कार र सुनचाँदी दाइजो नल्याएको भन्दै कुटपिट, यस्तो छ पीडितको अवस्था

दाइजोको नाममा महिलामाथि हुँदै आएको कुटपिट र घरेलु हिंसा बाँकेमा बढ्दै गएको छ । दाइजोको नाममा धेरै पटक महिलालाई जलाउने प्रयास, कुटपिट र यातना दिने घटनाहरु हुँदै आएको बाँकेमा अहिले आएर फेरि एउटा अर्को घटना सार्वजनिक भएको छ ।
पछिल्लो पटक एक युवतीलाई उनका पति, सासु, देवर र नन्दले मिलेर दाइजो माग्दै गत ६ महिनादेखि कुटपिट र यातना दिदै आएको पििडत युवतीले जनाएकी छन् । विवाह भएको दुई महिना पछि नै दाइजोमा गाडी र गरगहना लगायतका विभिन्न बहुमूल्य वस्तुको माग गर्दै आफूमाथि कुटपिट र यातना दिने कार्य हुँदै आएको पीडित फरहीन सिद्दिकीले बताइन् ।
नेपालगन्ज उपमहानगरपालिका–८ का सलीम सिद्दिकीसँग गएको सेप्टेम्बर महिनामा भारत कैसरगन्ज कुसुन्डा महुरीकलाकी फरहीन सिद्दिकी भन्ने नुरीको विवाह भएको थियो । वैवाहिक जीवनको सुनौलो सपना बोकेर पतिको घरमा आएकी उनले विवाहको दुई महिनापछि नै दाइजोको नाममा यातना र कुटपिट सहँदै आएको जनाइन् ।