म्याडिसनले दियो एनारएनएलाई सुझाब

ज्यानुवरी १९, २०१९ म्याडिसन, विस्कन्सिन अमेरिकामा एनआरएनए (NRNA) / गैर आवासीय नेपाली संघ अमेरिका सम्बन्धि अन्तर्कृया भएको छ । कार्यक्रम नेपाली अमेरिकी मैत्री सङ्घ (NAFA) का अध्यक्ष सन्तोष लामिछानेको संयोजनमा पूर्ण श्रेष्ठले संचालन गर्नुभएको थियो । कार्यक्रममा NRNA NCC का बोर्ड अफ डिरेक्टर गोपेन्द्र भट्टराईले NRNA NCC का गतिविधि र भावी कार्य योजनामाथि प्रकाश पार्दै विदेशमा बस्ने नेपालीहरूका हक अधिकारका लागि लड्न संस्थामा धेरै भन्दा धेरै सदस्यता बन्न जोड गर्नुभयो।

NRNA बिस्कन्सिन च्याप्टरका अध्यक्ष बुद्धि सुवेदी, उपाध्यक्ष बिष्णु अधिकारी, सचिब हेमलाल देवकोटा, कृयशील सदस्यहरू वासु अधिकारी र लाल काफ्लेले विस्कन्सिन च्याप्टरका गतिविधि, भावी योजना कस्ता हुनुपर्ने र म्याडिसन जस्तो प्रबुद्ध ब्यक्तिहरूको बाहुल्य भएको समुदायबाट सदस्यता कम भएकाले सदस्यता लिन जोड गर्नुभयो ।

सिकागो देखि मिडवेस्टमा परिचित बाला घिमिरे, NRNA इलिनोइ च्याप्टरका अध्यक्ष सत्य चौधरी, मिल्वाकी बाट तिलक केसी र न्युयोर्कदेखि पत्रकार किरन मरहठ्ठा पनि कार्यक्रमको अन्त्यसम्म हिउँ परेको चिसो मौसम र अवरुद्ध सडकका बाबाजुद आइपुगेका थिए । कार्यक्रमको अन्त्यमा चिया र समोसा खादै भलाकुसारी गरिएको थियो ।

कार्यक्रममा उठेका र छ्लफल भएका केही कुरा

– अमेरिकी हर सहरका नेपालीको आफ्नै सामुदायिक भवन बनाउने चहाना रहेकोले त्यससम्बन्धि प्रकृया र श्रोत संकलनमा NRNA ले सहयोग गर्न सक्ने । स्टेट, फेडेरल सरकारबाट के कस्ता सुबिधा लिन सकिन्छ त्यो अनुसन्धान गरेर विवरण प्रकाशित गर्नुपर्ने ।

– नेपालमा पैसा लगानी गर्न यताबाट जति पनि पैसा पठाउन मिल्ने तर उताबाट पनि कानूनीरुपमा लगानी र भएको फाइदासहित डलरमा यता ल्याउन मिल्ने प्रावधान नभएकोले लगानी गर्न बिश्वासको वातावरण नभएकोले त्यस्ता कुराको समाधान गर्न र भएका प्रावधानहरू सबैलाई सुसूचित गर्न आवश्यक रहेको ।

– केही ब्यक्तिगत राजनितिक संस्कार र प्रवृत्तिले नकारात्मक असर परेको भए पनि संस्था आफै नराम्रो होइन । यो सङ्गठित संस्थामा बढी भन्दा बढी फराकिलो मन, असल राजनितिक संस्कार भएका, प्रबुद्ध ब्यक्तिहरू सदस्य हुँदै गए भने सुधार गर्न सजिलो हुने ।

– ब्यक्तिगत राजनीतिक झुकाव जे जस्ता भएपनि समाज सेवाको लागि स्थापना भएको संस्था भएकोले जिम्मेवार लिन खोज्ने ब्यक्ति र उसको चरित्र र सामर्थ्य हेरेर चुन्नु पर्ने न कि कुनै राजनितिक झुकाव र सङ्गठनका आधारमा ।

– महिला र युवाहरूको लाजमर्दो सहभागिता हुनुलाई राम्ररी समस्या पहिल्याएर अगाडि बढ्नुपर्ने

– पदमा पुग्नु भन्दा अगाडि आफै निक्कै खर्च गर्न तयार तर पदमा पुगेपछि सिन्को नभाच्ने प्रवृत्ति देखिएकाले को मान्छे काम गर्न भनेर आउन खोजेको हो, बिगतमा के कस्ता समाजिक काम गरेको छ, ती कुरा पहिल्याएर जिम्मेवारी दिनुपर्ने । के काम गरेको छन्, के काम गर्ने छन् जस्ता कुराको हस्ताक्षरसहित लिखित प्रतिबद्धता सामाजिक सन्जालमै खुलाउन अनुरोध गर्ने र गरे कि गरेनन् कार्यकालपछि मुल्यांकन गर्ने ।

– सामाजिक संस्थामा स्वतस्फुर्त सेवा गर्न जाने भएकाले कि त आफै अगाडि बढ्ने नत्र अरुको निन्दामात्र गर्ने प्रवृत्ति पनि गलत भएकाले काम गर्ने जिम्मेवारी लिएकालाई हरसम्भब सहयोग गर्ने, सुझाब दिने । “ह्या यहाँ राजनीति हुन्छ” भनेर भागेर र निन्दामात्र गरेर परिवर्तन नहुने । हामी राजनीतीबाट भागेपनि राजनीति हामीबाट भाग्दैन । त्यसैले सबै सजग र सकृय भएर खराब राजनीतिलाई असल राजनीतिले जित्नुपर्ने आवश्यकता ।