यस्ता छन् विश्वकप फुटबल हुने १२ रंगशालाहरु ? (भिडियोसहित)

विश्वकप फुटबल शुरुहुन अब तीन सातामात्र बाँकी छ । विश्वकप फुटबलको २१औं संस्करण आउँदो जून १४ बाट रुसमा शुरु हुन लागेको हो । विश्वकपमा सहभागि हुने राष्ट्रहरु अहिले आफ्नो टोली घोषणा गर्न ब्यस्त छन् ।
यसपटकको विश्वकपमा विश्वभरबाट ५० लाख टिकटको माग आएको छ । जसमध्ये २५ लाख टिकको माग रुसभित्रै बाट रहेको छ । रुसले विश्वकपलाई थप भब्य बनाउन विभिन्न ११ शहरका १२ रङशालामा खेलको आयोजना गर्दैछ । विश्वकपको उद्घाटन र फाइनल खेल राजधानी मस्कोस्थित लूजनीकि रङशालामा हुदैछ, जसको दर्शक क्षमता ८१ हजारको रहेको छ । कस्ता छन् त यसपटकको विश्वकप खेल खेलाइने रङशाला ?

१. लुजनीकि रङशाला, मस्को

यो रङशाला रुसको राजधानी मस्कोमा अवस्थित छ । ८१ हजार दर्शक क्षमताको यो रङशालाले खेल अवधिभर रुसको समृद्धी झल्काउने विश्वास गरिएको छ । रुसको राष्ट्रिय रङशाला लुजनीकि रुसभित्र मात्र नभइ यूरोपकै ठूलो मध्येको एक रङशाला हो । यो रङशाला मस्कोभा नदीको किनारमा अवस्थित छ, जुन सन् १९५६ मा बनाइएको हो । यो रङशालामा उद्घाटन, फाइनल र समुह चरणका केही तथा अन्तिम १६ र सेमिफाइनलको एक खेल खेलाइदैछ । ३५ करोड अमेरिकी डलर बराबरको मर्मत खर्च गर्दै यो रङशालालाई विश्वकपका लागि तयार पारिएको हो ।

२. अट्क्रिटी रङशाला, मस्को

मस्को शहरमा नै रहेको अर्को रङशाला हो अट्क्रिटी रङशाला । यो रङशालाको दर्शक क्षमता ४५ हजार तीन सयको रहेको छ । यो बहुआयामिक रङशाला हो । फुटबल मात्र नभइ यो रङशालामा आधा दर्शन विभिन्न खेलहरु खेलाउन सकिन्छ । सन् २०१४ मा यो रङशालाको निर्माण गरिएको हो । यसको लागत खर्च ४३ करोड अमेरिकी डलर रहेको छ । एउटा अन्तिम सोह्रको खेलसंगै यो रङशालामा चारवटा समुह चरणका खेल हुदैछन् ।

३. क्रेस्तोभस्कि रङशाला, सेन्ट पिटर्सवर्ग

रुसको दोस्रो ठूलो शहर हो सेन्ट पिटर्सवर्ग । सेन्ट पिटर्सवर्ग रुसको प्रमुख ब्यापारिक शहर पनि मानिन्छ । सेन्ट पिटर्सवर्गमा रहेको क्रेस्तोभस्कि रङशाला शहरकै आकर्षकण हो । ६८ हजार दर्शक क्षमताको रहेको यो रङशाला छानाले ढाकिएको छ । यो रङशालाको निर्माण लागत एक अर्ब अमेरिकी डलर रहेको छ । यो रङशालामा एक सेमिफाइनल, एक अन्तिम सोह्रको खेल, चार लिग चरणका खेल र तेस्रो स्थानका लागि हुने खेल खेलाइदैछ ।

४. फिष्ट ओलम्पिक रङशाला, सोची

सोची शहरमा अवस्थित फिष्ट रङशाला सन् २०१४ मा आयोजना गरिएको शितकालिन ओलम्पिकका लागि बनाइएको थियो । सोची ओलम्पिक पार्कमा रहेको यो रङशालाको दर्शक क्षमता ४७ हजार ६ सय रहेको छ । यो रङशालाको लागत खर्च ८० करोड अमेरिकी डलर छ । यो रङशालामा एउटा क्वाटरफाइनल, एउटा अन्तिम सोह्रको खेल र चारवटा समुह चरणका खेल हुदैछन् । समुह चरणको स्पेनविरुद्ध पोर्चुगलको बहुप्रतिक्षित खेल यसै रङशालामा हुदैछ ।

५. कसमस एरेना, सामरा

रुसको सामरा शहरमा रहेको यो रङशाला यसपटकको विश्वकपलाई नै भनेर निर्माण गरिएको हो । यस पटक विश्वकप हुनेमध्ये यो सबैभन्दा नयाँ रङशाला पनि हो । सामरा एरेना पनि भनिने यो रङशालाको दर्शक क्षमता ४५ हजार रहेको छ । यसलाई ३२ करोड अमेरिकी डलर खर्च गरेर बनाइएको हो । यो रङशालाको उद्घाटन यसै विश्वकपबाट हुदैछ । यो रङशालामा एउटा क्वाटरफाइनल, एउटा अन्तिम सोह्रको खेल र चारवटा समुह चरणका खेल हुदैछन् ।

६. काजान एरेना, काजान

रुसको काजान शहरमा रहेको यो रङशालाको दर्शक क्षमता ४५ हजार तीन सय रहेको छ । सन् २०१३ मा यसको निर्माण गरिएको थियो । यो रुसी फुटबल क्लब रुबिन काजानको घरेलु मैदान पनि हो । यो रङशालाको स्क्रिन यूरोपकै सबैभन्दा ठूलो रहेको छ । यसको निर्माण खर्च ४५ करोड अमेरिकी डलर रहेको छ । यो रङशालामा एउटा क्वाटरफाइनल, एउटा अन्तिम सोह्रको खेल र चारवटा समुह चरणका खेल हुदैछन् ।

७. रोस्तोभ एरेना, रोस्तोभ

रोस्तोभ शहरमा रहेको यो रङशालाको दर्शक क्षमता ४५ हजार रहेको छ, जुन यसै विश्वकपलाइ भनेर बनाइएको हो । रोस्तोभ शहरमा रहेको डन नदीको किनारमा यो रङशाला अवस्थित छ । यो रङशालामा एउटा अन्तिम सोह्रको खेलसंगै चारवटा समुह चरणका खेल हुदैछ ।

८. भोल्गोग्राड एरेना, भोल्गोग्राड

साढे ४५ हजार दर्शक क्षमता रहेको यो रङशालाको निर्माण पनि यसै विश्वकपलाइ भनेर गरिएको हो । यो शहरमा रहेको पुरानो रङशाला भत्काउदै यो नयाँ रङशालाको निर्माण गरिएको हो । यो रङशाला भोल्गा नदीको नजिकै रहेको छ । यो रङगलामा समुह चरणका चार खेल हुदैछन् ।

९. निज्नी नोभगोरोड रङशाला, निज्नी नोभगोरोड

निज्नी शहरमा रहेको यो रङशालाको दर्शक क्षमता ४४ हजार आठ सय रहेको छ । यहि विश्वकपलाई भनेर यो रङशालाको निर्माण गरिएको हो । सन् २०१४ बाट यसको निर्माण कार्य थालिएको थियो । यो रङशालामा एउटा क्वाटरफाइनल, एउटा अन्तिम सोह्रको खेल र चारवटा समुह चरणका खेल हुदैछन् ।

१०. मोरडोभिया एरेना, साराङस

साराङस शहरमा रहेको यो रङशालाको दर्शक क्षमता ४४ हजार चार सय रहेको छ । यसको निर्माण सन् २०१० मा गरिएपनि यसपटको विश्वलाइ ध्यानमा राखेर यसलाई पुर्ननिर्माण गरिएको छ । यसको लागत ३० करो अमेरिकी डलर रहेको छ । जर्मनीका आर्किटेक्टले यो रङशालाको डिजाइन गरेका थिए । यो रङशालामा समुह चरणका चार खेलको आयोजना हुदैछ ।

११. सेन्ट्र स्टेडियम, येकाटेरिन्वर्ग

सन् १९५७ मा निर्मित यो रङशालाको दर्शक क्षमता ३५ हजार रहेको छ । यो रुसको पुरानो मध्इेको एक रङशाला हो । विश्वकपपछि यो रङशालाको दर्शक क्षमता घटाएर २३ हजारमा झारिनेछ । यहाँ समुह चरणका चार खेलको आयोजना हुदैछ ।

१२. कालिलिनग्राड रङशाला, कालिनिनग्राड

यसपटकको विश्वकपको सबैभन्दा सानो रङशाला हो यो । यसको दर्शक क्षमता साढे ३४ हजार रहेको छ । विश्वकपलाइ नै भनेर यो रङशालाको निर्माण गरिएको हो । विश्वकपपछि यसको दर्शक क्षमता घटाएर २५ हजारमा झारिनेछ । यो रङशालामा पनि समुह चरणका चार खेल हुदैछन् ।