कार्टुन क्रियूबाट छुटिए आश्मा र सरोज, आश्माले सन्नि रोजिन् !

पछिल्लो सिरिज ‘ट्वान्टी फर्स्ट लभ’ को सफलता सँगै निर्माण कम्पनि मिडिया स्केपले नयाँ सिरिज ल्याउने भएको छ । सोमबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच नयाँ सिरिज ‘यू एण्ड मी’को घोषणा भयो ।

टेलिभिजन र युट्युवमा आउने उक्त सिरिजको टिजर ट्रेलर पनि निर्माण टिमले सार्वजनिक गरेको छ ।

सिरिज कहिलेबाट प्रसारणमा आउने खुलाइएको छैन । निर्देशक सरिन पोखरेलले युवा वर्गलाई लक्षित गरेर दुई पुस्ताको पारिवारिक माया प्रेम, कमेडी र सामाजिक जनचेतनाका कुरालाई समेट्दै सिरिज तयार गर्न लागिएको बताए । कान्तिपुर एजडी टेलिभिजनमा यो सिरिज प्रसारण हुनेछ ।

‘यू एण्ड मी’मा चर्चित डान्स ग्रुप ‘कार्टुन क्रियू’ की मुख्य सदस्य आश्मा विश्वकर्मासँगै सन्नी सिँह, श्या राई, विशाल पहारी, बिजय अधिकारी, तमन्ना केसी, जित तामाङ, परिक्षित बिक्रम राना, अभिप्सा खनाल, प्रकाश बुढाथोकी, जय जगदिश अधिकारी, उमा कार्की र संगिता बस्याल अभिनयमा रहनेछन् ।

यसअघिको सिरिजमा सरोज अधिकारीसँग जोडी बाँधेकी आश्माले यो पटक सरोज छोडेर सन्नीसँग जोडी बाँध्ने छिन् ।

सिरिजमा सरोज रहने नरहने बारेको प्रश्नमा आश्माले कथाको माग हुँदा र निर्देशकले कास्टिङ गर्दा मात्रै रहने भन्दै अहिले सन्निसँग आफुलाई दर्शकले देख्न पाउने बताइन् । यो सिरिजको कथा पनि निर्देशक सरिनकै हो ।

उनले यसअघि ‘हाम्रो स्कुल’ नामको सफल सिरिज समेत तयार गरेर आफुलाई प्रमाणित गरिसकेका छन् ।

‘यू एण्ड मी’मा संगीत एलिस कार्की र कोवित बज्रको रहनेछ भने सम्पादन रामप्रसाद चौधरीको रहनेछ । स्कृनप्ले निर्देशक पोखरेलले बसन्त अधिकारीसँग मिलेर लेखेका छन् । संकल्प भुजेलले छायाँकन गर्दा २५ इपिसियोडसम्म सिरिज जाने बताइएको छ ।