मौलिकताको खोजीमा लोकगायिका बिमाकुमारी दुरा (भिडियो सहित)

छोडी आयाँ लमजुङको घरबारी
लमजुङ तुर्लुङकोट
सररर…..हावा चल्यो लाँकुरीको बोट । 

 

असंख्य लोकगीत गाएर नेपाली लोकपारखीमाझ ख्याति कमाएकी बिमाकुमारी दुरा पछिल्लो समय गायन क्षेत्रमा त्यति सारो देखिन्नन् । ‘छुट्यो मायाजाल’, ‘खैरेनीमा गेट’, ‘वनको काफल वनकै चरीलाई’, ‘फुल्यो निमपत्ता’ र ‘सररर पानी घट्टामा’ जस्ता कैयन् कालजयी गीतले दुरालाई नेपाली लोकगायन क्षेत्रको उचाइमा पुर्‍यायो ।

उनको गीत कुनै बेला नेपाली लोकदोहरी क्षेत्रमा चर्चाको शिखरमा थियो, जनजिब्रोमा झुण्डिएको थियो र देशविदेशका नेपाली स्रोताबीच चर्चा कमाएको थियो ।

उनी मेलापर्व, विभिन्न उत्सव र सांगीतिक कार्यक्रममा निकै व्यस्त देखिन्छन् । उनले झण्डै दुई सय गीत आफैंँले रचना गरेकी छन् । अरु पाँच हजारभन्दा बढी गीतमा स्वर दिएकी छन् ।

विसं २०२८ वैशाख ९ मा तत्कालीन सिन्दूरे गाविस– ५, लमजुङमा बुबा दलबहादुर र आमा शान्तामाया दुराको कोखबाट जन्मनुभएकी दुरा बाल्यकालदेखि नै गीतप्रति आकर्षित थिइन् ।। पहाडी मनोरम प्रकृति, जीवन्त संस्कृति, गाउँले जीवन, चाडपर्व र मानिसका दुःखसुख हेर्दै हुर्कंदै गर्दा पाखापखेरामा गुञ्जने भाका टिपेर गुनगुनाउन थालिन् । उनलाई अरुभन्दा लोकभाकाले लोभ्यायो ।

“लोकगीत भनेपछि हुरुक्कै हुन्थेँ, मैले आठ वर्षको उमेरमा मेलापाता, घाँसदाउरा र गोठालो जाँदादेखि नै गाउन सुरु गरेकी हुँ, उनी भन्छिन् । दुराका गीतले धेरैको मन र मुटु छोएको छ । कर्णप्रिय स्वरका कारण उनको गीत धेरैको जिब्रोमा झुण्डिएको छ । गीतले धेरै प्रशंसक कमाएको छ –

माझी दाइ पोखरा फेवातालको
लाऊँ माया साँच्चैको,
नलाऊँ भो ख्याल ख्यालैको । 

भिडियो

[youtube https://www.youtube.com/watch?v=YGiGN8sVYQE]