फलफुल बेचेरै आफ्नो श्रीमानलाई लाखौंको गाडी किनिदिने यी महान चेलीलाई सलाम

भक्तपुर।
डोल्मा तामाङ् ११ वर्षको उमेरमा भागी विवाह गरेर कौसल्टार आएकी थिइन्। तामाङ् जातिको चलन नै भगाएर लग्नु पर्ने भएकोले उनले भागी विवाह गरेकी हुन्। श्रीमानले सुख दिने बाचाको साथ भगाएर ल्याय पनि डोल्माले सुख भने पाइनन्।

दिनहुँ मध्यपान सेवन गरेर आउथे डोल्माका श्रीमान। यति मात्र होइन उनले नशा लागे पछि श्रीमती कुटपिट समेत गर्थे। श्रीमान र आफु स्वयम बेरोजगार भएकोले डोल्मालाई घर परिवार चलाउन निकै गार्हो पर्यो। उनको दुई छोरी पनि छन्।दुई छोरी जेठीसजिता र कान्छी छोरी सबिनालाई पढाउन समेत गाह्रो परेपछि उनले गाडामा तरकारी पसल राख्ने निधो गरिन्।

आफ्नो घरको दु:ख सम्झेर उनले पसल त शुरु गरिन् तर यो काम उनको लागि सजिलो भने थिएन। वरिपरिका व्यापारीहरु डोल्माको रिस गर्ने गर्थे। उनलाई आफ्नै श्रीमानले पनि साथ दिएका थिएनन्। उनी सम्झिन्छिन् ,’मैले निकै दु:ख पाए। पढेलेखेको थिइन। हिसाब गर्न आउदैनथ्यो। नजिकको साथीलाई सोधेर व्यापार गर्थे। अहिलेको सुख तव स्वर्ग जस्तो लाग्छ।’

डोल्माले कुनै विद्यालय गएर पढ्ने मौका पाइनन्। नपढेता पनि उनी बोल्नमा भने चतुर थिईन्। अहिले त कारोबार गर्दागर्दै हिसाबमा पनि अब्बल भईसकिन्। ‘शुरुवातको दिनमा त म औला भाचेर कारोबार गर्थे। ‘ उनी भन्छिन्। तरकारी पसलबाट उनले फलफुल पसल राख्ने बनाइन् र सो अनुसार पनि गरिन्। फलफुल फस्टाउदै गएपछि उनले गाडाबाट कसौल्टार देखि दाँयापट्टि, बालकोट जाने चोकमा नै ठुलो पसल राखेकी छिन्।

डोल्माको व्यापार राम्रै चलेको छ। उनी ग्राहकलाई फलफुल बेचेरै भ्याउदिनन्। उनको भनाई अनुसार उनी मासिक ८० हजार देखि ९० हजार सम्मको नाफा गर्छिन्। फलफुल पसलसँगै उनले गिरिराज कुखुरा पालन पनि गरेकी छिन्। कुखुरा पालन भने सोख मात्रै भएर पालेको भन्छिन् डोल्मा।

काभ्रे, तिमालमा जन्मिएकी उनी विवाह घर सिन्धुपाल्चोकमा बसिनन्। चाडपर्व मनाउन र खास काम भएको बेला मात्र उनी घर जाने गर्दछिन्। हुन त उनलाई खासै फुर्सद पनि हुन्न घरतिर जान आफन्त भेट्न। दिन भर पसलको काममा नै व्यस्त हुन्छिन् उनी। शुरुमा उनको श्रीमानले आफुलाई साथ नदिए पनि अहिले भने पुरै साथ दिएको उनी बताउछिन्।

कुनै दिन मध्यपान सेवन गरेर पिट्ने श्रीमान अहिले सुध्रेकोमा उनी निकै खुसि छिन्। अहिले उनको श्रीमान बस चलाउछन्। फलफुल व्यवसायकै नाफाले उनले बेरोजगार श्रीमानलाई बस किस्तामा निकाल्दीएकी छिन्। अहिले उनको श्रीमान बस चलाउछन्। श्रीमानश्रीमती मिलेर अहिले घर खर्च आरामले टार्छन्। उनलाई अब श्रीमानसँग उनको कुनै गुनासो छैन। ‘मेरो श्रीमान जस्तो अरु कोहिको छैन जस्तो लाग्छ अचेल मलाई। ‘ हर्षित हुदै उनले भनिन्।

डोल्माको जेठी छोरी पत्रकारितामा रुचि राख्ने भएकोले अब उनी पत्रकारिता पढ्नकै लागि बाहिर जाने सोचमा छिन्। कान्छी छोरीलाई भने उनी नर्स बनाउन चाहान्छिन्। आफुले दुख गरेर पढाए अनुसार छोरिहरुले पढेकोमा उनी खुसि छिन्।

समाजमा उदाहरण नै बनेकी छिन् डोल्मा। आफ्नो अथाह मेहेनत पछिको उनले सुख पाएकोमा उनी आफुलाई भाग्यमानी ठान्दछिन्। उनी भन्छिन् ,’मेरो घर बाहेक म सँग आवश्यक सबै चिज छ। ‘

हेर्नुहोस् भिडियो :