भक्त विश्वासको मर्म स्पर्सी जीवन कथा : घुँडा टेकेर हिँड्न थालेको २२ बर्ष भयो, गायक बन्न ५ बर्ष देखि संगीत साधनामा तल्लिन(भिडियो सहित)

स्कटनेपाल युके,

जीवन खै के खै के । नचाहेको जस्तो हुन्छ न सोचेको जस्तो । न खोजेको जस्तो नै हुन्छ । आफुले खोजेको र रोझेको जस्तो नहुँदा जति पिडा मानिसई कहिले हुन्छ र ? सवल हुँदा हुँदै पनि मानिसले चाहेको गर्न सक्दैन भने अशक्त हुँदा के होला ? सायद हामी सबैले अनुमान गर्न सक्छौँ ।

लौ सुन म भन्छु मेरो राम कहानी
त्यो एक दिनको घाम सयौँ दिनको पानि
ल सुन म भन्छु मेरो राम कहानी
उनले गाएको यही गीत ले भने झैँ भक्त विश्वासले आफ्नो जीवन कहानी हामीलाई सुनाउँदै थिए । सायद आफ्नो जीवन कहानी हामीलाई सुनाउँदै गर्दा रुन नसकेका उनका आँखा त्यसै थामिएका पक्कै छैनन् ।

पाली संगीतको क्षेत्रमा केही गर्छु भन्ने अठोट बोकेका भक्तको जीवन कहानी उनले गाएको गीत जस्तै छ एक दिनको घाम अनी सयौँ दिनको पानि । विक्रम सम्बत २०५३ साल पुष ६ गते झापा सुरुङ्गाको एक सुकुम्बासी बस्तीमा जन्मिएका उनी जन्म देखी नै शारिरिक रुपमा अशक्त छन् । उनका दुवै खुट्टा चल्दैनन् । जन्मदा खेरी नै भक्तका दुवै खुट्टा काम नलाग्ने थिए । ठुलो भएर के नै गर्ला र भन्ने सोच आयो होला उनकी आमालाई अनि फ्याँकिदिइन् ।

भक्त जन्मदै फ्याकिँएका थिए । तर, उनको भाग्य त्यति कमजोर कहाँ थियो र ? उनकी माइली फुपूले फालेको ठाउँबाट उठाएर ल्याइन र पालिन् । घुँडाको साहारामा हिड्न थालेको पनि २२ वर्ष पुगिसकेको छ । तर मनमा आँट र साहस भने कसैको भन्दा कम छैन उनको । ६ कक्षामा पढ्दै गर्दा बुवाको मृत्यु भयो । सुनार काम गर्दै आएका उनका बुबाले कमाएको केही पैसाले नै उनको घर चल्दै आएको थियो ।

अब त त्यही आश पनि टुटेर गयो । उनले गर्न केही सक्थेनन् । मनमा त कती इच्छा थिए होला कति चाहाना थिए होला तर सबै माटोमा बिलिन भए । बुबा बितेको केही समयपछी आमाले अर्को विवाह गरेर गईन । अशक्त भक्तको जीवनमा अर्को बज्रपात आइपर्यो । उनले आफुलाई कसरी सम्हाले होला ? नियतीले जती नै उनलाई ठगे पनि अहँ उनको भरोसाको बाँध टुटेन । भाईको सहारामा उनले संगीत सिक्न थाले ।

१० कक्ष्यामा पढ्दै गरेका उनी पढाई छोडेर संगीत सिक्न थाले । सुरुमा नेपाल आइडलका प्रतियोगी सुमित पाठकका बुवा धुर्व पाठकले उनलाई संगीत सिक्नका लागि भर्ना गराइदिए । करिब तिन वर्षसम्म धुर्वकै सहयोगमा उनले संगीत सिक्ने मौका पाए र पछी विर्तामोडमा रहेको सर्गम संगीतालय भर्ना भएर करिब २ वर्ष कुशेश्वर राईसँग संगीत नै सिके ।

संगीत सिक्ने क्रममा उनीहरुको समुहले दुवै मिर्गौला फेल भएका भानुभक्त अर्यालका लागि सडकमा गीत गाएर १ लाख १२ हजार संकलन गरेका थिए । सो देखेर आफ्नो लागि पनि केही गर्नु पर्छ भन्दै सरगम संगीत विद्यालयको अगुवाईमा काकड्भिटा देखी धरानसम्म सडकमा गीत गाएर उनले सरगम संगीत विद्यालय कै सौजन्यमा स्कुटर प्राप्त गरे । त्यसपछि भने उनलाई आवत जावतमा केही सहज भएको छ ।

झापामा बसेर आफ्नो आर्थिक अवस्थामा केही सुधार नभएपछी उनी चार जना साथिहरुसंगै काठमाडौँ आएका छन् । जुन सोच बोकेर उनी काठमाडौँ आएका थिए त्यो भन्दा फरक रहेछ काठमाडौँ भक्त भन्छन् जसले काम लगाइदिन्छु भनेर काठमाडौँ बोलायो उसैले अहिले वास्ता गर्दैन, कसैलाई कसैको मतलव नहुँदो रहेछ आफ्नो लागि आफैँ गर्नु पर्ने ।’ हुन पनि करिब ५ वर्ष भयो उनले घरको दैलो नदेखेको ।

आफैले साथिहरुको साहारामा जीवन गुजार्दै छन् । कती रात नखाएरै बितेका छन् उनका त कती रात नसुतेर नै बिताएका छन् । कहिले पुराण लगाएको ठाउँमा भजन गाएर त कहिले सडकमा गीत गएर आफ्नो जीवन गुजार्दै आएका उनले काठमाडौँको यात्रा त्यति सहज देखेका छैनन् । संगीतको क्षेत्रमा केही गर्छु भन्ने उनलाई संगीत प्रतिको लगाव र उनको कमजोर आर्थिक अवस्था देखेर संगीतको दोश्रो वर्ष देखिको अध्ययन गर्नका लागि गुरु चण्डी काफ्लेले निशुल्क गरिदिएका छन् ।

नेपाली संगीतको क्षेत्रमा अहिले चर्चामा रहेका शिव परियार, प्रमोद ख्गरेल, सहिमा श्रेष्ठ लगायतलाई समेत संगीत सिकाइरहेका संगीतका गुरु चण्डी काफ्लेले भक्तको त्यही लगाब देखेर नै उनलाई फुल स्कलरसिप प्रदान गरेका छन् । हाल भक्त संगीत सिक्न गुरु काफ्लेकोमा धाइरहेका छन् । सिकेर मात्रै पनि जीवन कहाँ चल्छ र ? जीवन जिउनु पनि त पर्यो नि ।

जसले जागिर लगाइदिन्छु भनेर काठमाडौँ बोलायो उसले वास्ता नगरेपछि भक्त अहिले जागिरको खोजीमा भौतारीइरहेका छन् । कती दिन साथीहरुको सहारामा बस्नु ? उनि कसैको बाध्यता बन्न चाहँदैनन् । तर हरेक कुराले उनलाई साथ कहाँ दिएको छ र ? चाहेर पनि उनले धेरै चिज गर्न पाएका छैनन् । आज सम्म त आफैँ केही न केही गरेर जीवन चलाउँदै आए ।

ति साथीहरुले गर्दै आउनुभएको छ । तर साथीहरुमाथि बोझ पनि कहिले सम्म बन्नु र ? हो अब उनको साथि बन्ने पालो हाम्रो पनि हो । उनको चाहाना छ संगीतमा केही गर्ने त्यो सपना पुरा गर्न हामीले पहल सुरु गरेका छौँ । त्यसमा तपाईँ पनि सहयोग गर्न सक्नु हुनेछ । तपाईको सानो सहयोगले भक्तको ठुलो सपना पुरा हुन सक्नेछ ।

भिडियो