होम स्टेका लागि तयार ओकादी

मन गुरुङ्ग भिरकोट नगरपालिका वडा नम्बर ८ स्थित ओकादीमा होम स्टे संचालन गरिने भएको छ। शुक्रबार भिरकोट नगरपालिका नगर प्रमुख छायाराम खनालको प्रमुख आतिथ्यमा आयोजित एक कार्यक्रममा ‘ओखति पानी तमु नासा घरवास’ नामकरण समेत गरिएको छ। स्थानिय युवा राजु गुरुङ्गको अध्यक्षतामा होमस्टे संचालन समिति गठन गरिएको छ भने उक्त होमस्टेको संरक्षक भीरकोट नगरपालिका रहने छ।

होम स्टेका लागि सम्भावित अध्यन र छलफल कार्यक्रममा बोल्दै नगर प्रमुख छायाराम खनालले इक्षा शक्ति र दृढ संकल्प रहेका तर आर्थिक अवस्था कम्जोर भएका एवं न्युन स्थरका बर्गले समेत होम स्टे संचालन गर्न सक्ने र नगरपालिकाले त्यस्ता व्यक्तिलाई ऋण समेत उपलब्ध गराउने बताए। त्यस्तै यस क्षेत्रमा संचालित होम स्टेमा अत्यन्तै सस्तो र सुलभ मुल्यमा पर्यटकहरुले सुविधा लिन सक्ने भन्दै -गाउँ घुम्न आउने पर्यटकहरुलाई स्वास्थ्य र सुरक्षाको समेत प्रत्याभूति दिने छौं -उहाँले भन्नु भयो ।

होम स्टे का लागि घरको सबै काम छाडेर लाग्नु पर्छ भन्ने सोचाई गलत हुने तर्फा औंल्याउदै नेपाल कै पहिलो ग्रामिण पर्यटकिय गाउँ सिरुवारिको उदाहरण दिदै स्थानीयले होम स्टे संचालन गर्नका लागि मानसिक रुपले आफु स्वयम् तयार भै आफ्ना मौलिक पहिचान एवं संस्कृतिको विकास गर्दै अर्गानिक उत्पादनमा समेत ध्यान दिनु पर्नेमा जोड दिए।

पर्यटन बोर्ड चार नम्बर प्रदेश प्रमुख सुर्य थपलियाले यसका चुनौती र फाइदा बारे स्पष्ट पार्दै होम स्टेमा राज्यको चासो रहेको र स्थानिय विकास र उन्नतिको राम्रो विकल्प रहेको बताए।

त्यस्तै संस्कृति विद तुलसी खनालले खानपान, भाषा, भेषभुषा नै संस्कृति हो यसैमा शिष्टता प्रदर्शन गरेर मन बाट आफु तयार बने होम स्टे सहज रुपमा संचालन हुने बताए। होम स्टे अन्तर निर्भरता हो। हामि हाम्रो संस्कृति बाट अन्तर निर्भर बनौं -उहाँले भन्नु भयो।

शुभकामना मन्तव्यका क्रममा बोल्दै ओकादिका स्वास्थ्य स्वयम् सेविका मन माया गुरुङ्गले होम स्टे सञ्चाल गर्न पाउँदा खुसि व्यक्त गर्दै गाउँका दिदीबहिनीहरु मिलेर सुन्दर होम स्टे बनाउने प्रतिवद्धता जनाउदै शौचालय, खानेपानीको अवाभाको सिघ्र पूर्ति हुनेमा आसावादी रहेको बताइन। होम स्टे महिलाहरुको पनि आया आर्जनको राम्रो स्रोत बन्ने भन्दै महिलाहरुलाई भाषाको विकासका लागि तालिमहरुको आवश्यकता रहेको बताइन।

राज्यले कृषि पर्यटन तर्फा जोड दिन खोजेको बारे स्पष्ट पार्दै बनेका घरहरु त्यस्सै पुराना हुदै गएकाले त्यसलाई सामान्य मर्मत, शृंगार गरेर होम स्टे संचालन गर्न सकिने कार्यक्रममा बोलेका वक्ताहरुले बताएका छन्।

प्राकृतिक स्रोत र साधन बाट सुविधायुक्त गाउँ ओकादिमा विकासका कार्य गर्दा गर्दै विविध कारणले ढिला हुन गए पनि आगामी भदौ सम्म विधिवत रुपमा होम स्टे संचालन गरि सक्ने वडा अध्यक्ष तन बहादुर गुरुङ्गले बताए।

बयरघारी बजारबाट करिब डेढ घण्टाको पैदलमार्ग बाट सजिलै पुग्न सकिने ‘ओखतीपानी तमु नासा होमस्टे’ अन्तर्राष्ट्रिय महत्वको सुन्दर पर्यटकीय स्थल स्वरेक मैदानबाट नजिकै पर्दछ। ओकादिमा गडेरे गुफा, दफुर्का डाँडा, टोपी वन, पतलादेवी गुफा लगायत पूर्वतर्फ आँधीखोला उपत्यका र पश्चिम तर्फ पैयूँ खोला उपत्यका सहित सुन्दर पहाडी शृङ्खलाको अवलोकन गर्न सकिने छ।

यस गाउँमा गुरुङ संस्कृति अनुसारका अर्गानिक खानपान र गुरुङ नाचगानमा रमाउन पाइने छ। अत्यन्तै मिलनसार, इमान्दार र सहयोगी गुरुङ समाज निकै सुन्दर र व्यवस्थित पिकनिक स्थल समेत रहेको छ। हाल होम स्टेका लागि २० वटा घरहरु होम स्टेका लागि प्रस्ताव गरिएको छ।

पूर्खाहरुले ओखतीका रूपमा पिउने गरिएको विश्वास बोकेको ओकादी पँधेरोको स्वादिलो पानी
यी लगायत अन्य धेरै विशेषता बोकेको यस गाउँलाई अन्तरनिर्भर बनाउने र यहाँको संस्कृतिलाई व्यवसायिक बनाउने काममा सबैको ध्यान पुग्नु जरुरी छ ।