नेकपाद्वारा भ्रामक र कपोलकल्पित समचार नलेख्न चेतावनी

काठमाडाै, ३ माघ । नेपाल कम्युनिस्ट पार्टीले भ्रामक र कपोलकल्पित समचार नलेख्न चेतावनी दिएको छ । पछिल्लो समय नेपाल कम्युनिस्ट पार्टीको पार्टी नेतृत्व र प्रवक्ताबीच असमझ्दारी लगायतका भ्रामक र कपोलकल्पित समचारको खेती गर्ने संचार माध्यम र पत्रकारको आवरणमा क्रान्तिबिरोधि हर्कत गर्ने दलालहरुलाई सो चेतावनी दिएको हो । संचार क्षेत्रबाटै सुनियोजित रुपमा त्यस्तो झुठा सूचना उत्पादन गर्ने र प्रवाह गर्ने श्रृंखला नरोकिएको भन्दै त्यस्ता पात्रहरुलाई जनतामा भ्रम पार्ने काम नगर्न चेतावनी समेत दिएको छ ।

एकीकृत जनक्रान्तिको राजनीतिक कार्यदिशामा नेपाली क्रान्तिको लहर व्यापक बन्दै गएपछि दुश्मनलाई फाइदा पुग्ने गरी केही समाचार माध्यमले सुनियोजित रुपले झुठा समाचारको खेती गरिरहेको नेपाल कम्युनिस्ट पार्टीले ठोकुवा गरेको छ । अहिले क्रान्तिमा उत्तर साम्राज्यवाद र दलाल पूँजीवादले क्रान्तिलाई बद्नाम गराएर असफल तुल्याउन सूचना र संचार क्षेत्रलाई अग्रपृष्ठमा राखेर गोयबल्स शैलीमा प्रयोग गरिरहेको ने.क.पा. को ठहर छ ।

यसैबीच, नेपाल कम्युनिस्ट पार्टीका कार्यालय सचिव ध्रुवले हालै एक साप्ताहिक अनलाइनले आफ्नो पार्टीका बारेमा भ्रमपूर्ण समाचार प्रसारण गरेकोमा आपत्ति जनाउदै कडा खण्डन गरेका छन् । गत पुस ३० गते रातो पाटी अनलाइनले ‘प्रकाण्डलाई विप्लवको प्रश्न— बाबुराम भट्टराईको सहयोग किन लिएको ?’ भन्ने शीर्षकमा छापिएको समाचारको खण्डन गर्दै उनले भनेका छन्, ‘यी सबै समाचारहरू गलत हुन् । यसबारेमा कुनै सन्दर्भ नै उठेको छैन । मुख्य बनाएर छापिएको उक्त समाचारमा तीनजना केन्द्रीय सदस्यलाई निष्कासन गरिएको झूटो समाचार पनि दिइएको छ ।’ ध्रुवले तीनजना केन्द्रीय सदस्यहरू कोही स्वास्थ्यका कारण र कोही तल्लो तहमा रहेर काम गर्न चाहेकाले उहाँहरूकै मागअनुसार जिम्मेवारी हेरफेर गरिएको बताएका छन् । एउटा क्रान्तिकारीलाई बदनाम गराउन र प्रतिक्रियावादीहरूलाई सहयोग पु¥याउन कहिले पार्टीभित्र अन्तर्विरोध रहेको त कहिले के भनेर जनतामा भ्रम पार्ने काम नगर्न पनि सम्बन्धित पक्षलाई सचेत तुल्याइएको छ ।

स्मरणीय छ, नेपाल कम्युनिस्ट पार्टीले पार्टीविरुद्ध सुराक गरेको ठहर गर्दै क्रान्तिकारी पत्रकार संगठनका पाँच पत्रकारलाई एकैपटक निस्कासन गरिसकेको छ भने पटक पटक गरी थप आधा दर्जनलाई समेत निस्कासन गरिसकेको छ ।