सेतीमा हाम्फालेको २२ दिन पछि भेटियो शब, अस्पतालमा शुभचिन्तकको रुवाबासी (स्थलगत रिपोर्ट)

पोखरा लेखनाथ महानगरपालिकाका बरिष्ठ अधिकृत ओमराज पौडेल मृत अवस्थामा भेटिएका छन् । असार ९ गते बिहान पोखराबाट हराएका पौडेलको शनिबार बिहान तनहूँको भीमाद–६ सेती नदीको किनारमा मृत अवस्थामा भेटिएका हुन् ।
विगत २२ दिन देखि बेपत्ता भएका बरिष्ठ अधिकृत पौडेल घोप्टो परेको, शव फुलेको, दुघन्र्धित अवस्थामा भेटिएको इलाका प्रहरी कार्यालय भिमादका प्रहरी नायब निरिक्षक ज्ञानेन्द्र क्षेत्रीले बताए । शनिबार करिब ६ बजे भीमाद सेती नदी किनारमा पौडेको शव भेटिएको हो भने उनका आफन्तले शवको पहिचान गरेसंगै पौडेलकै शव भएको पुष्टि भएको होे ।
उनको शरीरमा कुनै कपडा समेत नभएको अवस्थामा भेटिएको क्षेत्रीले जनाए । शव भेटिएको जानकारी पाउने बित्तिकै पौडेलका आफन्त भीमाद पुगेका थिए ।
पोखरा लेखनाथ महानगरपालिका कार्यालयले वेपक्ता भएका पौडेलको खोजी कार्यमा जुट्न सबैलाई आव्हान गरेको थियो । पौडेलको घर परिवार, महानगरपालिका, जिल्ला प्रहरी कार्यालय कास्की सहित सिंगो कास्कीको सुरक्षानिकाय खटिदै आएका थिए । पौडेलले घरमा लेखेर छाडेको चिटको आधारमा उनले महेन्द्रपुलबाट हाम फालेर आत्महत्या गरेको हुन सक्ने प्रहरीले आशंका गरेको थियो