बालकको रहस्यमय मृत्यु बालगृह भित्रै भएपछि यसरी न्याय माग्दै आमा पुगिन प्रहरी समक्ष (भिडियो सहित)

ललितपुर, जेठ २८,

ओखलढुंगा जिल्लाका ७ बर्षीय बालक लक्ष्मण बिकको झ्यालबाट खसेर मृत्यु भएपछि उनको परिवारमा यतिबेला तनाबसँगै विवाद उत्पन्न भएको छ । ग्रेस मिसन नामक संस्थामा राखिएका बिकलाई परिवारले गत जेठ २ गते चर्चको जिम्मा लगाएको थियो । चर्चले झ्यालबाट खसेपछि अस्पतालमा उपचारार्थ लगेपनि परिवारलाई थाहा नदिएकोमा बिककी आमा शोभा परियारले गुनासो गरिन ।

शनिवार प्रहरीमा उजुरी गर्न आफ्नो भाईसंगै जावलाखेल प्रहरी वृत्तमा पुगेकी बिककी आमा सोभा परियारले पिएनपिखबर डट कमसँग रुदै भनिन, ‘छतबाट खसेपछि अस्पताल लागिएको रहेछ त्यहि पनि हामीलाई मृत्यु भएपछि मात्रै गाउँको दाईबाट थाहा दिइयो।’ शोभाको अनुसार उनका श्रीमानले जुम्ल्याहा सन्तानको रुपमा जन्मेका राम-लक्ष्मणलाई वेवास्ता गर्दै पालनपोषण नगरी माइतमा लगेर राखिदिएको र माइतमा पनि आर्थिक अवस्था कम्जोर भएकोले गर्दा बच्चाको भविष्य राम्रो हुने आशाले संस्थामा लगेर राखिएको थियो।

ज्याला मजदुरी गरेर दुई छाक जोड्ने बताउदै उनले भनिन, ‘गाउँमा जग्गा जमिन छैन, एउटा सानो छाप्रोमा बस्दै आएको छु।’ लक्ष्मण बिकको कसरी मृत्यु भयो यथार्थ छानविन हुनुपर्छ भन्दै उनी थप्छिन, ‘अब मर्ने त मरेर गैहल्यो बाँकी भएको छोरा राम बिकलाई संस्थाले उज्ज्वल भबिष्य बनाउने जिम्मा लिन्छ भने म संस्थामा राख्न तयार छु होइन भने अन्यत्र कतै जोहो गर्छु।’ शोभाले भनिन। दोश्रो विवाह गरेर बसेका उनका श्रीमान घटना बारे जानकारी पाएपछि संस्थासँग दुईपक्षिय सहमति गर्न जावलाखेल प्रहरी वृत्तमा आइपुगेका थिए।

ओखलढुंगादेखि राम-लक्ष्मणलाई काठमाडौँसम्म ल्याउने टिका कटुवाललाई समेत संस्थाले बिकलाई अस्पतालमा उपचारार्थ लागिएको बारेमा जानकारी नदिएको बताएका छन । ‘घटना भएको भोलिपल्ट घटनाबारे खबर आयो तर के भएको भनिएन। संस्थाको अध्यक्ष रोशन खतिवडालाई सम्पर्क गर्दा बच्चा झ्यालबाट खसेर चोट लागेकोले अस्पताल लागेको बताउनुभयो। गत बिहिबार सम्पर्क गर्दा अपरेसन हुँदै छ भनेको केहीबेरमै फेरी सम्पर्क गर्दा बच्चाको मृत्यु भएको खबर आयो।’ त्यसलगत्तै उनले ओखलढुंगामा रहेकी उनको आमालाई जानकारी दिएको बताए।

घटनाबारे यथार्थ विवरण आइनसकेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भैरहेको र आवश्यक प्रक्रिया अगाडी बढिसकेको जावलाखेल वृत्तका प्रवक्ता नरेन्द्र चन्दले जानकारी दिनुभयो। पिडित शोभापरियारले भने दुवै पक्ष बीच राम बिकलाई पढाउने र भबिष्य उज्ज्वल बनाउने बिषयमा सहमति भएको बताएकी छिन।

पुरा हेर्नुहोस् भिडियो