संसद भित्र मच्चियो रडाको (भिडियोसहित)

राष्ट्रियसभा बैठकमा मंगलबार संसदीय अभ्यासमा विरलै देखिने दृष्य देखिएको छ। राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बैठक प्रारम्भ भएको जानकारी गराउन नपाउँदै सत्तापक्षका सांसदहरु उठे। लगत्तै प्रमुख प्रतिपक्षी दलका सांसदहरु पनि उभिए। अध्यक्षले सत्तापक्ष र प्रमुख प्रतिपक्षी दलका सांसदहरुलाई बस्न आग्रह गर्दै नेकपाका प्रमुख सचेतक खिमलाल भट्टराईलाई बोल्न समय दिए।

त्यसपछि बसेका प्रतिपक्षी दलका सांसदहरु पनि उभिए। त्यसपछि अध्यक्षको अनुमति विनानै दुवै पक्षका सांसदहरुबीच भनाभन सुरु भयो। प्रमुख प्रतिपक्षी दलका सांसदहरु उभिएर विरोध जनाइरहेका बेला बोलेका नेकपाका प्रमुख सचेतक भट्टराई सदन चल्नु पर्छ भन्दै जबरजस्ती सदन रोक्न पाइँदैन भन्ने अभिव्यक्ति राखेपछि फेरि काग्रेसका सांसद सुरेन्द्र पाण्डे र सरिता प्रसाईंले प्रतिवाद गरे।

त्यसपछि बैठकमा होहल्ला सुरु भयो। चोर औंला देखाई देखाई सांसदहरु भनाभनमा उत्रिँदा अध्यक्ष तिमिल्सिना भने आसनग्रहण गर्न आग्रह गर्दै थिए।

अध्यक्ष बोल्दै गर्दा पनि सांसदहरु बोलिरहेपछि अध्यक्ष तिमिल्सिनाले आफूले बोल्दा बोल्न नमिल्ने भन्दै नियमावलीलाई स्मरण गराउनुपरेको थियो।
निकै समयपछि सत्तापक्ष दलका सदस्यले आसन ग्रहण गरेपछि प्रतिपक्षी दलका सदस्य उभिइरहेपछि अध्यक्षले बैठक साउन ९ गते बुधबार विहानसम्मका लागि स्थगित गरे।