बेलायतमा तिज धमाका, एउटा स्टेज ५ राष्ट्रिय कलाकार (भिडियो फोटोफिचर सहित)

धुर्बराज अर्याल,

बर्मीड्घम, लण्डन । सोमबार बर्मिङहममा आयोजना भएको तीज विशेष कार्यक्रम बेलायतका अन्य ठाउंमा भइरहने कार्यक्रम भन्दा विल्कुलै भिन्न बन्यो । रेकर्डेड गीतहरु बजाएर डिजे डान्स गर्ने र नेपालबाट आएका कलाकारले प्रत्यक्ष गाएर नचाउने आम ट्रेण्ड भन्दा फरक मौलिक तीजका भाकाहरु समेत कार्यक्रममा घन्किए ।

अर्को सालको तीजमा त जान्छु मेरै देशमा
लाली गुरांस फूल टिपेर लाउंछु केशमा….

शान्ति नेपाली समाज बेलायतले आयोजना गरेको कार्यक्रममा नेपालबाट आएका झण्डै आधा दर्जन राष्ट्रिय कलाकारले बेजोड प्रस्तुति गरेका थिए । सोहि अवसरमा आयोजित तीजगीत प्रतियोगितामा मिडल्यान्डका विभिन्न ठाउंबाट आएका ६ टोलीले सहभागिता जनाए ।

प्रतियोगी टोलीहरुले नेपालका गाउंघरमा गाइने तीजका मौलिक भाकाहरु आकर्षक रुपमा प्रस्तुत गरे । अधिकांश भाकाहरुमा परदेशका व्यथाहरु बोलेका थिए । नारीका वेदनादेखि नेपालको राजनीति र पार्टीहरुप्रतिका गुनासोहरु समेत गीतमा पोखिए ।

घरका जहान भेट हुन महिना कुर्नुपर्दछ
चाडवाडमा नि घरमा एक्लै आंशु झर्दछ….

प्रतिस्पर्धामा सिर्जनशिल लेस्टर नेपालको टोली प्रथम तथा मनकामना महिला समुह, वेस्ट बर्मिचको टोली दोस्रो र हाम्रो नेपाली समाज, वुल्भरह्याम्पटनको टोली तेस्रो बने ।

विजयी टोलीहरुलाई क्रमश ३ सय, २ सय र १ सय पाउण्ड नगदसति प्रमाणपत्रबाट पुरस्कृत गरियो । आयोजक शान्ति नेपाली समाजका अध्यक्ष कृष्ण ढकाल, आइएमई लण्डनका निर्देशक कमल पौडेल लगायतले विजेताहरुलाई पुरस्कार वितरण गरे ।

कार्यक्रममा प्रस्तुतिका लागि आएका लोकदोहोरीका राष्ट्रिय कलाकारहरु विमलराज क्षेत्री, रमेशराज भट्टराई, कला पंगेनी, कला लम्साल र सिर्जु अधिकरीका साथै पत्रकार, सर्जक फडिन्द्र भट्टराई र मञ्जु भण्डारी खरेलले निर्णायकको भुमिका गरे ।

बर्मिङहमको ह्याग्ली रोडमा अवस्थित रिजेनी ब्यांकेटिङ हलमा संस्थाका अध्यक्ष कृष्ण ढकालको अध्यक्षतामा भएको कार्यक्रमको पहिलो चरणमा स्थानीय १ दर्जन बढि कलाकारहरुले तीजका गीतहरुमा आकर्षक नृत्य देखाएका थिए ।

अशोक भट्टराईले गायन प्रस्तुत गरे । समाजकी सक्रिय सदस्य सिता घिमिरे पौडेलले गजल वाचन गरिन् । त्यस्तै, नारायण बुढाथोकीको संयोजनमा प्रस्तुत गरिएको लाखे नाचले कार्यक्रममा रौनकता थप गरिदियो ।

कार्यक्रमा प्रमुख अतिथी चिरञ्जिवी ढकाल र विशेष अतिथी एनआरएन आइसिसी सदस्य रामशरण सिंखडाले शुभकामना मन्तव्य राखेका थिए । संस्थाकी उपाध्यक्ष सिता खरेलले स्वागत मन्तव्य दिइन् । कार्यक्रमको सञ्चालन सुनिता तिवारी र जानुका गैरेले गरेका थिए ।

कार्यक्रममा आयोजकले अपेक्षा गरेभन्दा पनि बढि झण्डै ८ सय जनाको सहभागिता थियो । मिडल्याण्डका लेस्टर, नटिङहम, वुल्भरह्याम्पटन लगायतका क्षेत्रका साथै लण्डनबाट समेत दर्जनौं दर्शकहरु कार्यक्रम हेर्न उपस्थित थिए ।

कार्यक्रमका प्रस्तुतिहरु बाहेक व्यवस्थापन र सञ्चालनको पक्षबाट पनि शान्ति नेपाली समाज बेलायतका अन्य नेपाली संघसंस्थाहरुमाझ उदाहरणीय र फरक देख्न सकिन्थ्यो । कार्यक्रमका त्यति धेरै सहभागीहरुको लागि समेत संस्थाका सदस्य स्वयमसेवकहरुले कार्यक्रमस्थलमै आफै खाना पकाएर टेबल, टेबलमै सर्भ गरेका थिए । अरु कार्यक्रमहरुमा जस्तो धेरै भाषण पनि नरहेको कारण कार्यक्रम थप मनोरञ्जनात्मक बनेको थियो ।