‘दशैं रातो, सेतो र कालो हुन्न’ कविता – कुङ्बा कान्छा

दशैं चाडप्रति
दशैं मनाउनेहरुप्रति
मेरो सदभाव छ
सम्मान छ, सहिष्णु नमन छ
आखिर यो पनि नेपालकै पर्व हैन र?
दशैं रातो हुन्न
दशैं सेतो पनि हुन्न
दशैं कालो पनि हुन्न
रातो, सेतो, कालो त हाम्रो मन हुन्छ
हाम्रो विवेक र व्यवहारको रङ हुन्छ
दशैंले जस्तै
राज्यको मुटुभित्रको न्यानोपन
ल्होछार पर्वले पाओस्
माघी र छठ पर्वले पाओस्
साकेला र चासोक तङ्नामले पाओस्
दशैं पर्वमा जस्तै
ती पर्वहरुमा पनि
नेपाली संवेदना छ
नेपालीपन जोडिएको छ
नेपाली राष्ट्रियता गाँसिएको छ
यो मर्म र भावनालाई
राज्यले मनन गर्न सकोस्
सम्मान र सम्बोधन गर्न सकोस्
तब दशैं रातो सेतो र कालो हुन्न
दशैं–दशैं नै हुने छ
आफ्नो रङ र विशेषता बोकेर
प्रेमले बाँचौं
प्रेमले बचाउँ
माया गरौं, सदभाव र सम्मान गरौं
यो माटोलाई तिम्रो खाँचो छ
यो माटोलाई मेरो पनि खाँचो छ
हामीले मान्ने, बोल्ने, लेख्ने
धर्म–संस्कार, पर्व, भाषा र लिपीको खाँचो छ
यी हर चिजहरुमा
न्यानो नेपालीपन जोडिएको छ
आखिर हामी सबै हौं नै नेपाली
को होला छातीमा नेपाल नबोक्ने?
यो देशलाई हामी धेरै–धेरै प्रेम गर्छौं
यति हो
यो देशले पनि हामीलाई प्रेम गरोस्
सदभाव दर्साओस्, सम्मान गरोस्
हामी बाँच्नु पर्छ
हाम्रो संस्कारहरुलाई बँचाउनु पर्छ
हाम्रो देशलाई बँचाउनु पर्छ
र त भन्दैछु
दशैंको शुभकामना यो मुटु भरी–भरीबाट।

कुङ्बा कान्छा

रबि लामिछानेलाइ जेल हाल्नु पर्छ ? यो पनि हेर्नुहोला कुङ्बा कान्छा बिशेष कविता भिडियोमा

नेपाल बाट मधेश टुक्राउन खोज्ने CK Raut लाइ एक युवा कडा आवाजमा यसरी उत्रे ?