समाधान शिक्षा हो।’ शिक्षा भएपछि अन्य कुरा विस्तारै सुधार हुनेमा उनी विश्वस्त छन्। यसपालिको दशैँमा उनी गाउँ गएकी थिइन्।

उनका साथीहरूले उनलाई भेटेर सोधे रे, ‘काठमाडौंमा केके हुन्छ? कस्ता मान्छे बस्छन्? तिमी साह्रै भाग्यमानी रहिछौ, पढ्न पायौ।’ उनी ती साथीले भनेका कुरा सम्झिँदै भावुक बनिन्। विद्यालय जाने उमेरमा विवाह गरेर जाने साथीहरू देख्दा खिन्न हुन्छिन् उनी। उनका अधिकांश साथी आमा बनिसकेका छन्। उनलाई आफ्ना साथीहरू पनि आफूले जसरी पढ्न पाउने भए कति जाती हुने थियो भन्ने लागिरहन्छ।

उनको गाउँमा बालिकाको १२-१३ वर्षको उमेरमै विवाह हुने रहेछ। पढाउनुभन्दा तिनका अभिभावकले छोरीको विवाह गरिदिन्छन्। किन हतार हुनेरहेछ त विवाह गर्न? उनी भन्छिन्, ‘बाबुआमाहरूमा चेतना छैन। भागेर जान्छन् र आफ्नो इज्जत जान्छ भन्ने ठानेर अधिकांश अभिभावकले बिहे गरिदिन्छन्।’

उजेलीको पढाइ बीचमा रोकियो। गाउँबाट आउँदा सानो कक्षामा राख्दा उनको उमेर ठूलो भएकाले उनले अप्ठ्यारो मान्लिन् भन्ने डर पनि थियो विद्यालयलाई। उनलाई सुरुमा ५ कक्षामा भर्ना गरियो। उनी अंग्रेजी र गणितमा केही कमजोर छन् तर मिहिनेत भने गरिरहेको जेनेसिस एकेडेमीकी प्राचार्य प्रमिला योञ्जन बताउँछिन्। करिव ३०० विद्यार्थी रहेको उक्त विद्यालयमा फरक फरक क्षमताका विद्यार्थीहरू छन्। हरेक विद्यार्थीले पढेर केही बन्ने लक्ष्य राखेका छन्। तर उजेलीको भने पढेर गाउँको सेवामा लाग्ने लक्ष्य रहेको उनले बताइन्।

उनी भन्छिन्, ‘अन्य विद्यार्थीहरू आफ्ना लागि पढ्नुपर्छ भन्ने छन् तर उजेली आफ्नो गाउँका लागि पढ्नुपर्छ भन्ने गर्छिन्।’ स्कुल र थेल्मा एण्ड लुइज नेपाल नामक संस्थाले मिलेर उनको आर्थिक भार व्यहोरिरहेका छन्। उजेलीको पढाइले आफूहरू एकदम सन्तुष्ट रहेको उनले बताइन्। उजेलीको आत्मविश्वासमा आएको प्रगतिले अरू विद्यार्थीमा पनि ऊर्जा थपिरहेको उनले बताइन्। यस विद्यालयमा आर्थिक रूपमा विपन्न विद्यार्थीहरू धेरै रहेको योञ्जन बताउँछिन्।

जेनेसिस एकेडेमीकी प्रिन्सिपल प्रमिला योञ्जन अहिले विद्यालयमा ३० बढी विद्यार्थीहरूलाई लगानी गरिरहेको उनले बताइन्। भूकम्प मात्र नेपालको समस्या होइन। यसबाहेक पनि अन्य क्षेत्रबाट पीडित विद्यार्थीहरू विद्यालयमा पढिरहेका छन्। अहिले उजेलीकी बहिनी जुनेली पनि उजेलीसँगै जेनेसि मा पढ्छिन्। बहिनी अहिले ५ कक्षामा पढ्दै छन्।

योञ्जन भन्छिन्, ‘बहिनी पढाइमा अब्बल छन्। उनी तीन कक्षाबाट एकैचोटिमा पाँच कक्षामा पुगेकी छन्।’ देशका कर्णधारको रूपमा रहेका उजेलीका दिदी-बहिनीको प्रगति देख्दा मलाला युसुफजईको एउटा भनाइ याद आयो- ‘वन चाइल्ड, वन टिचर, वन बुक एण्ड वन पेन क्यान चेन्ज द वर्ल्ड।’ अर्थात एउटा बालक एउटा शिक्षक एउटा किताब एउटा कलमले विश्व परिवर्तन गर्न सक्छ ।