“नेपाल फेष्टिभल मेलबर्न २०१८” को प्रेस बिज्ञप्ति

अष्ट्रेलियाको मेलबर्नमा आगामी डिसेम्बर १५ तारिखका दिन मेलबर्नको फेडरेसन स्क्वायरमा आयोजना गर्न लागेको “नेपाल फेष्टिभल मेलबर्न २०१८” लाई भव्यताका साथ सफलता पार्न एनआरएन भिक्टोरियाले सबैसंग अपिल गर्दै प्रेस बिज्ञप्ति जारी गरेको छ । प्रेस बिज्ञप्तिको पूर्ण विवरण यस प्रकार छ:

अष्ट्रेलियाको मेलबर्नमा आगामी डिसेम्बर १५ तारिख शनिबार “नेपाल फेष्टिभल २०१८” आयोजना हुने भएको छ । गैरआवासीय नेपाली संघ अष्ट्रेलिया भिक्टोरिया राज्य संयोजन परिरिषद्को आयोजनामा हुन लागेको नेपाल फेष्टिभलमा यस वर्षको नारा ‘वन कन्ट्री मेनी स्टोरीज’ रहेको छ । नेपालका विभिन्न संस्कृति, भाषा भेषभूषा, खाना सहितको एकताबद्ध उपस्थिति भिक्टोरियाको बहुसांस्कृतिक समूदायमा गराउने फेष्टिभलको प्रमुख उद्देश्य रहेको छ । यससँगै नेपालको पर्यटन प्रबद्र्धन पनि फेष्टिभलको महत्वपूर्ण पाटो हो ।

यस पटक मेलबर्नमा सुरु भएको नेपाल फेष्टिभल यात्राको दशौं वर्षगाँठ पनि हो । १२ वर्षअघि सिड्नीबाट सुरु भएको नेपाल फेष्टिभलको यतिबेला विश्वभर विस्तार भइसकेको छ । मेलबर्नको नेपाल फेष्टिभल २०१८ का संयोजक एवं गैरआवासीय नेपाली संघ अष्ट्रेलियाका उपाध्यक्ष केशव कँडेल भन्नुहुन्छ, “सुरुवातबाट नै मेलबर्नको नेपाल फेष्टिभलले आफुलाई विविधता, उत्कृष्टताको परिचायक बनाउन कुनै कसर बाँकी राखेको छैन । यस पटक दशौं वर्षगाँठको अवसरमा अझ बढी एकताबद्ध, अझ बढी समूदायको सहभागिता र अन्य समूदायसँगको सहकार्यको दायरालाई फराकिलो बनाउने प्रतिबद्धता व्यक्त गर्दछौं ।”

कार्यक्रमका मिडिया संयोजक एवं गैरआवासीय नेपाली संघ भिक्टोरियाका उपसंयोजक युगेन्द्र रेग्मीले भन्नुभयो, “जब हामी नेपालको गौरपूर्ण संस्कृतिको कुरा गर्छौं त्यो स्टेजमा देखाइने कुराहरु मात्र हुने छैनन् । पूरै फेडरेशन स्क्वायरलाई नै हामी सानो नेपालमा रुपान्तरण गर्नेछौं । नेपालका हरेक कुरा कुनाका कथालाई कला, गीत, संगीत, नृत्य, भेषभूषा, खाना अनि नेपालीपनको माध्यमबाट भिक्टोरियाका दर्शकहरुसामू पस्कने हाम्रो प्रयत्न छ ।”

नेपाल फेष्टिभल २०१८ लाई सफल तुल्याउन केशव कँडेलको संयोजकत्वमा बनाइएको आयोजक समितिमा नेप्लीज एशोसिएसन अफ भिक्टोरियाका अध्यक्ष तारा गैरे उपसंयोजक रहनुभएको छ । यस्तै भिक्टोरियास्थित अवैतनिक महावाणिज्यदूतको कार्यालयकी निरु त्रिपाठी सचिव हुनुहुन्छ भने प्रेरणा मल्ल सहसचिव तोकिनुभएको छ । भिक्टोरियामा रहेका नेपाली समूदायका सबै संघ संस्थाले यस कार्यलाई सफल तुल्याउन हातेमालो गरेका छन् । नेपाल फेष्टिभललाई सफल तुल्याउन विभिन्न कमिटीहरु गठन गरिएको छ भने यी कमिटीहरुले तयारीलाई तिव्र गतिमा अगाडि बढाएका छन् । सांस्कृतिक गतिविधिका संयोजक प्रेम कँडेलले “भिक्टोरियामा रहेका नेपाली प्रतिभाका साथै नेपालबाट पनि ख्यातिप्राप्त कलाकारहरुले नेपाल फेष्टिभलको स्टेजको रौनक बढाउने बताउनुभयो ।” अहिलेसम्म अभया एण्ड स्टीम व्याण्ड, प्रसिद्ध लोकगायक मिलन लामा आउने निश्चित गरिएको छ । यस पटकको नेपाल फेष्टिभलको व्यवस्थापन सोलाङचरले गर्दैछ भने अडियो भिडियो प्रोडक्सनको काम एमएनटीभी अष्ट्रेलियाले गर्ने भएको छ । विज्ञापन तथा प्रबद्र्धन कमिटीका सुरेन्द्र सेढाईले मेल्बर्न ईन्ष्टिच्युट अफ टेक्नोलोजी, यश स्टडीज, सिटी अफ मेलबर्न ईभेन्ट पार्टनरका रुपमा रहने जानकारी दिनुभयो । “नेपाली विजनेस समूदायले नेपाल फेष्टिभललाई एउटा अवसरको रुपमा लिएर जुन किसिमको सहयोग गर्नुभयो यो निकै उत्साहप्रद छ । प्रायोजकहरुको सहयोग विना नेपाल फेष्टिभल सम्भव छैन । उहाँहरु सबैलाई धेरै धन्यवाद छ ।” सेढाईले भन्नुभयो ।

नेपाल महोत्सव मेलबर्नमा सुरु भएको दशौं वर्षको यो अवसरमा यस पटकको सांस्कृतिक परेडलाई अझ विशेष बनाउने तयारी भएको यसका संयोजक तारा गैरेले जानकारी दिनुभयो । उहाँका अनुसार यस पटक एक हजारभन्दा बढीको सहभागितामा मेलबर्नको मुटुमा नेपाली झाँकीहरुको साथ सांस्कृतिक परेडको आयोजना गरिनेछ । यो परेड कार्यक्रमस्थल फेडरेशन स्क्वायरमा पुगेपछि नेपाल फेष्टिभल औपचारिक रुपमा सुरु गरिनेछ । फेडरेशन स्क्वायरमा यस पटक ‘नेपाल भिलेज’ स्थापना गरी नेपालको संस्कृति, परम्परा, रहन सहनको प्रबद्र्धन गर्ने तयारी छ । नेपाल फेष्टिभलको स्टल व्यवस्थापन संयोजक निराजन गौलीका अनुसार १५ वटा व्यवसायिक स्टल र ६ वटा खानाका स्टल रहने निश्चित गरिएको छ । गौलीले भन्नुभयो, “यस पटक हामीले १५ वटा स्टललाई नेपालका विभिन्न पर्यटकीय स्थलहरुको जानकारीसहितको थिममा प्रस्तुत गर्दैछौं । यो नौलो प्रयोग हुनेछ । यसले नेपालका विभिन्न पर्यटकीय स्थलहरुको बारेमा जानकारी दिन मद्दत गर्नेछ । नेपाल पर्यटन बोर्डसँगको सहकार्यमा यसलाई मूर्तरुप दिइनेछ ।”

अर्कोतर्फ विदेशी पर्यटकहरुको माझ लोकप्रिय नेपालको ठमेल बजारलाई प्रतिनिधित्व गर्नेगरी त्यस्तै बजार सञ्चालन गरिनेछ । यस्तै फेडरेशन स्क्वायरमा सात वटा नेपाली झण्डा फहराइने क्रमलाई निरन्तरता दिइनेछ । नेपाल फेष्टिभलको स्वयंसेवा संयोजक गौतम लामिछानेले व्यवस्थित रुपमा नेपाल फेष्टिभल सञ्चालन गर्न सयौंको संख्यामा स्वयंसेवक परिचालन गरिने बताउँदै फस्र्ट एड र आकस्मिक उपचार सेवा समेत व्यवस्था गरिएको जानकारी दिनुभयो । “स्वयंसेवकहरुको सहयोगले नै नेपाल फेष्टिभल भव्यताका साथ सम्पन्न गर्न सहयोग पुग्दछ । हामी भिक्टोरियामा बस्ने नेपालीहरुलाई स्वयंसेवकका रुपमा सरिक हुन आह्वान गर्दछौं ।” गौतमले भन्नुभयो । अघिल्लो नेपाल फेष्टिभलमा करिब २० हजारले अवलोकन गरेका थिए भने यस पटक स्थानीय अष्ट्रेलियन दर्शकहरुको संख्यालाई बृद्धि गर्ने योजना एनआरएन भिक्टोरियाले बनाएको छ ।