बडिगाड बग्न त थाल्यो तर जोखिम कायमै (भिडियो सहित)

बाग्लुङको बडिगाड खोला पहिरोले थुनिएर झण्डै दुई किलोमिटर लामो ताल बनेको छ । शुक्रबार राति साढे ११ बजेदेखि थुनिएको खोला शनिबार बिहान साढे पाँच बजेबाट ओभर फ्लो भएर बग्न सुरु गरे पनि जोखिम टरिसकेको छैन ।

बाग्लुङ जिल्लाको बडिगाड गाउँपालिका वडा नम्बर ७ र ढोरपाटन नगरपालिका वडा नम्बर १ को तिरतिरे भन्ने स्थानमा चट्टानसहितको पहिरो खसेर खोला थुनिएको हो । पहिरोले बाग्लुङ बुर्तिवाङ खरबाङखण्डको दुई किलोमिटर सडकको केही भाग पनि भत्काएको छ ।

खोला थुनिएर झण्डै दुई किलोमिटर लामो ताल बनेको छ । बाग्लुङको ढोरपाटन २ सिमलचौरका ४ घर डुबानमा परेका छन् । स्थानीय बिमल खड्का अनुसार चुराबहादुर कुमाल, देविराम कुमाल, कृष्णबहादुर कुमाल र रामबहादुर कुमालको घर गोठ डुबानमा परेका छन् ।

पहिरो खसेर खोला थुनिएपछि खोला किनारका बाग्लुङ र गुल्मीका मानिसहरु रातभर जाग्राम बसेका छन् । पहिरोबाट बाग्लुङका भिङगिठे, खारा, खरबाङ र गुल्मीका भुवाचिदी, मजुवा, चोरकाटे, उल्लीखोला, रिडीसम्मका बासिन्दा जाग्राम बसेका हुन् ।

खोला थुनिएको जानकारी पाएलगत्तै बाग्लुङ जिल्लाका नेपाली सेना, नेपाल प्रहरी सहितको टोली खोलाको बहाव खोल्ने प्रयासका लागि रातिदेखि नै सो क्षेत्रमा परिचालन गरिएको थियो । तर, उनीहरुले नखोल्दै शनिबार बिहानपखबाट पानी आफै ‘ओभर फ्लो’ भएर बग्न सुरु गरेको छ ।

भिडियो हेर्नुहोस ।
[youtube https://www.youtube.com/watch?v=dI_Fo7RNrYg]